+

टी-२० विश्वकप छनोटअघि केके गर्दैछ नेपाली क्रिकेट टोली ?

२०८२ असार  ३१ गते १८:१२ २०८२ असार ३१ गते १८:१२
टी-२० विश्वकप छनोटअघि केके गर्दैछ नेपाली क्रिकेट टोली ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष क्रिकेट टोलीले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँगको एकदिवसीय र टी-२० शृंखला खेलेर नेपाल फर्किएको छ।
  • नेपाल क्रिकेट संघले टी-२० विश्वकप छनोटका लागि ३२ खेलाडीहरूलाई बोलाएर तयारी क्याम्प सुरु गरेको छ र अस्ट्रेलिया, यूएई, श्रीलंका, भारतमा क्याम्प गर्ने योजना बनाएको छ।
  • नेपालले अगस्टमा अस्ट्रेलियाको डार्विनमा टप एण्ड टी-२० सिरिज खेल्नेछ र सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्नेछ।

३१ असार, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले गत महिना स्कटल्याण्डमा गएर आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्ड्ससँगको एकदिवसीय शृंखलासँगै टी-२०आई शृंखला पनि खेलेर फर्कियो ।

त्यसपछि नेपाली क्रिकेट टोली हाल नेपालमै छ । अब अक्टोबरमा हुने आईसीसी टी-२० विश्वकप छनोटअघि नेपाली टोलीले कुनैपनि ठुला प्रतियोगिता खेल्ने छैन । तर यसबीचमा नेपालले अस्ट्रेलियामा  तयारी गर्ने तय छ भने वेस्ट इन्डिजसँगको ऐतिहासिक श्रृंखला पनि खेल्नेछ।

नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप छनोटका लागि तयारी क्याम्पको पनि घोषणा गरिसकेको छ जहाँ ३२ खेलाडीहरू बोलाइएका छन् । त्यहाँबाट छानिने खेलाडीहरूले अस्ट्रेलियामा हुने टप एण्ड सिरिजदेखि विश्वकप छनोटसम्म टोलीको हिस्सा भएर खेल्नेछन् ।

नेपाली टोलीको क्लोज क्याम्प सोमबारदेखि सुरु भइसकेको छ । त्यहाँबाट छानिएका खेलाडीले यही विविध अभ्यास खेलदेखि विश्वकप छनोटसम्म खेल्नेछन् ।

श्रीलंकामा पकेट क्याम्प

नेपाल क्रिकेट संघ (क्यान) को क्यालेन्डरमा उल्लेख भएअनुसार अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिज खेल्नुभन्दा अगाडि जुलाईमा श्रीलंका तथा अगस्टमा भारत गएर पकेट क्याम्पमा सहभागी हुने तय छ ।

त्यसबारेमा हालसम्म कुनै आधिकारिक जानकारी आइसकेको छैन । उक्त पकेट क्याम्पको लागि छलफल भइरहेको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

यसअघि क्यालेन्डर घोषणा कार्यक्रमका बेला नेपालमा यस समय वर्षाको सिजन भएकाले श्रीलंकामा क्याम्प राखिएको जनाइएको थियो ।

‘जुलाईमा नेपालमा वर्षाको समय भएकाले श्रीलंका गएर तयारीको प्लान गरेका हौं’ क्यान सचिव पारस खड्काले भनेका थिए, ‘नेपालमा वर्षाले तयारीमा असर नगरोस् भनेर उक्त योजना बनाएको हो।’

अस्ट्रेलियन टप एण्ड टी-२० सिरिज

अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिज नेपालको टी-२० विश्वकप छनोट तयारीको पहिलो चरण हुनेछ । यो सिरिजमा कुल ११ टिमहरूले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीसँगै पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोलीहरू होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स छन् । साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक टोलीले सहभागिता जनाएका छन्।

सिरिजमा नेपालले ६ खेल खेल्ने छ । पहिलो खेल १५ अगस्टमा स्थानीय टिम एनटी स्ट्राइकविरुद्ध खेल्नेछ। दोस्रो खेल १६ अगस्टमा बंगलादेश ए विरुद्ध हुनेछ। तेस्रो खेल नेपालले १८ अगस्टमा मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ।

चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स विरुद्ध हुनेछ भने पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स विरुद्ध हुनेछ। अन्तिम लिग खेल नेपालले २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ।

लिग चरणमा शीर्ष ४ हुने टिमबाट सेमिफाइनल खेलिनेछ भने त्यसपछि फाइनल खेल हुनेछ । नेपाल फाइनलसम्म पुगेको अवस्थामा कुल ८ खेल खेल्नेछ ।

यस सिरिजमा केही चर्चित खेलाडीहरूको पनि सहभागिता रहन सक्छ । विशेषगरी बिग ब्यासमा खेलेको अनुभव भएकासहित पाकिस्तान र बंगलादेशका पनि सिनियर टोलीबाट खेलेका केही खेलाडीहरू खेल्न सक्छन् ।

नेपाली टोलीलाई एक्सपोजरका हिसाबले यस सिरिजले महत्व राख्नेछ ।

वेस्ट इन्डिजसँगको टी-२०आई सिरिज

नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला पनि खेल्ने छ । क्यानले क्यालेन्डर सार्वजनिक गरेका बेला सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी-२०आई शृंखला खेल्ने उल्लेख गरेको थियो ।

नेपालले दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको यो पहिलो पटक हुनेछ । आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा टी-२० शृंखला हुनेछ ।

यो सिरिज नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभई टी-२० विश्वकप एसिया छनोटको तयारीमा समेत महत्वपूर्ण हुनेछ। विश्वकप छनोट यूएईकै छिमेकी देश ओमानमा अक्टोबरमा हुँदैछ ।

अघिल्लो संस्करणको टी-२० विश्वकप समूह चरणमा दक्षिण अफ्रिकासँग खेल्ने मौका पाएको नेपालले अब विश्व च्याम्पियन टोलीसँग शृंखला नै खेल्नेछ ।

***

यो सिरिजपछि नेपाली क्रिकेट टोली विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जानेछ । जहाँ नेपाल समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ ।

समूह चरण पार गरेर सुपर सिक्स हुँदै विश्वकपमा छनोट भएमा नेपालले लगातार दोस्रोपटक तथा समग्रमा तेस्रोपटक टी-२० विश्वकप खेल्नेछ ।

नोभेम्बरमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुनेछ । विश्वकपमा छनोट भएमा एनपीएलले खेलाडीको लय कायम राख्न मद्दत पुग्नेछ भने विश्वकपअघिको तयारीका लागि थप उत्साहजनक श्रृंखलाहरू क्यानले आयोजना गर्न सक्छ ।

नेपाली क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय