+

आईसीसीको वार्षिक सम्मेलनमा पारसको प्रस्तुति : नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने छ

२०८२ साउन  ४ गते ११:४१ २०८२ साउन ४ गते ११:४१
आईसीसीको वार्षिक सम्मेलनमा पारसको प्रस्तुति : नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पारस खड्काले आईसीसी वार्षिक सम्मेलनमा नेपालको क्रिकेट यात्रा र भविष्यको दृष्टि प्रस्तुत गरे।
  • उनले नेपाल प्रिमियर लिगको सफलतादेखि महिला क्रिकेटको प्राथमिकता र टेस्ट राष्ट्र बन्ने महत्वाकांक्षा उल्लेख गरे।
  • पारसले सरकारको सहयोग र आगामी दशकको योजनासहित नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने प्रतिबद्धता व्यक्त गरे।

४ साउन, काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाली क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा नेपालको क्रिकेट यात्रा र भविष्यको दृष्टि प्रस्तुत गरेका छन्।

उनले एनपीएलको सफलतादेखि महिला क्रिकेटको प्राथमिकता, संरचनागत सुधार र टेस्ट राष्ट्र बन्ने महत्वाकांक्षा सम्मका विषयमा आफ्ना विचार राखेका थिए । यसबारेमा उनले सामाजिक सञ्जालमा पनि लेख्दै नेपाल अब ठुलो स्टेजका लागि तयार भएको दाबी गरे ।

नेपाल क्रिकेटको इतिहास स्मरण गर्दै पारसले भने, ‘मैले करिब दुई दशक नेपाली टोलीलाई डिभिजन फाइभबाट लिएर ओडीआई राष्ट्रसम्म पुर्‍याएँ। अहिले हामी जहाँ आइपुगेका छौं, त्यो अविश्वसनीय छ। हाम्रो यात्रा रोकिँदैन, तर योजनाबद्धरूपमा अघि बढ्नु जरुरी छ।’

उनले पछिल्लो वर्ष आयोजना गरिएको नेपाल प्रिमियर लिग (एनपीएल) लाई नेपाली क्रिकेटको रूपान्तरणकारी क्षणका रूपमा वर्णन गर्दै भने, ‘एनपीएल केवल नेपालभित्र सीमित रहेन, यसले अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिच्यो। आठ फ्रेन्चाइज स्थानीय लगानीकर्ताले सञ्चालन गरे, शिखर धवन र जिमी नीशमजस्ता स्टार खेलाडी आए। ब्रायन लाराजस्ता महान व्यक्तित्व नेपाल आए। जिमी नीशमले आफ्नो पहिलो फ्रेन्चाइज टाइटल नेपालमै जिते।’

पारसले एनपीएलको ट्रफीमा माउण्ट एभरेस्टको ढुंगा राखिएको प्रसंग उल्लेख गर्दै भने, ‘हामीले विश्वलाई सन्देश दिन खोज्यौं कि जलवायु परिवर्तन गम्भीर समस्या हो र नेपाल त्यसको केन्द्रमा छ। क्रिकेटमार्फत पनि यस्तो सन्देश फैलाउन सकिन्छ।’

अन्तर्राष्ट्रिय स्तरमा नेपालले पछिल्ला वर्षमा हासिल गरेका उपलब्धिहरू पनि पारसको भाषणमा प्रमुख विषय बने। उनले भने, ‘हामीले दुईवटा विश्वकप खेलेका छौं, एसिया कप खेल्यौं, सन् २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले मात्र हार्‍यौं। डलासमा ८ हजार नेपाली दर्शक उपस्थित थिए, जसले हाम्रो शक्ति देखायो।’

महिला क्रिकेटबारे पारसले पनि स्पष्ट दृष्टि प्रस्तुत गर्दै उनले भने, ‘पूर्ण सदस्य बन्नका लागि महिला क्रिकेट महत्वपूर्ण हो। यसलाई हामीले प्राथमिकतामा राखेका छौं। पहिलो पटक ग्लोबल क्वालिफायरमा पुगेका छौं। अब पछाडि फर्कने कुरा छैन।’

सरकारको सहयोगबारे उनले थपे, ‘सरकारले पहिलो पटक खेलकुद बजेट दोब्बर बनाएको छ। पहिलो अन्तर्राष्ट्रिय स्तरको फ्लडलाइटसहितको स्टेडियम बन्ने तयारी भइरहेको छ। हामीले घरेलु क्रिकेटमा रेड बल फर्म्याट सुरु गरिसकेका छौं। फ्रेन्चाइज क्रिकेटले पैसा ल्याउँछ, तर टेस्ट क्रिकेटतर्फ पनि ध्यान दिन जरुरी छ।’

भविष्यको लक्ष्यबारे पारसले भने, ‘हामीसँग फ्यान छन्, सरकार र आईसीसीको समर्थन छ। हामी वेस्ट इन्डिजसँग पहिलोपटक सिरिज खेल्दैछौं। नेपाल छिट्टै टेस्ट राष्ट्र बन्नेछ—यो हाम्रो सपना मात्र होइन, हाम्रो प्रतिबद्धता हो।”

पारस खड्काको यो सम्बोधन आईसीसी सम्मेलनमा सहभागी क्रिकेट महासंघ र विज्ञबीच निकै प्रभावशाली बनेको बताइएको छ। उनले नेपालको क्रिकेट उपलब्धि मात्र होइन, आगामी दशकको स्पष्ट योजना र दृष्टि पनि प्रस्तुत गरे, जसले नेपाल क्रिकेटलाई विश्वमञ्चमा अझ ठुलो प्रभाव पार्ने संकेत गरेको छ।

आईसीसी पारस खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय