+
+
Shares

‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

यससाता ७ करोड ४० लाखको लगानी जुट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शार्क ट्यांक नेपालले यस साता ७ करोड ४० लाख रुपैयाँ लगानी जुटाएको छ।
  • शार्क हेमराज ढकालले \'वेद\' एपमा ६ करोड रुपैयाँ लगानी गरेका छन् जुन अहिलेसम्मकै ठूलो डिल हो।
  • शार्क ऋतुसिंह वैद्य, क्याबिनेट श्रेष्ठ र सौरभ ज्योतिले अन्य स्टार्टअपहरूमा समेत लगानी गरेका छन्।

काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ दर्शकमाझ लोकप्रिय बनिरहेको छ । गत साता स्टार्टअपलाई ५ करोड ७२ लाख लगानी जुटाइदिएको शोमा यस साता ७ करोड ४० लाख रुपैयाँको डिल भयो ।

यस साता शोमा सर्वाधिक डिलको रेकर्ड रचियो । ‘वेद’ नामक स्कूल व्यवस्थापन प्रणालीमा कार्य गर्ने एपले शार्क हेमराज ढकालबाट ६ करोडको लगानी प्राप्त गर्‍यो । ‘शार्क ट्यांक नेपाल’मा यो अहिलेसम्मकै ठूलो डिल हो ।

शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्य राखिएको ‘वेद’ एपको व्यावसायिक अवधारणा र उद्यमशीलताको मोडलमा शार्क प्रभावित देखिए । केही शार्कले यो अवधारणा जोखिमपूर्ण रहेको भन्दै डिलबाट बाहिरिंदा शार्क ढकालले भने एक्लै ६ करोड लगानी, २० प्रतिशत इक्विटी र केपीआईको शर्तमा डिल सम्भव बनाइदिए ।

विद्यालयलाई डिजिटलमैत्री बनाउनको लागि विद्यार्थी, शिक्षक, अभिभावक र प्रशासनलाई एउटै प्रणालीमा आबद्ध तुल्याउन, अन्तर्राष्ट्रिय बजार विस्तार गर्न प्रवर्धनको लागि भन्दै यो एपले ६ करोड रुपैयाँ मागेको थियो ।

कम्पनीका सहसंस्थापक निर्देश द्वाले आइडिया पिच गरेका थिए । आफ्नो प्रस्तुतिमा उनले एपको व्यावसायिक सम्भावना, प्राविधिक सशक्तता र सामाजिक प्रभावको चित्र प्रस्तुत गरेका थिए ।

बुधबार र बिहीबार प्रसारित तेस्रो र चौथो एपिसोडमा थप ३ स्टार्टअपले पनि लगानी प्राप्त गर्न सफल भए ।

जसमा स्किन केयर स्टार्टअप ‘मुन वेक’लाई शार्क ऋतुसिंह वैद्यले ३० लाख रुपैयाँ लगानी जुटाइदिइन् । यसमा ३० प्रतिशत इक्विटीमा डिल भयो । यो उद्यमका आकृति जलान र मोहित धनवाले १५ लाख लगानी र १० प्रतिशत इक्विटी माग्दै पिच गरेका थिए ।

त्यसपछि एकै परिवारका ३ सदस्य रहेको ब्रमानदेव शर्मा, सालिन शर्मा र शाल्जा शर्माको कम्पनी ‘निल अर्थोटिक्स’ले अर्थोपेडिक सहायक सामग्री (कस्ट्युम अर्थोटिक) समाधान उपलब्ध गराउने व्यवसाय पिच गरे ।

शारीरिक अपांगता भएका वा हड्डी सम्बन्धी समस्या झेलिरहेका व्यक्तिका लागि प्रयोगमा आउने उपकरण निर्माण गर्ने उनीहरूको आइडियामा शार्कले चासो देखाए ।

४० लाख माग गरिएको यस पिचमा शार्क ढकाल, क्याबिनेट श्रेष्ठ र सौरभ ज्योतिले ६० लाख रुपैयाँ लगानी गरी ३० प्रतिशत इक्विटीमा डिल गरे ।

पोखरा-१९ स्थित जय देउराली कृषि फर्मले कृषि उत्पादनको व्यावसायिक विस्तारको योजना पिच गर्‍यो । संस्थापक कृष्णहरि तिवारी, वृन्दा तिवारी र वासुदेव तिवारीले ५० लाख रुपैयाँ र २० प्रतिशत इक्विटीको माग राखे ।

शार्क क्याबिनेटले एक्लै ५० लाख रुपैयाँ लगानी गर्दै डिल पक्का गरे । यसरी बुधबार र विहीबार प्रसारणमा आएका ३ र ४ एपिसोडबाट शार्क (जज)हरूले ७ करोड ४० लाख रुपैयाँ लगानी जुटाइदिएका छन् ।

‘शार्क ट्याङ्क नेपाल’ हरेक बुधबार र बिहीबार राति ९ बजे हिमालय टिभीमा प्रसारण हुन्छ भने हिमालय टिभीकै युट्युब च्यानलमा राति ९ः३० बजे स्ट्रिमिङ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?