
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकमा विस २०८१ साउनदेखि २०८२ असार २४ गतेसम्म ७१ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्।
- यस अवधिमा ६७ वटा गैर आवासीय नागरिकता जारी भएको छ भने १० जनाको नागरिकता रद्द भएको छ।
- जिल्लामा ९ हजार २ सय ५९ जनाले नयाँ नागरिकता बनाएका छन् भने ९ हजार ८ सय ४५ जनाले प्रतिलिपि लिएका छन्।
२९ असार, काभ्रेपलाञ्चोक । काभ्रेमा पछिल्लो एक वर्षको अवधिमा ७१ जनाले नागरिकता परित्याग गरेको पाइएको छ ।
विस २०८१ साउनदेखि २०८२ असार २४ गतेको अवधिमा ७१ जनाले नेपाली नागरिकता परित्याग गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालले जानकारी दिए ।
उनका अनुसार यही अवधिमा ६७ वटा गैर आवासीय नागरिकता जारी भएको छ भने १० जनाको नागरिकता रद्द भएको छ ।
अदालतको आदेशअनुसार ती १० जनाको नागरिकता रद्द भएको सीडीओ ढकालले बताए । यस्तै यो अवधीमा २ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् ।
जिल्लामा नयाँ नागरिकता बनाउने भन्दा नागरिकताको प्रतिलिपि र राहदानी बनाउनेको संख्या धेरै देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा काभ्रेमा नयाँ भन्दा ५ सय ८६ जनाले प्रतिलिपि लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेको तथ्यांक अनुसार जिल्लामा ९ हजार २ सय ५९ जनाले नयाँ नागरिकता बनाएका छन् भने ९ हजार ८ सय ४५ जनाले प्रतिलिपि लिएका छन् ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यो अवधीमा ७१ जनाले नागरिकता परित्याग गरेका छन् ।
यो अवधीमा १५ हजार ९३ जनाले राहदानीका लागि आवेदन दर्ता गराएकोमा अघिल्लो आर्थिक वर्षको बाँकीसहित गरेर १५ हजार ६ सय ६९ वटा राहदानी यो वर्ष वितरण गरिएको छ ।
प्रसासन कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि यस वर्ष २७ हजार १९६ आवेदन परेको थियो । त्यसमध्ये १४ हजार ७४८ राष्ट्रियपरिचयपत्र वितरण भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जिल्लामा ५४ हजार राष्ट्रिय परिचयपत्रको कार्ड आईपुगेको जानकारी दिए ।
यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेमा ७४ वटा मुद्दा दर्ता भएकोमा ४१ वटा फर्छ्यौट गरिएको छ भने ३ सय ४३ वटा ठाडो उजुरी र गुनासो दर्ता भएकोमा ३ सय ३१ वटा फर्छ्यौट भइसकेको छ । जिल्लामा हातहरियार राख्ने १९ वटा नविकरण भएको छ ।
विपद अति प्रभावित जिल्ला काभ्रेपलाञ्चोकमा विपद प्रतिकार्य योजनाका साथै जोखिम न्युनिकरणको लागि बैठक, छलफल, समन्वय र तयारी तिव्र पारिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोमा घर क्षतिग्रस्त भएकाहरुलाई अस्थायी आवास निर्माणको लागि दिइएको रकम र निकासा रकमबारे जानकारी दिइएको थियो ।
प्रतिक्रिया 4