
३ साउन, काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बैठकमा नेताहरूले आफ्नो दृष्टिकोण भरपूर रुपमा स्वतन्त्र भएर राख्नुभएको दाबी उनले गरे ।
पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही नेताहरुलाई कारबाही गरेपनि आत्मालोचनापछि पार्टीमा फर्किसकेको उनले बताए ।
‘बैठकमा सदस्यहरुले आफ्नो दृष्टिकोण भरपूर रुपमा स्वतन्त्र भएर राख्नुभएको छ । त्यहाँ कुनै बन्देज छैन । विगतका कतिपय एक दुई वटा घटनाहरुमा पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही साथीहरु पार्टी भन्दा बाहिर रहनु पनि भयो,’ उनले भने ।
बैठकमा कुनै सदस्यहरुको बीचमा कुनै भनाभन नभएको पनि दाबी गर्दै उनले प्रस्तावित पार्टी विधानमा तीन जना उपाध्यक्ष रहने र वरिष्ठ उपाध्यक्ष नराख्ने प्रस्ताव रहेको बताए ।
‘केही साथीहरु आत्मालोचना गरिसकेपछि पार्टीले पुन: स्वीकार गरिसकेको छ । अमुक केही घटनाहरूलाई लिएर एमालेभित्र अब वाक स्वतन्त्रता, पार्टीमा दृष्टिकोण राख्ने कुरैमा बन्देज छ भन्नेकुरा बाहिर जुन चर्चा भएको छ, त्यो सत्यता होइन,’ उनले भने, ‘एमालेको बैठकमा कुनै सदस्यहरूको बीचमा कुनै भनाभन भएको छैन । हामी सौहाद्रपूर्ण रुपमा दृष्टिकोण राखिरहेका छौँ । उपाध्यक्ष तीन मात्रै रहने प्रश्ताव छ, वरिष्ठ उपाध्यक्ष रहने प्रस्ताव छैन ।’
नेता तामाङले उमेर हद क्रियाशिलतामा आधारित हुने भएकाले उमेर पुग्नसाथ उसको क्रियाशिल कम हुने भन्ने नरहेको पनि जिकिर गरे ।
प्रतिक्रिया 4