
News Summary
Generated by OK AI. Editorially reviewed.- साउन र भदौ महिनामा सेयर बजारले नयाँ रेकर्ड बनाउने इतिहास छ र यो वर्ष पनि गत वर्षको कारोबार रेकर्ड तोडिने सम्भावना छ।
- गत वर्ष साउन महिनामा पूँजीगत लाभकर ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ संकलन भएको थियो, जुन रेकर्ड मानिन्छ।
- नेप्से परिसूचक हाल २८७० अंकमा छ र २०७८ भदौ २ को ३१९८ अंकको रेकर्ड तोडिने चर्चा बजारमा उत्साह थपेको छ।
५ साउन, काठमाडौं । साउन र भदौ सेयर बजारमा ‘सिजनल’ महिनाका रुपमा चिनिन्छ । यी महिनामा विभिन्न नयाँ नयाँ रेकर्ड बनेको इतिहास छ ।
गत वर्षको साउन ३२ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको रेकर्ड छ । आइतबार उक्त रकम नजिक पुग्यो, २१ अर्ब ४६ करोडको कारोबार भयो । साउन तथा भदौका अरु धेरै दिन बाँकी छन् । सम्भवतः गत वर्षको कारोबार रेकर्ड यो वर्ष तोडिन सक्नेछ ।
त्यस्तै मासिक रुपमा सरकारले सेयर बजारबाट पाउने पूँजीगत लाभकरमा पनि गत वर्षको साउन महिनामा रेकर्ड बन्यो । गत वर्षको साउन महिनामा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको रेकर्ड बनेको छ ।
बजारको पूँजीकरण (सम्पूर्ण सेयरको कुल बजार मूल्य) गत १८ फागुनमा हालसम्मकै उच्च ४७ खर्ब ९९ अर्बको रेकर्ड छ । आइतबार सो रेकर्डनजिक अर्थात् ४७ खर्ब ८७ अर्ब पुगेको छ । बजारको पूँजीकरणमा पनि सम्भवत एक/दुई दिनमै नयाँ रेकर्ड बन्नेछ ।
बजारको पूँजीकरण र कारोबार रकमभन्दा पनि लगानीकर्ताका लागि चासोको विषय नेप्से परिसूचकसँग छ । आइतबार नेप्से परिसूचक २८७० अंकमा छ, यो अंक गत १८ फागुनयताकै उच्च हो । सो दिन नेप्से २८९० अंकमा थियो ।
गत वर्ष साउन ३० गते नेप्से परिसूचक ३ हजार अंक पुग्यो, त्यतिबेला २०७८ भदौ २ को रेकर्ड तोडिने विषय हल्लामै सीमित रह्यो । २ भदौ २०७८ मा नेप्सेले हालसम्मकै उच्चतम ३१९८ अंकको रेकर्ड बनाएको छ । त्यो रेकर्ड यो पटक तोडिने चर्चाले फेरि बजार तातेको छ ।
साउन, भदौमै नेप्सेले नयाँ रेकर्ड बनाएको इतिहासकै कारण पनि लगानीकर्तामा यो बेला उत्साह थपिने गरेको जानकार बताउँछन् ।
साउन र भदौमै बजारले नयाँ रेकर्ड बनाउनुका पछाडि केही कारण छन् । ‘साउनमा कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउने र सोअनुसार लाभांश अनुमान गर्न सकिन्छ’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट भन्छन् ‘कम्पनीले वर्षभरि कमाएको लाभांश केही महिनामै पाइने भएकाले साउन, भदौमा प्राय नयाँ रेकर्ड बनेको इतिहास छ ।’
बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त कम्पनीहरुले साउन १५ भित्र अपरिस्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै आएका थिए । तर हाल राष्ट्र बैंकले यो समयसीमा बढाएर साउन मसान्त तोकिदिएको छ । यसले गर्दा यो पटक बैंक तथा वित्तीय संस्थाको वार्षिक अपरिस्कृत वित्तीय विवरण साउन मसान्तसम्म मात्रै सार्वजनिक हुनेछ ।
त्यस्तै मौद्रिक नीतिले पनि साउनलाई प्रभाव पार्ने गरेको रानाभाट बताउँछन् । ‘मौद्रिक नीति राम्रो आउँदा थप उत्साह बढ्ने र नराम्रो आउँदा त्यसपछि ओरालो यात्रा सुरु हुने गरेको देखिन्छ’ उनले भने ।
यो पटक मौद्रिक नीति बजारअनुकूल आएको छ । अर्कोतर्फ वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम छ, ब्याजदर तल्लो विन्दुमा झरेको छ । जसले बजारमा नयाँ रेकर्ड बन्ने आधारहरु प्रष्ट देखिएका छन् ।
साउन महिना बैंकहरुमा तरलता बढ्ने बेला पनि हो । यसले पनि बजार बढ्नलाई सहयोग पुग्ने गरेको जानकार बताउँछन् । ‘असार महिनामा पूँजीगत खर्च पर्याप्त हुने, यसले साउनमा अधिक तरलता हुने हुँदा पनि त्यो केही पैसा बजारमा आउने गरेको छ’ रानाभाटले भने ।
लगानीकर्ता तथा प्राविधिक जानकार सुवासचन्द्र ढुंगाना विगतमा बजारले साउन, भदौमै उच्च रेकर्ड बनाएका उदाहरण रहेकाले सकारात्मक मनोविज्ञान बसेको बताउँछन् । ‘विगतमा हेर्दा पनि प्रायः साउन, भदौमा बजारले उचाइ लिएको देखिन्छ’ उनले भने ।
बजार परिसूचक नेप्सेले २०७८ भदौ २ को रेकर्ड (३१९८ अंक) नतोडेसम्म बुलको सुरुआत भन्न नमिल्ने कतिपय लगानीकर्ताको बुझाइ छ । तर लामो अवधिको बजार ट्रेन्ड हेर्दा ‘हायर हाइ, हायर लो’ बनाउँदै गएकाले बुलको यात्रा तय गर्नेमा लगानीकर्ता ढुक्क छन् ।
सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल बजारले नयाँ रेकर्ड बनाउँदै जानेमा कुनै शंका नै नरहेको बताउँछन् ।
‘राष्ट्र बैंकका नीतिले नै बजारलाई सबैभन्दा बढी प्रभाव पार्ने हो, अहिले बजारका लागि अनुकूल नीतिहरु बनिरहेका छन्’ उनले भने ‘त्यसकारण पहिलेका सबै रेकर्ड तोडिने छन्, तर केही समय लाग्न सक्छ ।’ बुल बजार भन्दैमा सधैं बढिरहने नहुने उनको भनाइ छ ।
ब्याजदर असाध्यै न्यून विन्दुमा झरेकाले बजारतिर पैसा मोडिएको छ । यतिबेला लामो अवधिको व्यक्तिगत मुद्दती खातामा बैंकहरुले ६ प्रतिशत हाराहारीमा मात्रै ब्याज तोकेका छन् । तर कतिपय कम्पनीले लाभांश नै सो हाराहारीमा दिन सक्ने क्षमता बनाएका छन् ।
‘वर्षभरि बैंकमा राखेको मुद्दती निक्षेपमा आउने ब्याजदर बराबर त केही महिनामै कम्पनीले लाभांशका रुपमा दिँदैछन्’ ढुंगानाले भने । ठूला व्यक्तिगत कारोबारी मात्रै नभएर म्युचुअल फन्ड, संस्थागत लगानीकर्ताले पनि यतिबेला बजारमा लगानी बढाएका छन् ।
विगतमा बुल
विगतमा बजारले बुल इतिहास साउन र भदौमै कोरेको पर्याप्त रेकर्ड छन् । २०६५ भदौ १५ गते नेप्से परिसूचक ११७५ अंकको उच्चतम रेकर्ड बनायो । त्यसपछि झर्न थालेको बजार साढे ३ वर्षपछि २०६८ चैत १६ गते २९८ अंकसम्म झरेको थियो ।
चैतको अन्त्यबाट फेरि उकालो लागेको बजारले २०७३ साउन १२ गते १८८१ अंकको उच्चतम रेकर्ड बनायो । त्यसपछि फेरि बजारले ओरालो यात्रा समात्यो, साढे २ वर्षसम्म बजार ओरालो यात्रामा रह्यो र २०७५ माघ २८ गते ११२९ अंकसम्म झर्यो ।
त्यसपछिको वृद्धिदरले ठूलो रफ्तार समात्यो । साढे २ वर्षपछि २०७८ भदौ २ गते नेप्से परिसूचकले ३१९८ अंकको रेकर्ड बनायो, जुन रेकर्ड ४ वर्ष पुग्दा अहिलेसम्म कायमै छ।
प्रतिक्रिया 4