+
+
Shares

माओवादी सांसदको माग : राष्ट्रपति र उपराष्ट्रपति बनिसकेका व्यक्तिलाई राजनीतिमा आउन रोकौं

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद गंगाकुमारी बेलवासेले राष्ट्रपति र उपराष्ट्रपतिले पुनः राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गरिन्।
  • उनले सम्मानित पदमा रहिसकेपछि पार्टीमा फर्किनु राम्रो नहुने तर्क गरिन्।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किइसकेका छन्।

२४ असार, काठमाडौं । राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेलवासेले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गर्न माग गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सम्मानित पदमा अभिभावकीय रूपमा रहिसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो नगर्ने तर्क गरिन् ।

उनले ठोस व्यवस्था गरेर सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गरिन् ।

‘गणतन्त्रको प्रतिकको रूपमा राष्ट्रपति, उपराष्ट्रपतिलाई पायौं । हामीले मधेश, महिला, जनजातिबाट राष्ट्रपति र उपराष्ट्रपति पायौं । जनताका छोराछोरीहरू राष्ट्रपति बन्ने व्यवस्था ल्यायौँ,’ उनले भनिन्, ‘उहाँहरू राजनीतिक पार्टीमा फर्किएर राजनीति गर्ने विषयले समाज तरंगित भएको छ ।’

उनले थपिन्, ‘जनसमुदायहरूले विभिन्न तर्क, वितर्कहरू गरिरहेका छन् । कतिपय समस्याहरू छन् । एउटा सम्मानित पदमा अभिभावकीय रूपमा रहिसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो गरेको छैन ।’

सांसद बेलवासेले आइन्दा त्यो सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न माग गरिन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा सक्रिय राजनीतिमा फर्किइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?