
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा नियमविपरीत कायममुकायम र निमित्त प्रमुख राखिएको पाइएको छ।
- त्रिविको कार्यकारी परिषद्ले १३ असोज २०८० मा कायममुकायम खारेज गरेको भए पनि निर्णय कार्यान्वयन भएको छैन।
- कुलपति प्रा.डा. दीपक अर्यालले अबदेखि कसैलाई पनि कामु नदिने बताएका छन्।
३१ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायमा नियमविपरीत कायममुकायम र निमित्त प्रमुख राख्ने गरेको पाइएको छ ।
कायममुकायमको नाममा एक तह बढुवा गरेर मासिक रूपमा तलब-भत्ता खुवाउने गरेको भेटिएपछि त्रिविको कार्यकारी परिषद्ले १३ असोज २०८० मा (निर्णय नम्बर ३६७) १ कात्तिकदेखि लागू हुने गरी कायममुकायम खारेज गरेको थियो । तर अहिले पनि विश्वविद्यालयको विभिन्न निकायमा कामु राखिएको भेटिएको छ ।
‘उपसचिवलाई कामु बनाएर सहसचिव तहको सेवा-सुविधा दिइएको छ’ विश्वविद्यालयका एक उच्च अधिकारीले भने, ‘कार्यकारी परिषद्ले कामु खारेज गरे पनि निर्णय कार्यान्वयन भएको छैन ।’ तत्कालीन उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यकालमा कामु नराख्ने निर्णय गरिएको हो ।
यसरी कामु खानेमा त्रिवि शिक्षाध्यक्ष कार्यालयका प्रमुख गोविन्द थापा, रजिस्ट्रार कार्यालय प्रमुख कमल घिमिरे र परीक्षा नियन्त्रण कार्यालयका उपप्रशासक नविन्द्र भण्डारी छन् ।
‘उहाँहरूलाई एक तहमाथि बढुवा गरी सेवा-सुविधा दिएर कायममुकायम बनाइएको छ’ त्रिवि स्रोतले भन्यो, ‘त्रिविका विभिन्न निकायमा ३० जनाभन्दा बढी कामु भएर काम गरिरहेका छन् ।’
कायममुकायम खारेजीको निर्णय हाल त्रिवि कर्मचारी प्रशासन महाशाखामा गएर रोकिएको छ । ‘बराल सरको कार्यकालमा कामु नराख्ने पत्र कर्मचारी प्रशासन महाशाखामा पठाइएको हो तर कार्यान्वयन नगरी रोकेर राखिएको छ’ ती अधिकारीले भने, ‘निश्चित अवधिको लागि कायममुकायम राख्ने व्यवस्था नियममा छ । तर पहुँचकै आधारमा वर्षौंसम्म कामु खाएर बस्ने गरेका छन् ।’
गत १ कात्तिकदेखि कामु हटाउनुपर्नेमा नहटाएपछि कुलपति एवं प्रधानमन्त्री केपी ओलीसमक्ष उजुरी दिने तयारी कर्मचारी र विद्यार्थीले गरेका छन् ।
‘नियमविपरीत कामु खाएर बसेका विरुद्ध उजुरी दिने तयारी गरेका छौं । १ कात्तिकदेखि हालसम्म लिएको तलब-भत्ता तथा सेवा-सुविधा फिर्ता हुनुपर्छ,’ उजुरी दिने तयारीमा रहेका एक विद्यार्थीले भने ।
पूर्व उपकुलपति बराल कामु हटाउने निर्णय कार्यान्वयन गर्न आफूले दुई पटकसम्म सर्कुलर गरेको बताउँछन् । ‘मेरो कार्यकालमा कामु हटाउने निर्णय भएको हो ।
कार्यान्वयन गर्न दुईपटक सर्कुलर गरेको तर किन कार्यान्वयन भएन, अहिलेका पदाधिकारीलाई सोध्नुपर्छ,’ पूर्वउपकुलपति बरालले भने, ‘कामु राख्नुपर्यो भनेर असाध्यै दबाब आउने रहेछ । कामु दुई/चार महिनाको लागि हो, तर वर्षौंसम्म कामु भएर बस्ने रहेछन् । यसले त्रिविलाई आर्थिक भार बढेको छ ।’
लामो समयसम्म कामु भएर बस्दा नयाँ आउने कर्मचारीलाई समेत असर पर्ने गरेको पूर्वउपकुलपति बराल बताउँछन् । त्रिवि स्रोतका अनुसार कार्याकारीको निर्णय पत्र नै कार्मचारी प्रशासन महाशाखामा लुकाएर राखिएको छ ।
‘कामु भएर बसेकाको दबाबमा कार्यकारीले गरेको निर्णय नै लुकाइएको छ,’ ती अधिकारीले भने । कामु प्रमुख मात्र होइन, त्रिविमा धेरै वटा कार्यालयमा निमित्त प्रमुख राखिएको छ ।
उपकुलपति कार्यालयको प्रमुखमा गणेश आचार्य, शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको समन्वय महाशाखामा दीपक तिवारी र रजिष्ट्रार कार्यालय अन्तर्गतको कर्मचारी प्रशासन महाशाखामा दिनेश घिमिरे निमित्त प्रमुख छन् । तर निमित्त प्रमुखहरूले निर्णय कार्यान्वयन नहुनुको कारण आफूहरूलाई थाहा नभएको बताएका छन् ।
‘कार्यकारीबाट निर्णय भएको सुनेको हो । पत्र भेटेको छैन । म भर्खरै निमित्त प्रमुख भएको हुँ । कार्यकारीको निर्णय थाहा छैन,’ कर्मचारी प्रशासन महाशाखा निमित्त प्रमुख घिमिरेले भने ।
समन्वय महाशाखाका निमित्त प्रमुख भने यसबारे बोल्न चाहेनन् । ‘कार्यकारीले गरेको निर्णय सम्बन्धित महाशाखामा हुन्छ । यो विषयमा कुनै जानकारी छैन,’ उनले भने ।
उपकुलपति प्रा.डा. दीपक अर्यालले अबदेखि कसैलाई पनि कामु नदिने बताए । उनले भने, ‘म आउनुअघि निर्णय भएको रहेछ । केही संख्यामा कामु भएर काम गरिरहेका रहेछन् । अबदेखि कसैलाई पनि कामु दिँदैनौं ।’
प्रतिक्रिया 4