
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘शार्क ट्याङ्क’को नेपाल संस्करणले पहिलो दुई एपिसोडबाट ५ करोड ७२ लाख रुपैयाँ लगानी जुटाएको छ।
- पहिलो एपिसोडमा चार उद्यमीले विभिन्न आइडिया पिच गरी लगानी प्राप्त गरे भने दोस्रो एपिसोडमा दुईजना उद्यमीले सम्झौता गरे।
- शोले सामाजिक संजालमा चर्चा बटुलेको छ र युट्युबमा राम्रो प्रतिक्रिया प्राप्त गरेको छ।}
काठमाडौं । विश्वचर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’को नेपाल संस्करणले टिभी र इन्टरनेट प्लाटफर्ममा उत्साहजनक डेब्यु गरेको छ ।
गत बुधबार र विहीबार प्रसारणमा आएका सुरुवाती दुई एपिसोडबाटै शार्क (जज)हरूले ५ करोड ७२ लाख रुपैयाँ लगानी जुटाइदिएका छन् । ती एपिसोडमा पिच गरिएका ५ वटा नवप्रर्वतन (स्टार्टअप)ले उक्त रकमको लगानी सुनिश्चतता पाए ।
शोको पहिलो एपिसोडमा ४ उद्यमीले उद्यमशिलताको आइडिया पिच गरेका थिए । पहिलो एपिसोडको सुरुवातमा श्वेता पाण्डेले क्याटरिङ उद्यम ‘भोला फुड्स’ पिच गरिन् । ताजा, शुद्ध र स्वादिलो खान खुवाउने यो नवप्रवर्तनको उद्देश्य रहेको उनले बताइन् ।
उनको प्रस्तावमा शार्क सौरभ ज्योति, हेमराज ढकाल, आनन्द बगारिया र क्याबिनेट श्रेष्ठ चारै जनाले मिलेर १ करोड रुपैयाँ लगानीको सहमति गरे । यो लगानी २० प्रतिशत इक्विटीको आधारमा भयो ।
त्यसपछि चितवनकी सन्ध्या गैरे पौडेलले ‘सन्ध्या पोते हाउस’ व्यवसाय पिच गरिन् । आफूले गर्दै आएको पोते व्यवसायलाई ठूलो बजारमा विस्तार गर्न, जनशक्ति र पूर्वाधारण वृद्धि गर्ने उनको आइडियामा शार्क क्याबिनेट श्रेष्ठले रुचि देखाए ।
उनले ३ वर्षमा लगानी बराबरको नाफा फिर्ता गर्ने सर्त र ३५ प्रतिशत इक्विटीसहित २० लाख रुपैयाँ लगानी गरे ।
यस्तै पालक जलान र कुशल गोयलले आफूहरूको ’आर्ट माया एक्जिम’ नामको इन्टेरियर डिजाइन कम्पनी प्रस्तुत गरे । शार्क सौरभ, हेमराज र क्याबिनेटले मिलेर ३० प्रतिशत इक्विटीमा ३ करोड रुपैयाँ लगानी गरे । यो शोमा अहिलेसम्मकै ठूलो लगानी हो ।
विहिबार प्रसारित दोस्रो एपिसोडमा पनि ४ उद्यमीले आफ्नो आइडिया पिच गरेका थिए । जहाँ दुईजना उद्यमीले शार्कसँग सम्झौता गरे ।
दोश्रो एपिसोडमा दुईजना चार्टर्ड एकाउन्टेन्ट मुकुल भट्ट र सवीन कार्कीको ‘मेरो कोडिङ क्लास’ले बालबालिकालाई अनलाइन कोडिङ सिकाउने स्टार्टअपको अवधारणा पिच गरे । शार्क हेमराज ढकाल र क्याबिनेट श्रेष्ठले ३४ प्रतिशत इक्विटीमा १ करोड २ लाख रुपैयाँ लगानी जुटाइदिए ।
प्रिया लामिछानेले नेपालमै निर्माण हुने ‘साथी सेनिटरी प्याड’को स्टार्टअप पिच गरिन् । महिलाको स्वास्थ्य र स्वच्छता सम्बोधन गर्ने उनको सामाजिक सोच सबै शार्कलाई मन पर्यो ।
पाँचै जना शार्कले मिलेर ४० प्रतिशत इक्विटीमा ५० लाख रुपैयाँ लगानी गरे । पाँचै सार्कले नाफा नलिने सर्तसहित लगानी जुटाइदिएका हुन् ।
शोका दुवै एपिसोडले सामाजिक संजालमा चर्चा बटुलेका छन् । धेरैले उत्साहजनक प्रतिक्रिया दिएका छन् । नृत्य, गायन र कमेडीमा आधारित रियालिटी शोको दबदबा चलिरहँदा पहिलोपटक बिजनेस रियालिटी शो प्रसारणमा आएको हो ।
शार्क ट्यांक नेपालको पहिलो एपिसोडले युट्युबमा नै लगभग १० लाख भ्युज बटुल्न सफल भएको छ । यो आफैमा उत्साहजनक अंक हो । दोस्रो एपिसोडले पनि छोटो समयमै राम्रो प्रतिक्रिया पाउँदै आएको छ ।
टिकटक, फेसबुक र इन्स्टाग्राममा शोका क्लिप व्यापक रूपमा सेयर भइरहेका छन् । १५०० भन्दा बढी उद्यमीले आवेदन दिएको शोमा छनोट भएका ११० स्टार्टअपले क्रमशः आफ्ना आइडिया पिच गर्दै जानेछन् ।
सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रुपमा सुरु भएको यो शो अहिले विश्वकै ठूलो व्यावसायिक रियालिटी टिभी शो बनेको छ । सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको यो शोको नेपाल संस्करण ५४ औं फ्रेन्चाइज हो ।
शोका जजमार्फत ४० करोडको लगानी जुटाइदिने जनाइएको छ । हिमालय टिभीले नेपालमा विभिन्न अन्तर्राष्ट्रिय रियालिटी टिभी शोहरूको उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । द भ्वाइस अफ नेपाल, भ्वाइस किड्स, हिमालय रोडिज प्रसारण भइरहेका छन् भने यसैवर्ष अर्को अन्तर्राष्ट्रिय फेसन रियालिटी शो नेपाल नेक्स्ट टप मोडल पनि प्रसारण हुने तयारीमा छ ।
‘शार्क ट्यांक नेपाल’ बुधबार र बिहीबार हिमालय टिभीमा प्रसारण हुन्छ ।
प्रतिक्रिया 4