
बिजुवार । लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले प्युठान जिल्लाको विकासमा विभिन्न आरोह, अवरोह झेलेर उल्लेख्य बजेट र योजनाहरू समेटेको बताएका छन् । मन्त्री थापाले प्युठान बनाउने आफ्नो अभियानमा साथ दिन र विकासमा राजनीति नगर्न अपील समेत गरेका छन् ।
बिजुवारमा पत्रकार सम्मेलन गर्दै थापाले भने, ‘प्युठानमा बजेट हाल्दा कति कुरा सहेको छु । तथापि म प्युठान बनाउने भनेर लागेको छु । हामी जनप्रतिनिधिहरूले कसरी विकास गर्ने भन्ने कुराको खाका बनाएर हिँड्न सक्नुपर्छ । प्युठान जिल्ला बनाउने कार्यमा सँगै रहौँ । यो अवसर, यो मौका भोलि नआउन पनि सक्छ ।’
प्युठानबाट प्रतिनिधि सभामा निर्वाचित नेकपा एमालेका सूर्यबहादुर थापाले बजेटका विषयमा भ्रमहरू छर्ने अभिव्यक्ति र फेसबुकमा स्टाटसहरू राखेपछि कांग्रेसका युवा नेता थापाले स्पष्ट पार्ने उद्देश्यले पत्रकार सम्मेलन गरेका थिए ।
उनले प्युठानको विकासका लागि आ–आफ्नो ठाउँबाट पहल गर्न र पहल लिनेहरुलाई साथ दिन अपिल समेत गरे । अहिले बजेटमा परेका योजना सफल बनाउन लागिपर्न आग्रह गर्दै उनले गलत काम भए खबरदारी गर्न पनि आह्वान गरे ।
‘बाटोहरू राम्रा भएका छैनन् भने साथीहरूले त्यो सार्वजनिक गर्नुपर्यो । कहाँ काम राम्रो भएको छैन भने खबरदारी गर्नुपर्यो । मन्त्रीलाई फोन गर्नुपर्यो,’ उनले भने, ‘राजनीति भोट माग्ने बेला गरौंला । अहिले जिल्ला बनाउन लागौं ।’
उनले प्युठान बदल्ने आफ्नो अभियानलाई साथ दिन अपिल समेत गरे । ‘प्युठान जिल्ला केही हुँदैछ । यो प्युठानलाई बदल्ने अवसर हो । म बदल्न लागिरहेको छु । जिल्ला बनाउने मेरो अभियानलाई साथ दिनुस् ।’
उनले प्युठानमा बजेट नै नपरेको भनेर चलाइएको हल्ला सत्य नभएको उनले बताए । ‘प्युठान जिल्लालाई ठूलो बजेट आएको छ । यो बजेटलाई भ्रमित गरेर पैसो आएकै छैन भनेर गोयबल्स शैलीमा भनिरहेका छन् भन्ने जुन अभिव्यक्ति आएका छन् यो अत्यन्तै गैरजिम्मेवार छ । प्युठान जनताको मर्ममा ठेस लाग्ने अभिव्यक्ति छ । त्यस्ता अभिव्यक्ति दिने साथीहरूलाई विनम्रताका साथ भन्छु प्युठान जिल्ला बनाउने कुरामा एक हुनुपर्छ ।’
प्रतिक्रिया 4