News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि साउन २ गते अक्सन कार्यक्रम सुरु हुनेछ।
- छ वटा फ्रेन्चाइज टोलीहरूले ६८ खेलाडीलाई ए, बी र सी तीन क्याटेगोरीमा विभाजन गरी अक्सनमार्फत खेलाडी छनोट गर्नेछन्।
- आयोजकले अक्सन प्रणालीले नेपाली महिला भलिबलमा व्यवसायिकता र प्रतिस्पर्धाको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेका छन्।
१ साउन, काठमाडौं । ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि अक्सनको सम्पूर्ण तयारी पूरा भएको छ। ऐतिहासिक अक्सन कार्यक्रम साउन २ गते दिउँसो ३ बजे सोल्टी होटलमा सुरु हुनेछ।
गत वर्ष सफलतापूर्वक पहिलो संस्करण आयोजना भएको महिलाको फ्रेन्चाइज भलिबल लिगको निरन्तरता स्वरूप दोस्रो संस्करण भदौ २० देखि हुने तयारी भइरहेको छ।
यसपटकको विशेष आकर्षण भनेको पहिलोपटक हुने खेलाडी अक्सन प्रणाली हो। अक्सनमार्फत ६ फ्रेन्चाइज टोलीहरूले मनपर्ने खेलाडीका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजकले यो प्रणालीले नेपाली महिला भलिबललाई नयाँ स्तरमा पुर्याउने विश्वास व्यक्त गरेको छ।
यस संस्करणमा कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकरस्, मधेश युनाइटेड, पोखरा निन्जाज र लुम्बिनी लावा बीच प्रतिस्पर्धा हुनेछ। अक्सनका लागि कुल ६८ खेलाडी सूचीमा छन्, जसलाई ए, बी र सी तीन क्याटेगोरीमा विभाजन गरिएको छ।
हरेक टिमले अनिवार्य रूपमा क्याटेगोरी ए बाट १, क्याटेगोरी बी बाट ३ र क्याटेगोरी सी बाट ३ खेलाडी लिनुपर्नेछ। क्याटेगोरी ए मा १३ खेलाडी छन्, जसबाट टिमहरूले पहिले नै मार्की खेलाडी छनोट गरिसकेका छन्, त्यसपछि बाँकी ७ खेलाडी अक्सनमा उपलब्ध हुनेछन्। क्याटेगोरी बी मा ४३ खेलाडी र सी मा १८ खेलाडी छन्।
अक्सनमा यदि कुनै खेलाडी अनसोल्ड भए भने उनीहरूलाई क्रमशः तल्लो क्याटेगोरीमा सार्ने प्रावधान राखिएको छ। आयोजकको अनुसार, यो अक्सनले नेपाली महिला भलिबलमा व्यवसायिकता र प्रतिस्पर्धाको नयाँ अध्याय सुरु गर्नेछ।
प्रतिक्रिया 4