+
+
Shares

चौकीदार नियुक्तिविरुद्ध कास्की कारागारमा लफडा

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको समितिले ३ जनाको नाम सिफारिस गरिएकोमा अजयको नाम छनोट गरेर विभागले पठाएको जेलर राजेन्द्र शर्माले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १९:४९

४ साउन, पोखरा । जिल्ला कारागार कास्कीमा चौकीदार विरुद्ध लफडा भएको छ । कास्कीबाट ३ जनाको नाम सिफारिस भएकोमा अजय गुरुङलाई कारागार विभागले चौकीदार नियुक्त गरेर पठाएको थियो ।

चौकीदारमा प्रकाश गुरुङ र प्रशान्त थापाको पनि नाम सिफारिस भएको थियो । कास्की कारागारमा ३ वटा ब्लक छन् । त्योमध्ये ‘क’ ब्लकको चौकीदार नियुक्तिप्रति असहमति जनाउँदै कैदीहरुले लफडा गरेका हुन् । कैदीहरुले प्रकाश गुरुङ चौकीदार हुनुपर्ने माग राखेका छन् ।

उनीहरुले चौकीदार नियुक्तिप्रति असहमति जनाउँदै नाराबाजी गरिरहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको समितिले ३ जनाको नाम सिफारिस गरिएकोमा अजयको नाम छनोट गरेर विभागले पठाएको जेलर राजेन्द्र शर्माले जानकारी दिए ।

कास्की पोखरा खहरेका अजय कर्तव्य ज्यान मुद्दामा ७ वर्ष अगाडि कारागार चलान भएका थिए भने पोखरा लेखनाथका प्रकाश १० वर्षअघि कर्तव्य ज्यान मुद्धामै कारागार चलान भएका थिए ।

विभागले असार अन्तिमसम्मलाई चौकीदार नियुक्तीका लागि सिफारिस गर्ने समयसीमा दिएको थियो । सिफारिसकै आधारमा ३ जनामध्येबाट अजयको नाम छनोट गरेर पठाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

चौकीदारले कारागार व्यवस्थापनमा सघाउने कार्यविधिमा उल्लेख छ । चौकीदार नियुक्तीका लागि मापदण्डसमेत बनाइएको छ ।

चौकीदार नियुक्तिका २५ वर्ष पूरा भइ ६० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने, नाइके भएर काम गरिसकेको, शारीरिक तथा मानसिक हिसाबले स्वास्थ रहेको लेखपथ गर्न सक्ने, यसअघि चौकीदार नभएको, कम्तीमा एक वर्ष कैद भुक्तान गर्न बाँकी रहेकोलगायत मापदण्ड विभागले तोकेर पठाएको थियो ।

हरेक वर्ष साउनमा चौकीदार नाइके नियुक्ति गरिने गरिएको छ । चौकीदार नियुक्तिमै विभिन्न स्वार्थ देखिने गरेको आरोपसमेत लाग्ने गरेको थियो । त्यसैले पनि समितिले मापदण्ड पुगेका ३ जनाको नाम सिफारिस गर्ने र विभागले नियुक्त गरेर पठाउने सहायक सिडिओ लम्सालले जानकारी दिए ।

चौकीदारलाई सजायमा छुट हुने, कारागारको बाहिरी घेरासम्म पहुँच हुने, रासन वितरणदेखि कैदीको अनुशासन, अभिलेखको मूल्यांकन गर्नेसम्मको जिम्मेवारी दिइएको हुन्छ । चौकीदारका कारण मूल्यांकनमासमेत प्रभाव पर्ने भएकाले र कतिपय अवस्थामा आफूले भनेअनुसार पनि हुने भएकाले कैदीहरुले विभागको छनोटप्रति असहमति जनाउँदै नाराबाजी गरेका हुन् ।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार अहिले कारागारमा सुरक्षा व्यवस्था कडा पारिएको र स्थिति कन्ट्रोल बाहिर नरहेको बताए । कास्की कारागारमा ८ सय ८० जनाको हाराहारीमा कैदी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?