
News Summary
Generated by OK AI. Editorially reviewed.- ऋचा शर्मा, एलिना चौहान, समीक्षा अधिकारी र गरिमा शर्माले सामाजिक संजालमा हुने अमर्यादित टिप्पणी गर्नेको आइडी सार्वजनिक गरी प्रतिरोध अभियान चलाइरहेका छन्।
- गायक रामकृष्ण ढकालले चार सामाजिक संजाल आइडी सार्वजनिक गरी आफूविरुद्ध अत्याचार गर्ने फेक र रियल आइडीबाट हुने अपराधको उजुरी साइबर ब्युरोमा दिएको बताए।
- ढकालले सामाजिक संजालबाट हुने अमर्यादित टिप्पणीले कलाकारको प्रस्तुति र सिर्जनामा असर पर्ने र यसले समाज र राष्ट्रलाई गम्भीर असर पुर्याउने उल्लेख गरे।
काठमाडौं । केही कलाकारले अहिले सामाजिक संजालमा आफूमाथि हुने घृणाजन्य अभिव्यक्तिविरुद्ध ‘प्रतिरोध अभियान’ चलाइरहेका छन् ।
ऋचा शर्मा, एलिना चौहान, समीक्षा अधिकारी, गरिमा शर्माले आफूविरुद्ध अमर्यादित टिप्पणी गर्नेको आइडी सार्वजनिक गरिरहेका छन् ।
उनीहरूको अभियानलाई साथ दिने सेलिब्रेटी र सर्वसाधारण खुलेर अघि आइरहेका छन् । गायक रामकृष्ण ढकालले पनि एलिना र समीक्षाको ‘प्रतिरोध अभियान’लाई समर्थन जनाएका छन् ।
सामाजिक संजालका केही फेक र रियल आइडीबाट केहीले आफूविरुद्ध अत्याचार गरिरहेको जनाउँदै गायक ढकालले ४ वटा सामाजिक संजालका आइडी सार्वजनिक गरेका छन् ।
‘यी सबै कुरा मनन गरेर मैले यी तस्वीर सार्वजनिक गरेको छु । यी यस्ता केही अपराधी हुन् जसमध्ये केहीले ७ वटा भन्दा बढी फेक आइडी बनाई अत्याचार गरिरहेका थिए’ ढकाल लेख्छन्, ‘केहीले त रियल आइडीबाटै यो अपराध गरिरहेका थिए । यिनीहरूमध्ये केही अहिले प्रहरीको हिरासतमा छन भने केही निगरानी र खोजीको सूचीमा छन् ।’
आफूविरुद्ध सामाजिक संजालमा आउने अमर्यादित र अशिष्ट गालीलाई समेटेर आफूले साइबर ब्युरोमा उजुरी दिएको समेत ढकालले उल्लेख गरेका छन् ।
जीवनमा संघर्ष गरेर जनतालाई मनोरञ्जन दिएका कलाकारमाथि बर्सिने तुच्छ गालीको असर उनीहरूको जीवनमा पर्ने र यसबारे सबैजना गम्भीर हुनुपर्ने पनि रामकृष्णले उल्लेख गरेका छन् ।
मुलुकमा सजाय दिने कानुन हुँदाहुँदै सामाजिक संजालबाट अमर्यादित टिप्पणी गर्नु उचित नहुने उनको धारणा छ । कलाकारमाथिको प्रहारले उनीहरूको प्रस्तुति र सिर्जनामाथि असर परिरहेको बताउँदै रामकृष्णले समाज र राष्ट्रले नै गम्भीर असर भोगिरहेकोतर्फ ध्यानाकर्षण समेत गराएका छन् ।
प्रतिक्रिया 4