+
+
Shares

ताहाचलस्थित किताबखानाका शाखा अधिकृत प्रसाईं घुस मुद्दामा दोषी ठहर

आफूसँग शाखा अधिकृत प्रसाईंले घुस मागेको भनी शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते २०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले ताहाचलस्थित शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई ३ लाख रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
  • क्यान्टिन सञ्चालक सुदर्शन न्यौपानेलाई घुस उठाउन सहयोगी भूमिका खेलेको कारण दोषी ठहर गर्दै दुबैजनालाई ६/६ महिना कैद र जरिवाना फैसला गरेको छ।
  • विशेष अदालतले कार्यालय सहयोगी भवानी अधिकारीलाई सफाई दिएको छ र शिक्षक भोजराज भट्टराईमाथि पनि भ्रष्टाचारमुद्दा चलाएर सफाई गरेको छ।

३२ असार, काठमाडौं । विशेष अदालतले ताहाचलस्थित शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई ३ लाख रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । घुस उठाउन सहयोगी भूमिका खेलेका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन् ।

विशेष अदालतका सदस्यहरु तेजनारयाण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरु दुबैजनालाई ६/६ महिना कैद सजाय फैसला गरेको हो । अब दुबैजनाले डेढ/डेढ लाख रुपैयाँ जरिबाना बुझाउनुपर्नेछ ।

उनीहरुले घुस लिएको रकम समेत जफत हुने फैसला भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

विशेष अदालतले दुबैजनाबाट ६/६ हजार रुपैयाँका दरले अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको छ ।

एक शिक्षकको पेन्सनपट्टा बनाउने क्रममा शाखा अधिकृत प्रसाईंले क्यान्टिन सञ्चालक न्यौपानेलाई प्रयोग गरेर ३ लाख रुपैयाँ घुस लिएका थिए । विशेष अदालतले धनेश्वरले घुस लिएको ठहर गर्दै न्यौपानेलाई पनि उनले घुस लिने काममा प्रयोग गरेको निष्कर्ष निकालेको छ ।

त्यो घटनामा घुस माग्न सहजीकरण गरेको आरोप खेपेकी कार्यालय सहयोगी भवानी अधिकारीलाई भने विशेष अदालतले सफाई दिएको छ ।

कार्यालय सहयोगी कर्मचारीले पेन्सनपट्टा बनाउने काममा कुनै हैसियत नराख्ने भन्दै विशेष अदालतले ‘उनको ओहोदासँग सम्बन्धित काम नभएको’ भन्ने आधारमा सफाई दिएको हो ।

आफूसँग शाखा अधिकृत प्रसाईंले घुस मागेको भनी शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएका थिए ।

तर विशेष अदालतमा बकपत्र गर्दा उनले शाखा अधिकृत प्रसाईंले घुस मागेको बताए पनि कार्यालय सहयोगी अधिकारीको कुनै भूमिका नभएको भनी जिकिर गरेका थिए ।

अदालतमा गएर बयान फेरेको भन्दै अख्तियारले घुस दिएको आरोपमा शिक्षक भट्टराईमाथि पनि भ्रष्टाचारमुद्दा चलाएको थियो । विशेष अदालतले उनलाई पनि सफाई दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?