+

महिला फुटबल टिममा यसरी सुरु भएको थियो कप्तानबारे विवाद

२०८२ असार  २५ गते १६:०३ २०८२ असार २५ गते १६:०३
महिला फुटबल टिममा यसरी सुरु भएको थियो कप्तानबारे विवाद

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला फुटबल टोलीको कप्तान चयन विवाद नेपालमै सुरु भएको देखिएको छ।
  • प्रशिक्षक प्याट्रिक डे वाइल्डले कप्तानबारे जानकारी नदिएको आरोप छ।

२५ असार, काठमाडौं । नेपाली महिला फुटबल टोलीको कप्तानबारेको विवाद नेपालमै हुँदा सुरु भएको खुलेको छ । बुधबार एन्फाबाट आयोजित पत्रकार सम्मेलनमा कार्यकारी समितिकी सदस्य रहेकी सरिला श्रेष्ठले उक्त कुरा खुलाएकी हुन् ।

नेपाली टोली उज्बेकिस्तान जानुअघि नै कप्तान चयन गरौं भन्दा प्रशिक्षक प्याट्रिक डे वाइल्डले नमानेको उनको आरोप छ । ‘हामीले यहीँ कप्तान तोकेर जाऊँ भन्दा उहाँले मान्नुभएन, उतै गएर गरौंला भन्नुभयो’ उनले भनिन् ।

त्यसबेला आफूहरूले उक्त कुरा मानेको बताउँदै उनले उता पुगिसकेपछि पनि प्रशिक्षकले खेल हुने दिनसम्मै आलटाल गरेको बताइन् । ‘खेल सुरु हुनुभन्दा ९० मिनेटअगाडि टिम लिस्ट दिनुपर्छ, त्यसबेलासम्म पनि उहाँले कप्तानबारे जानकारी गराउनुभएन’ उनले भनिन्, ‘तिमीहरूले नाम बाहिर दिन्छौ त्यहीभएर म अहिले दिन सक्दिनँ भनेर भन्नुभयो।’

त्यसपछि प्रशिक्षकले तोकिएको समयभन्दा ५ मिनेटअघि मात्रै टिमको नाम लिस्ट दिएको बताइन् । त्यसमा पनि भिडियो देखाएर नै टिमको नाम हेर्न भनेको उनको भनाइ छ ।

‘भिडियो देखाउँदा पनि त्यसमा कप्तान को हो भनेर लेखिएको थिएन, हामीले मैदानमा जानेबेला पनि सोध्यौं तर उहाँले भन्नुभएन, त्यसपछि हामीले सिनियर खेलाडी रेनुका नगरकोटे देखेर उहाँलाई कप्तान राखेर टिम लिस्ट एएफसीलाई पठायौं’ उनले भनिन् ।

‘त्यसपछि खेल सुरु हुनुअघि रेनुकालाई आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले बल्ल रोक्नुभयो र साम्बा कप्तान भएको बताउनुभयो’ श्रेष्ठले भनिन्, ‘सावित्रालाई कप्तान बनाउँदा आफूहरूलाई कुनै आपत्तिको विषय थिएन, नेपालमै हुँदा भनेको भएपनि समस्या थिएन, प्रशिक्षकले किन यस्तो गर्नुभयो थाहा भएन।’

‘त्यसपछि टिम लिस्टमा अर्कै कप्तान भएपछि कारवाही हुन्छ कि भनेर प्रश्न गर्दा उहाँ आफैं चर्किन थाल्नुभयो, म्याच कमिस्नरले पनि यस विषयमा प्रश्न उठाएपछि उहाँले कसैको पनि कुरा सुन्नुभएन’ उनले अगाडि भनिन् ।

म्याच कमिस्नरले धेरैपटक प्रश्न उठाउँदा पनि प्रशिक्षक वाइल्डले वास्ता नगरेको श्रेष्ठले बताइन् ।

एन्फा नेपाली महिला फुटबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय