
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका, रूस, चीन, फ्रान्स, जर्मनी र बेलायतले विश्वभर हतियार बिक्री गरी भूराजनीतिक प्रतिस्पर्धा र सुरक्षा द्विविधा सिर्जना गरिरहेका छन्।
- रूस-युक्रेन युद्ध, मध्यपूर्व तनाव र दक्षिण चीन सागरमा सैन्य उपस्थिति बढ्दा क्षेत्रीय अस्थिरता र हतियारको दौड बढेको छ।
- नेपालले तटस्थ विदेश नीति अपनाउँदै कूटनीतिक सक्रियता बढाउन र राष्ट्रिय विकासमा लगानी केन्द्रित गर्नुपर्ने सुझाव दिइएको छ।
विश्वव्यापी हतियारको दौडले मानव सभ्यताको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। ठूला देशहरूबीच हतियारको कारोबार केवल एक उदाहरण मात्र हो, यो त एक गहिरो जरा गाडिएको अन्तर्राष्ट्रिय सञ्जाल हो जसले देशहरूलाई एकअर्कासँग प्रतिस्पर्धामा उत्रन निरन्तर प्रेरित गरिरहेको छ।
अमेरिका, रूस, चीन, फ्रान्स, जर्मनी र बेलायत जस्ता प्रमुख शक्तिहरूले आफ्नो अत्याधुनिक सैन्य प्रविधि र हतियार विश्वभरका आफ्ना सहयोगी र ग्राहकहरूलाई बेच्दै आएका छन्। यसले देशहरूलाई आफ्नो सैन्य शक्ति बढाउन, क्षेत्रीय प्रभाव विस्तार गर्न र भूराजनीतिक प्रतिद्वन्द्वीहरू विरुद्ध रक्षात्मक रणनीति बनाउन प्रोत्साहित गर्दछ। तर यसको परिणामस्वरुप, हतियारको होडबाजीले शान्ति र स्थिरताको सट्टा थप असुरक्षा सिर्जना गरेको छ, जसलाई ‘सुरक्षाको द्विविधा’ भनिन्छ। जब एक देशले आफ्नो सुरक्षाका लागि हतियार खरिद गर्छ, त्यसको छिमेकी देशले पनि आफूलाई असुरक्षित महसुस गरी हतियारको दौडमा प्रवेश गर्न थाल्छ, जसले अन्ततः द्वन्द्वको जोखिम बढाउँछ।
हतियारको यो दौड केवल ठूला शक्तिहरूमा मात्र सीमित छैन, यसको प्रभाव स-साना र विकासोन्मुख देशहरूमा पनि परेको छ। यसले विश्वव्यापी स्तरमा शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तलाई कमजोर बनाइरहेको छ। हतियार खरिदमा खर्च हुने ठूलो रकम शिक्षा, स्वास्थ्य र गरिबी निवारण जस्ता जनकल्याणका अत्यावश्यक क्षेत्रमा खर्च गर्न सकिन्थ्यो।
यसरी, हतियारको बढ्दो व्यापारले तत्कालका लागि शक्ति सन्तुलन कायम राखे पनि दीर्घकालमा यसले विश्वभर अस्थिरता र असुरक्षाको बीउ रोपेको छ। यो प्रवृत्तिले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप जटिल र जोखिमपूर्ण बनाएको छ, जसको प्रत्यक्ष असर विश्वव्यापी अर्थतन्त्र र मानव विकासमा देखिएको छ।
भूराजनीतिक प्रतिस्पर्धा र विनाशको होड
विश्वमा जारी भूराजनीतिक द्वन्द्वहरू हतियारको होडबाजीका प्रमुख कारक हुन्। रूस-युक्रेन युद्ध, मध्यपूर्वको तनाव र दक्षिण चीन सागरमा चीनको बढ्दो सैन्य उपस्थिति यसका स्पष्ट उदाहरण हुन्। युक्रेनमा रूसी आक्रमणपछि अमेरिका र युरोपेली राष्ट्रहरूले युक्रेनलाई हतियार र सैन्य सहयोग प्रदान गरेर रूसलाई प्रतिरोध गर्न सहयोग गरिरहेका छन्।
यसले एक पक्षमा युक्रेनको आत्मरक्षाको क्षमता बढाएको छ तर अर्को पक्षमा रूसले पनि आफ्नो सैन्य शक्ति र उत्पादन क्षमता बढाउन बाध्य भएको छ, जसले गर्दा दुई महाशक्तिहरू बीचको तनाव थप बढेको छ ।
मध्यपूर्वमा, इरान र साउदी अरब बीचको क्षेत्रीय प्रतिस्पर्धाले यी दुई देश र उनीहरूका सहयोगीहरूलाई लगातार हतियार खरिद गर्न प्रेरित गरिरहेको छ, जसले गर्दा यो क्षेत्र अस्थिरताको केन्द्र बनेको छ। साउदी अरबले अमेरिका र बेलायतबाट ठूलो मात्रामा लडाकू विमान र क्षेप्यास्त्र प्रणाली खरिद गरेको छ, जबकि इरानले चीन र रूसबाट सैन्य उपकरण र प्रविधि प्राप्त गरिरहेको छ, जसले शक्ति सन्तुलनलाई जटिल बनाएको छ।
एशियामा, चीनको बढ्दो सैन्य शक्ति र क्षेत्रीय दाबीले भारत, जापान, दक्षिण कोरिया र फिलिपिन्स जस्ता छिमेकी देशहरूलाई आफ्नो रक्षा क्षमता बढाउन प्रेरित गरेको छ। भारतले रूस र फ्रान्सबाट हतियार खरिद गरेको छ, जबकि जापान र फिलिपिन्सले अमेरिकाबाट सैन्य उपकरण प्राप्त गरिरहेका छन्।
यी सबै घटनाक्रमले एक देशको सुरक्षा चिन्ताले अर्को देशलाई हतियारको होडमा प्रवेश गराएको देखाउँछ, जसले अन्ततः क्षेत्रीय र विश्वव्यापी असुरक्षा बढाएको छ। यसरी, शक्ति प्रदर्शन र भूराजनीतिक लाभको लागि हतियारको प्रयोगले विश्वलाई विनाशको डिलमा पुर्याइरहेको छ, र यसले अन्तर्राष्ट्रिय सहकार्यको सम्भावनालाई पनि कमजोर बनाउँछ।
आर्थिक स्वार्थ: युद्धको अप्रत्यक्ष इन्धन
हतियारको व्यापार केवल भूराजनीतिक कारणहरूले मात्र सञ्चालित छैन, यसको पछाडि ठूलो आर्थिक लाभ पनि लुकेको छ। हतियार उत्पादक कम्पनीहरूका लागि युद्ध र द्वन्द्वले व्यापारको अवसर सिर्जना गर्छ। लकहिड मार्टिन, बोइङ, रेथियोन (अमेरिका), सुखोई (रूस), नोरिन्को (चीन) र थेल्स (फ्रान्स) जस्ता कम्पनीहरूले विश्वभरका सरकारहरूसँग अर्बौं डलरका सम्झौता गरिरहेका छन्।
यी कम्पनीहरूले रोजगारी सिर्जना गर्ने र सरकारलाई कर राजस्व प्रदान गर्ने दाबी गर्छन्, तर यसको वास्तविकलागत मानव जीवन र सामाजिक स्थायित्व हो, जसको मूल्य गणना गर्न सकिंदैन। विकसित राष्ट्रहरूले हतियार बिक्रीलाई आफ्नो अर्थतन्त्रको एक महत्वपूर्ण हिस्सा बनाएका छन्।
उनीहरूले नयाँ प्रविधि विकास गर्न ठूलो मात्रामा अनुसन्धान र विकासमा लगानी गर्छन् र त्यसपछि त्यसलाई विश्वभरका ग्राहकहरूलाई बेच्छन्, जसले गर्दा हतियार उद्योगलाई निरन्तर वृद्धि गर्न प्रोत्साहित गर्छ। यस आर्थिक चक्रले युद्ध र अस्थिरताको जोखिम बढाउँछ किनभने हतियार उत्पादकहरूले द्वन्द्वलाई कम गर्नुको सट्टा त्यसलाई कायम राख्न वा बढाउन प्रोत्साहन गर्न सक्छन्।
हतियार निर्यात गर्ने देशहरूले प्रायः राजनीतिक र आर्थिक दबाब प्रयोग गरी ग्राहक देशहरूलाई आफ्ना उत्पादनहरू खरिद गर्न प्रेरित गर्छन्। यसरी, आर्थिक लाभको लोभले विश्वव्यापी शान्ति र स्थिरतालाई जोखिममा पारेको छ र मानवजातिको भविष्यलाई अन्धकारतर्फ धकेलेको छ। यो आर्थिक स्वार्थले नैतिक मूल्य र मानवीय संवेदनालाई पनि बिर्साउँदै, मानवतालाई नै खतरामा पारेको छ।
साना देशहरूमा हतियारको असर
हतियारको होडबाजीले केवल ठूला देशहरूलाई मात्र असर गर्दैन, साना र विकासोन्मुख राष्ट्रहरूलाई पनि यसले गहिरो रूपमा प्रभावित गर्छ। जब साना देशहरूले आफ्नो सैन्य शक्ति बढाउन हतियार खरिद गर्छन्, त्यसले आन्तरिक र क्षेत्रीय अस्थिरता बढाउन सक्छ।
हतियारको खरिदमा खर्च भएको रकम शिक्षा, स्वास्थ्य, गरिबी निवारण र पूर्वाधार विकास जस्ता अत्यावश्यक क्षेत्रबाट डाइभर्ट हुन्छ, जसले जनताको जीवनस्तरमा नकारात्मक प्रभाव पार्छ र दिगो विकासको लक्ष्य हासिल गर्न बाधक बन्छ।
साथै, हतियारको बढ्दो उपलब्धताले आन्तरिक सशस्त्र द्वन्द्व र गृहयुद्धको जोखिम बढाउँछ। साना र कमजोर शासन भएका देशहरूमा सैन्य उपकरणको दुरुपयोग हुन सक्छ, जसले मानवअधिकारको गम्भीर उल्लंघन निम्त्याउँछ। उदाहरणका लागि, अफ्रिका र मध्यपूर्वका कतिपय देशहरूमा बाहिरी शक्तिहरूले आपूर्ति गरेका हतियारहरूले आन्तरिक सशस्त्र समूहलाई बलियो बनाएका छन्, जसले वर्षौंसम्म द्वन्द्वलाई निरन्तरता दिएका छन् र लाखौं मानिसलाई विस्थापित गरेका छन्।
यो हतियारको प्रवाहले स्थानीय द्वन्द्वलाई अन्तर्राष्ट्रियकरण गर्न सक्छ, जहाँ बाहिरी शक्तिहरूले आफ्नो स्वार्थ अनुसार विभिन्न पक्षलाई समर्थन गर्छन्, जसले गर्दा द्वन्द्वको समाधान झनै कठिन हुन्छ। यसरी, हतियारको बढ्दो कारोबारले साना देशहरूमा विकास र स्थायित्वको सट्टा थप अस्थिरता, गरिबी र मानवीय संकट निम्त्याएको छ।
आधुनिक प्रविधि र युद्धको नयाँ अनुहार
आधुनिक हतियारको दौडमा प्रविधिको विकासले एक नयाँ आयाम थपेको छ। ड्रोन, साइबर हतियार र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिहरूले युद्धको स्वरूपलाई पूर्ण रूपमा परिवर्तन गरिरहेका छन्। यी प्रविधिहरूले युद्धलाई अझ स्वचालित, छिटो र घातक बनाएका छन्, जसले परम्परागत युद्धको परिभाषालाई नै परिवर्तन गरिदिएको छ।
ड्रोनहरूको प्रयोगले मानव जोखिमलाई कम गरे पनि यसले युद्धको नैतिकता र कानूनी पक्षमा गम्भीर प्रश्न उठाएको छ, किनभने यसले युद्धलाई अझ अवैयक्तिक बनाएको छ र मानव जीवनको मूल्यलाई कम आकलन गरेको छ। साइबर हतियारले राष्ट्रिय पूर्वाधार र सूचना प्रणालीमाथि आक्रमण गर्न सक्ने क्षमता राख्छ, जसले परम्परागत सैन्य आक्रमणभन्दा पनि ठूलो क्षति पुर्याउन सक्छ र समाजलाई अस्तव्यस्त बनाउन सक्छ।
कृत्रिम बुद्धिमत्तामा आधारित स्वायत्त हतियार प्रणालीको विकासले मानव नियन्त्रण विना नै घातक निर्णय लिन सक्ने जोखिम बढाएको छ, जसले अनियन्त्रित र अप्रत्याशित युद्धको सम्भावनालाई बढाउँछ। विकसित राष्ट्रहरूले यी नयाँ प्रविधिहरूमा ठूलो मात्रामा लगानी गरिरहेका छन्, जसले गर्दा हतियारको दौडलाई थप जटिल र खतरनाक बनाएको छ।
यसले पुरानो शैलीको युद्धलाई प्रतिस्थापन गरी नयाँ किसिमको सुरक्षा चुनौती खडा गरेको छ। यो प्रविधिको होडबाजीले अन्तर्राष्ट्रिय कानून र नियन्त्रणको अभावमा विश्वलाई एक अनिश्चित र खतरनाक भविष्यतर्फ धकेलिरहेको छ, जहाँ एक साधारण साइबर हमलाले पनि ठूलो युद्धको सुरुआत गर्न सक्छ।
नेपालले अपनाउने सुरक्षा सतर्कता
विश्वव्यापी हतियारको होडबाजीलाई मध्यनजर गर्दै नेपाल जस्तो सानो र शान्त देशले विशेष सुरक्षा सतर्कता अपनाउनु आवश्यक छ। यस सन्दर्भमा, नेपाल सरकारले सबैभन्दा पहिले कूटनीतिक सक्रियतालाई बढावा दिनुपर्छ। दुई ठूला छिमेकी भारत र चीनसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै, नेपालले कुनै पनि सैन्य गुटमा संलग्न नहुने आफ्नो तटस्थ विदेश नीतिलाई दृढतापूर्वक पालना गर्नुपर्छ।
हतियार खरिदमा अनावश्यक खर्च गर्नुको सट्टा, सरकारले राष्ट्रिय विकास, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरूमा लगानी केन्द्रित गर्नुपर्छ। यसका लागि नेपालले संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय शान्तिवादी मञ्चहरूमा शान्तिको पक्षमा आवाज उठाउनुपर्छ र विश्वका अन्य साना राष्ट्रहरूसँग मिलेर एक शान्तिपूर्ण मोर्चा निर्माण गर्न पहल गर्नुपर्छ।
नेपाली सेनाले आफ्नो क्षमता अभिवृद्धि गर्दा आक्रामक हतियारको सट्टा राष्ट्रिय सुरक्षा र विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणहरूमा ध्यान दिनुपर्छ। सेनाले सीमा सुरक्षा, प्राकृतिक प्रकोपमा उद्धार र आन्तरिक सुरक्षा व्यवस्थापनमा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि र तालिममा लगानी गर्नुपर्छ।
अन्त्यमा, आम सर्वसाधारण जनताले राष्ट्रिय एकता र सार्वभौमिकताको रक्षाका लागि एकजुट हुनुपर्छ। विदेशी प्रभाव र राजनीतीकरणको जोखिमबाट जोगिन, जनताले राष्ट्रिय हितलाई सर्वोपरि राखी शान्तिपूर्ण सहअस्तित्वको भावनालाई प्रवर्धन गर्नुपर्छ। यी कदमहरूले मात्र नेपालले विश्वव्यापी हतियारको दौडबाट उत्पन्न हुने सम्भावित जोखिमहरूबाट आफूलाई सुरक्षित राख्न सक्छ र विश्व समुदायमा शान्तिपूर्ण राष्ट्रको रूपमा आफ्नो पहिचान कायम गर्न सक्छ।
निष्कर्ष: शान्तिको मार्ग वा अनिश्चित भविष्य ?
हतियारको अनियन्त्रित दौड विश्वव्यापी सुरक्षाको लागि एक गम्भीर खतरा हो। यसले केवल युद्धको जोखिम बढाउँदैन, राष्ट्रहरूलाई दिगो विकास र जनताको कल्याणमा ध्यान केन्द्रित गर्नबाट पनि रोक्छ। हतियारको कारोबारमा हुने ठूलो लगानीले विश्वका स्रोत र साधनको दुरुपयोग भएको छ र यसले मानव जातिलाई विनाशको बाटोमा धकेलिरहेको छ।
यो अवस्थाबाट बाहिर निस्कन अन्तर्राष्ट्रिय समुदायले हतियारको उत्पादन र बिक्रीलाई नियन्त्रण गर्नका लागि कडा नियम र सन्धिहरू बनाउनु अत्यावश्यक छ। यसका लागि संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ। हतियारमाथिको निर्भरता घटाउँदै कूटनीति, संवाद र शान्तिपूर्ण समाधानका उपायहरूलाई प्राथमिकता दिनु नै यस समस्याको एक मात्र समाधान हो।
विश्वले अब हतियारको होडमा लाग्नुको सट्टा एक–अर्कासँगको सहकार्य र समझदारी बढाउनुपर्छ, किनभने केवल हतियारले मात्र कुनै पनि राष्ट्रलाई सुरक्षित बनाउन सक्दैन। के हामी हाम्रो भविष्यलाई युद्धको कालो बादलबाट जोगाउन सक्छौं? यो प्रश्नको उत्तर हामी सबैले मिलेर खोज्नुपर्ने भएको छ।
(अम्गाई नेपाली सेनाका अवकाशप्राप्त सेनानी हुन्।)
प्रतिक्रिया 4