+
+
Shares

एमाले टोली नेता बनेर चीन पुगेकी विद्याको सदस्यताबारे २ महिनापछि बखेडा !

भण्डारी स्वयंले आफ्नो सदस्यताको स्थितिबारे १४ असार र आज गरी दुईपल्ट दोहोर्‍याएर बोलेको, अनि चीन जाँदा एमाले नेताकै तर्फबाट प्रतिनिधित्व गरिसकेको अवस्थामा च्यासलमा नेताहरुले दिएको अभिव्यक्ति विवादमा परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते २२:००
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच गत जेठमा चीनको गान्सुमा भएको भेटवार्ता ।

४ साउन, काठमाडौं । पूर्व राष्ट्रपति विद्या भण्डारी भण्डारी पार्टी राजनीतिमा फर्कन हुन्छ कि हुँदैन भन्ने तर्क–वितर्क अन्यत्र जारी रहे पनि स्वयं नेकपा एमालेका लागि भने यो बहस पुरानो भइसक्यो ।

भण्डारीले पोहोर २०८१ जेठमै पार्टी सदस्यता नवीकरण गरिसक्दा एमालेमा कुनै पनि नेताले यसलाई बहसयोग्य सम्झेनन् । अनि एमालेकै भ्रमणमण्डलको नेताका रूपमा भण्डारीले गत जेठ दोस्रो साता उत्तरी छिमेकी चीन पुगेर आउँदासम्म पनि पार्टीभित्र बहसको विषय बनेन ।

गत १२ जेठमा बेइजिङमा बोल्दै विद्या भण्डारीले मदन भण्डारीका सपनादेखि केपी ओली नेतृत्वमा अघि बढेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चर्चा मात्रै गरिनन् उनले एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीच दशकौंदेखि जारी भाइचारालाई नयाँ उचाइमा कसरी वृद्धि गर्ने भन्नेबारे लामै बोलिन् ।

चीन भ्रमणको तेस्रो दिन पूर्व राष्ट्रपति भण्डारीलाई बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्याशाओले स्वागत गरेका थिए ।

आईडीसीपीसी अर्थात् कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले डाकेका सबै पाहुना सीपीसीसँग भाइचारा सम्बन्ध भएका दक्षिण एसिया, पूर्वी एसिया, पूर्वी मध्य एसिया, उत्तरपूर्वी एसियाका पार्टीहरु थिए । भण्डारी त्यहाँ एमाले नेताकै रुपमा सहभागी थिइन् । मन्त्री दामोदर भण्डारी सहितका एमाले नेताहरु उनीसँग सहभागी थिए ।

२२ मिनेटको मन्तव्यमा भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको एजेन्डा सफल पार्न चीन, सीपीसी र चिनियाँ जनताले सघाइरहेको भन्दै सराहना गरिन् । दुई पार्टीबीचको सम्बन्ध अझै अगाडि बढ्ने भण्डारीको मन्तव्यमा एमाले नेताकै भूमिका प्रस्तुत थियो ।

भण्डारीलाई दक्षिणी छिमेकी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले पनि एमाले नेताकै रुपमा निमन्त्रणा पठाइसकेको छ । उनी जाने, नजाने वा कहिले कसरी जाने भन्ने चाहिं निश्चित छैन ।

केही दिनअघि कांग्रेस नेता शेखर कोइरालाले उनलाई भेट्दा एमालेकै शीर्षस्थ नेताका रुपमा कुरा गरेका छन्, जहाँ आइन्दा दिनका राजनीतिक सम्भावनाबारे कुराकानी भएका छन् ।

पोहोर कात्तिकमा अनलाइनखबरसँग कुरा गर्दै भण्डारीले आफू एमालेमा अध्यक्ष बन्ने सम्भावना जीवितै रहेको दाबी गर्ने बेलासम्म उनको सदस्यता नवीकरण भइसकेको थियो ।

त्यसैको पुनरुक्ति गर्दै उनले गत १४ असार, अर्थात् मदन भण्डारीको जन्मजयन्तीका दिन आयोजित समारोहमा समेत आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी थिइन् ।

एमाले महासचिव शंकर पोखरेलले समेत भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको भनी केही दिनअघि बोलेका थिए, जसबारे आज च्यासल मुख्यालयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत पुन:पुष्टि गर्दै मुख खोले ।

र, सबैभन्दा मुख्य कुरा– प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग च्यासलमा आज आइतबार झन्डै दुई घन्टा कुरा गरिसकेपछि भण्डारी आफैंले सदस्यता नवीकरण भइसकेको दोहोर्‍याइन् ।

तर एमालेभित्र केही नेताहरुले भण्डारीको पार्टी सदस्यता पेन्डिङमा रहेको दाबी गरेका छन् ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पोलिटब्युरो बैठकपछि प्रेससँग बोल्दै शनिबार यस्तो दाबी गरेका थिए ।  पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा गौतमले भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने बताए ।

‘अहिले नवीकरण पेन्डिङ अवस्थामा छ । धारा ८ र ९ आकर्षित भयो भनेपछि त्यो जहाँ छ, स्थगन अवस्थामा छ भन्ने बुझिन्छ’, उनले भनेका थिए । भण्डारीले राष्ट्रपति हुनलाई पार्टी सदस्यता त्यागेकाले नवीकरणबारे आवश्यक निर्णय गर्नुपर्ने गौतमले बताएका थिए ।

 गौतम मात्रै नभई एमालेका अध्यक्ष ओली निकट केही नेताहरुले भण्डारीको सदस्यता गत वर्ष नवीकृत भए पनि यस वर्ष विचाराधीन अवस्थामा रहेको दाबी गरेका छन् ।

भण्डारी स्वयंले आफ्नो सदस्यताको स्थितिबारे १४ असार र आज गरी दुईपल्ट दोहोर्‍याएर बोलेको, अनि चीन जाँदा एमाले नेताकै तर्फबाट प्रतिनिधित्व गरिसकेको अवस्थामा च्यासलमा नेताहरुले दिएको अभिव्यक्ति विवादमा परेको हो ।

सम्भवत: अध्यक्ष ओली आफैंले यसबारे धारणा दिने सम्भावना रहेको एमाले स्रोत बताउँछ ।

एमाले सचिव योगेश भट्टराईले भने यो विन्दुमा आएर सदस्यताको विवाद झिक्नु प्राविधिक प्रश्नमात्रै भएको बताएका छन् । अनलाइनखबरसँग आज दिउँसो कुरा गर्दै भट्टराईले पार्टी राजनीतिमा भण्डारी सक्रिय हुने भए सदस्यता मात्रैको विवादले अर्थ नराख्ने राय समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?