
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्माता मुनाल घिमिरेले फिल्म \'माग्ने राजा\' का मुख्य कलाकार केदार घिमिरेलाई ६१ लाख रुपैयाँ पारिश्रमिक दिएको दाबी गरेका छन्।
‘बोल्नेको पिठो पनि बिक्छ’ भन्ने जुग होइन यो । बोल्नु त पर्छ तर बेच्नका लागि चामल नै हुनुपर्छ । किनभने अहिलेका स्मार्ट पुस्तालाई पिठो बेचेर ‘चक्मा दिन’ त्यति सहज छैन ।
यद्यपि हाम्रा कति फिल्म मेकर्स उहिलेकै ह्याङओभरमा छन्, जसलाई बोलेर पिठो बिक्छ भन्ने भ्रम छ । यति भूमिका बाँधेपछि थाहा हुने नै भयो, यो एक फिल्मको प्रचार शैलीमा अपनाइएको फन्डाबारे हो ।
फन्डा गर्दागर्दै तिनीहरू कसरी फन्टुस भए ?
दृश्य १
फिल्म ‘माग्ने राजा’को पोस्टर सार्वजनिक हुँदै थियो । फिल्मका मूख्य कलाकार केदार घिमिरेलाई सिंहासनमा बिराजमान गराइयो । दाँयाबायाँ फिल्मका हर्ताकर्ता बसे ।
त्यहाँ एउटा नयाँ तर रोचक कुरा खुलासा हुन्छ । कुरा हो, केदार घिमिरे अर्थात माग्ने बुढाको पारिश्रमिक । निर्माता मुनाल घिमिरे भन्छन्, ‘हामीले मूख्य कलाकार केदार घिमिरेलाई ५१ लाख रुपैयाँ पारिश्रमिक दिएका छौं । त्यसमा १० लाख उधारो गरेर जम्मा ६१ लाख रुपैयाँ दिएका छौं ।’
सानो बजार र बजेटमा खुम्चिएको नेपाली फिल्म उद्योगका लागि यो पराकम्पन ल्याउने कुरा हो, भलै यसअघि अनमोल केसीलाई ‘५० लाख दिइएको’ कुरा सतहमा आए पनि । निर्माता घिमिरेको कुरा उपस्थित पत्रकारहरूले पत्याउने कुरै भएन ।
उनीहरू घुमाइफिराइ यही प्रश्नमा केन्द्रित हुन्छन् । तब घिमिरे जिद्दी गर्दै भन्छन्, ‘यो मन्दिरलाई साक्षी राखेर भन्छु कसले के भन्छ, कसो भन्छ त्यो थाहा छैन । माग्ने केदार घिमिरेलाई ५१ लख रुपैयाँ दिएको हो । १० लाख रुपैयाँ उधारो दिएको हो । पूरा ६१ लाखको प्रतिबद्धता गरेको छु ।’
साथमै बसेका निर्देशक ऋषि लामिछानेले रातोपिरो हुँदै यही कुरालाई पुष्टि गर्न जोडतोडले यसो भने, ‘त्यति पारिश्रमिक त माग्ने बुढाका लागि कम हो १ करोड दिनुपर्छ ।’
दृश्य २
एक जमघटको केन्द्रमा छन्, केदार घिमिरे माग्ने बुढा । प्रश्न उही छ, ‘साँच्चै तपाईंले ६१ लाख पारिश्रमिक लिनुभएको हो ।’
सम्भवत निर्माताले ‘६१ लाख’को कुरा गरेको दिनदेखि केदार घिमिरेले सबैभन्दा धेरै झेल्नुपरेको प्रश्न यही हुनुपर्छ । उनले भने पनि त्यसै, ‘यो प्रश्न सुन्दा सुन्दा वाक्क भइसकें ।’ अनि उनले झोक्किएर यसको सफाइ यसरी दिए, ‘६१ लाख रुपैयाँ लिएको कसैले प्रमाणित गर्छ भने उसैलाई नमस्कार हजुर भन्दै सो ६१ लाख दिन्छु ।’
अनि निर्माता–निर्देशकले किन त्यस्तो ‘हावा कुरा’ गरे त ? त्यहाँ तपाईं स्वयम् हुनुहुन्थ्यो ? पत्रकारको यस्तो प्रश्नमा माग्ने बुढाको सटिक जवाफ थियो, ‘दाइ यस्तो किन गरेको भनेर सोध्दा भाइ चुप लाग न तिमी । यस्तै गर्नुपर्छ । यसो गर्दा हाइप हुन्छ क्या हाइप ।’
दृश्य ३
निर्माता मुनाल घिमिरेलाई टेलिभिजन सो रजतपटमा बोलाइन्छ । उनलाई प्रस्तोता प्रकाश सुवेदीले त्यही प्रश्न दोहोर्याउँछन्, जो बजारमा चर्चामा छ ।
उनी सोझो प्रश्नको स्पष्ट जवाफ माग्दै सोध्छन्, ‘यति मात्र भनिदिनुहोस्, के तपाईंले माग्ने बुढालाई ६१ लाख दिएकै हो ?’ यसको जवाफ हो वा होइनमै सकिनुपर्ने हो । तर, निर्माता घिमिरे न हो भन्न सक्छन्, न होइन भन्न । उनी दोधारे कुरा गरेर प्रश्नकर्तालाई घुमाउन खोज्छन् ।
अन्त्यमा उनले ‘फिल्म रिलिजको एक हप्ता अघि स्टेटमेन्ट लिएर आउने’ हाँक दिन्छन् । अनि फेरि आफैंलाई चोख्याउदै भन्छन्, ‘म गलत छँदै छैन, मुनाल घिमिरे कहिले पनि गलत हुन सक्दैन । माग्ने बुढा पनि गलत हुँनुहुन्न ।’
बाठो लड्छ..
फिल्ममा कलाकारलाई कति पारिश्रमिक दिने, कति नदिने ? त्यो उनीहरूको आन्तरिक कुरा हो । यसमा कसैको करकापले चल्दैन । पारिश्रमिक कति दिए, कति दिएनन् त्यसलाई गोप्य राख्ने अधिकार पनि उनीहरूसँग सुरक्षित छ ।
तर, हाम्रा कति फिल्ममेकर्स ‘फन्डा’ गर्न माहिर छन् । उनीहरूलाई फन्डामा त्यति धेरै विश्वास छ, जति आफ्नो ‘कन्टेन्ट’मा छैन । फिल्म जस्तो वा जसरी बनाए पनि ‘हल्ला चाहिँ बबाल गर्नुपर्छ है’ भन्ने मनोविज्ञान हावी छ ।
कुनै पनि फिल्मका लागि पब्लिसिटी जरुर चाहिन्छ । आम दर्शकमा फिल्मबारे उत्सुकता जगाउन र हलसम्म आमन्त्रित गर्न व्यापक प्रचार गर्नैपर्छ । तर, फिल्म जस्तो रचनात्मक विधामा काम गर्नेहरूले प्रचार शैली चाहिँ रत्नपार्कमा जुत्ता बेच्न ‘हजुर कता…..यता ..’ भने जस्तो शैली अपनाउँदा के होला ? अझ के होला, जब आफैँले पुष्टि गर्नै नसकिने मनगढन्ते कुराहरू फलाक्दा ? फन्डा गर्दा फन्टुस हुने त होइन ?
प्रतिक्रिया 4