+
+
Shares

लुत्ते झार, बेल्लौरी, पानीसरो र साउने सङ्क्रान्ति

समय फेरियो। गाउँका दौतरी बिस्तारै सहर पसे। हामी पछिका भाइबहिनी विदेशिए। सङ्क्रान्तिको रमाइलो पनि बिलाउँदै गयो।

सुशीलचन्द्र अधिकारी सुशीलचन्द्र अधिकारी
२०८२ साउन १ गते १७:२४

बिहानको सिमसिमे पानी । तल्लो पाखासम्म पूरै कुहिरो । असारको माचोले अभैm छोडेको छैन । मेलो घर नजिकतिर । बिहानी काम गाईबस्तुका लागि घाँसपातको जोहो । अलिअलि बन्सोको घाँस र मकैको ढोड मिसाएर भारी पुर्‍यायो । सिमसिमे पानीले घाँसको भारी बोक्दा ढाड पूरै निथ्रुक्कै भिज्थ्यो । घाँसको भारी टाट्नुमा बिसायो । लैनो भैसीको मोही र आलो मकैको भात स्वादिलोसँग खायो ।

साउने सङ्क्रान्ति आउन तीन–चार दिन मात्र बाँकी हुन्थ्यो । खेतीपातीको मुख्य सिजन भएकाले असार–साउनमा स्कुल बिदा हुन्थ्यो । केटाकेटीको दिउँसो गोठालो, गाईबाख्रा चराउने काम हुन्थ्यो । अलि समथर भएकाले गाईलाई पिपलडाँडातिर र बाख्रा गुफाभिरतर्फ चराइन्थयो । कान्ले, कुचिबिरौटा, माने, भिरकुनामा तितेपातीको घारी बाक्लै हुन्थ्यो ।

पातीका सिठा सजिलै पाइने । सिठा भाँच्यो । सिरुको जरासहितको बन्धन बाटेर मुठा बाँध्यो । अगाडि गाई बाख्रा अगाडि लागएर पातीका सिठासहित भारी पनि ल्याइन्थ्यो ।
तीन–चार दिनको तयारीले आठ–दश मुठा पातीका सिठा जम्मा हुन्थ्यो । जतनले ओभानो ठाउँमा राख्यो । साउने सङ्क्रान्ति, लुत्तो फाल्ने सामग्री तयार गर्ने काम पनि केटाकेटीहरूको । सहकार्य र प्रतिस्पर्धा पनि ।

बेल्लौरी, पानीसरो, गुह्येसरो अलि भिरमा हुने । गुफाभिरको चुच्चेढुङ्गो वरपर प्रशस्त पाइने । वर्खाको पानीले लेउ लागेका पहरो चढ्दा खुट्टा चिप्लने डर । होसियारपूर्वक ब्ट्यानमा समातेर जीउ हल्का बनाएर पहरो चढ्यो । बेल्लौरी, पानीसरो, गुह्येसरो जोले चाहिने भएको होसियारीपूर्वक उखालियो । सबैलाई भाग लगाएर डियाबाख्रासहित घर फर्कियो ।

राँकोमा बलेको दाउरा अगुल्टोलाई चार दिशा फाल्ने प्रचलन थियो । यस क्रममा हातमा अगुल्टो लिएर राइनासकोटको फेदीमा रहेको साउराबासतिर फर्केर लुतोपुतो लैजा है भनेर फालियो ।

लुते झारचाहिँ जहाँतहाँ पाइने । झार उखेलेर साना मुठा बनाएर त्यसलाई जोले बनायो । कुरिलो, कुकुरडाइनोको बोट नयाँघर मात्रै । नयाँघर ठुलीआमाले बडो जतनका साथ हुर्काएको । साउने सङ्क्रान्तिका दिन गाउँका सबैले त्यहीँबाट लाने ।

घरमा बेलौती, सुन्तला र निबुवाको बोट भएकाले त्यहीँबाट टिप्यो । आरुको बोट नभएकाले माथि गाउँमा लाहुरेबाको घरबाट ल्याउने । बारीबाट दुई घोगा एउटै बोटमा फलेको मकै बोट पनि ल्याइयो । दिनभरको मेहनतबाट लुत्ते सामग्री तयार भयो ।

असारमा धेरैजसोको मेलो मैजारो भए पनि साउनको पहिलो हप्तासम्म पाखे खेतमा रोपाईं चलिरहेको हुन्थ्यो । हाम्रो मेलो घरबारीमा थियो । चाँडै सकियो ।खुन्द्रुकाको कुवाको पानी असाध्यै मिठो । जाडोमा तातो र गर्मीमा चिसो हुने यसको मुख्य विशेषता । जेठदेखि फागुनसम्म पाइप लगाएर घरसम्मै पानी आउने । दिनभरिको हिलोमैले त्यही धारामा पखाल्ने ।

साँझ हल्का छिप्पियो । साउने सङ्कान्ति पूजाको तयारी भयो । सबैका घरमा आँगनको डिलमा लुत्ते सामग्रीसहित पुजाको सामग्री राखेर पूजा गर्ने चलन । पुजाको विधि पूरा गरी पातीका सिठा बालियो । बोटसहितको मकै पोल्न त्यहीँ हालियो ।

राँकोमा बलेको दाउरा अगुल्टोलाई चार दिशा फाल्ने प्रचलन थियो । यस क्रममा हातमा अगुल्टो लिएर राइनासकोटको फेदीमा रहेको साउराबासतिर फर्केर लुतोपुतो लैजा है भनेर फालियो । यसै गरी सिउँघारीतिर, माथिल्लो गाउँतिर चारै दिशामा अगुल्टो फालियो ।

गुचमुच्च रहेका सिउँघारी गुरुङबस्ती । सबै घरमा टिनको छाना । साउने सक्रान्तिको राँको बल्दा वारिबाट देखिने उज्यालो निकै मनमोह हुन्थ्यो । यसैगरी रागिनास, झाँगरे, विग्रह, कुडुलेलगायत स्थानमा हेर्दा निकै रमाइलो । एकआपसमा सबैले विपरीत दिशा बस्तीलाई सङ्केत गरेर लुत्तो फाल्दा भटभटाउने चलन । केटाकेटीमा कसको घरमा राँको ठुलो हुने अस्वस्थ प्रतिस्पर्धा ।

यता, भीरकुनामा सुकेका पाती सिठा त्यसै ठडिएका छन् । गुफा भीरका बेल्लौरी, पानीसरोका नयाँ मुना पलाउँदै र छिप्पिंदै छन् । हरेक साउने सङ्क्रान्तिमा लुत्तो फाल्दा गुञ्जने आवाज सुन्न भीरपाखा पर्खिरहेका छन् ।

बर्खामा हिलो मैलोमा काम गर्दा हात खुट्टा चिलाउने, लुत्तो खटिरा आउने भएकाले लुत्तो फालेपछि सञ्चो हुने जनविश्वास थियो । एउटा उखान प्रचलनमा छ माघे सक्रान्तिमा ‘बर्खा लाग्यो भाइ हो मरिन्छ कि बाँचिन्छ’ अनि साउने सक्रान्तिमा ‘हिउँद लाग्यो भाइ हो अब त बाँचियो’ भने खुसीयालीमा रमाइलो गरेर मनाउने चलन छ । साउनपछि खेतीपातीको काम बिस्तारै कम हुँदै जान्छ । साउने सक्रान्तिपछि चाडपर्व मेचो पनि सुरु हुन थालेको संकेत पनि हो ।

घरमा तिउरे थियो । मकरकाँचीचाहिँ बान्नामुनिको खेतमा रहेको पर्खालमुनितिर धेरै पाउने । तिउरे, मकरकाँची, परेवाको बिष्टो, अमिलो हालेर बेसरी कुटेर बनाएको । बहिनी मेनका, पल्लाघरकी कल्पना, मसिनी सबै मिलेर तयार गर्थे । सुत्ने बेलामा हातमा लगाएर कर्कलाको पातले बाँधेर बाहिर कपडा बेरेर सुतियो ।

भोलिपल्ट बिहान हेर्दा हात पहेलै । त्यो समय, कति रमाइलो । अहिले सबै इतिहास बने ।समय फेरियो । गाउँका हाम्रा दौतरी बिस्तारै सहर पसे । हामी पछिका भाइबहिनी विदेश पलायन भए । नयाँ पुस्ता अत्यन्तै कम छन् गाउँमा । तिनले धानेका छन् अलिअलि ।

साउने सक्रान्तिमा बाल्ने राँकोको उज्यालो बिजुलीले ओझेल पारेछ । भीरकुनामा सुकेका पाती सिठा त्यसै ठडिएका छन् । गुफा भीरका बेल्लौरी, पानीसरोका नयाँ मुना पलाउँदै छिप्पिंदै गए । हरेक साउने सङ्क्रान्तिमा लुत्तो फाल्दा गुञ्जने आवाज सुन्न भीरपाखा पर्खिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?