
५ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी किसानलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धि सार्वजनिक गर्दे मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गरे ।
मन्त्री अधिकारीले यो अवधिमा आफनो सोच अनुरूपका सबै काम गर्न नसके पनि आफ्नो प्रयास मुलुकको समग्र कृषि क्षेत्रको सुधार र किसानका पक्षमा रहेको बताए । यस अवधिमा आफू र मन्त्रालय मार्फत भएका निर्णयले पनि पुष्टि गरेको उनको भनाइ छ ।
‘यस अवधिमा लामो समयदेखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरण सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधि संशोधन गरिएको र यसबाट रायानिक मल आपूर्ति तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा छ,’ मन्त्री अधिकारीले भने ।
सात वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारी समायोजन अनुसार संगठन संरचनामा आवश्यक सुधार गरी १ सय २९ नयाँ दरबन्दी थप गरी संगठन सुदृढ तथा व्यवस्थापन गरिएको, बीउबिजन नियमावली २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको, कृषि तथा पशुपन्छी बीमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको जस्ता काम गरिएको मन्त्री अधिकारीले जानकारी दिए ।
त्यस्तै कृषि क्षेत्रको एकीकृत कानुनका रूपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भई मन्त्रिपरिषद् लैजाने अन्तिम तयारी रहेको, पशु कल्याण ऐनलाई पनि अन्तिम रूप दिइएको मन्त्री अधिकारीले बताए । केही वर्षदेखि थन्किएर रहेको खाद्य गुणस्तर परीक्षण गर्ने ४ वटा मोबाइल भ्यान सञ्चालनमा आएको उनको भनाइ छ ।
नेपाल कृषि अनुसन्धान परिषद् पुनर्संरचना गर्न उच्चस्तरीय कार्यदल गठन गरी काम भइरहेको, कृषिसम्बन्धी प्रविधि दर्ता, कृषि प्रविधि प्रसार एवं हस्तान्तरणको संस्थागत संरचना निर्माण गर्ने नीतिगत निर्णय गरी यसको कार्यान्वयनलाई समेत सहयोग पुग्ने उद्देश्यले नेपाल राष्ट्र बैंकमा आवश्यक पहल गरी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिमा नार्कका सिफारिस प्रविधिमा कर्जा प्रवाह सहजीकरण गर्ने व्यवस्था समावेश गरिएको मन्त्री अधिकारीले उल्लेख गरे ।
कृषिमन्त्री अधिकारीले एक वर्षमा प्राप्त प्रमुख उपलब्धि
जीवनाशक विषादीको गुणस्तर परीक्षण तथा अनुसन्धान प्रयोगशाला सञ्चालनार्थ क्वारेन्टिन केन्द्र प्रदेश सरकार, विश्वविद्यालय लगायत सरोकारवाला संस्थासँग परामर्श र समन्वय गर्ने गरी आवश्यक संरचना, मोडेल र कार्यक्रमबारे नीतिगत निर्णय भई प्रक्रिया अघि बढाइएको छ ।
दुग्ध विकास संस्थान (डीडीसी) सम्बन्धी अध्ययन गरी पुनर्संरचना एवं व्यावसायिक सुधारका लागि २३ बुँदे कार्ययोजना तथा सञ्चालन मोडालिटी तयार भएको छ । चीनमा दुग्ध पदार्थ र मासु निर्यातका लागि भन्सार सहजीकरण सम्बन्धी कार्य गरिएको छ ।
खोरेत रोगमुक्त क्षेत्र घोषणा गर्न संघीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा कोशी प्रदेशको इलाम जिल्लाका ३ क्षेत्रमा जोनिङ तथा कम्पार्टमेन्टलाइजेसन कार्य थालनी भएको छ । यसबाट पशुजन्य पदार्थ (मासु, दूध, छुर्पी, घिउ) को अन्तर्राष्ट्रिय बजार पहिचान गर्न महत्त्वपूर्ण रहने छ ।
रैथाने बाली संरक्षण ,प्रर्वद्धन एवं यसको महत्त्वको प्रचार प्रसार गर्न मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले १६ साउनलाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ ।
यसअघि हिमाली क्षेत्रको आनुवंशिक स्रोत तथा दुर्लभ हुँदै गएको याक संरक्षणका लागि ७ वैशाखलाई ‘याक दिवस’ का रूपमा मनाउने घोषण गरी पहिलो राष्ट्रिय याक दिवस मनाइएको छ ।
बीउबिजनसँग सम्बन्धित दर्ता, अनुमतिपत्र नवीकरण, प्रमाणीकरण लगायत कार्य अनलाइन मार्फत सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाइएको छ ।
रैथाने बाली संरक्षण ,प्रर्वद्धन एवं यसको महत्त्वको प्रचार प्रसार गर्न मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले १६ साउनलाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ ।
गत मंसिरदेखि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत ५ वटा पशुपन्छी रोग प्रयोगशालामा ल्याबोरेटोरी इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएका छन् ।
राष्ट्रपतिबाट विभिन्न विधामा ७ प्रदेशका १४ उत्कृष्ट किसानलाई ‘राष्ट्रिय उत्कृष्ट किसान पुरस्कार’ बाट सम्मानित गरिएको छ । यसले कृषि पेसालाई सम्मानित बनाउन एवं युवा जनशक्तिलाई कृषि उद्यमप्रति उत्प्रेरित गर्ने छ ।
त्यस्तै मन्त्रालय अन्तर्गतका निकायमा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा लामो समयदेखि रिक्त नेतृत्वदायी पदमा सबल नेतृत्व प्रदान गरिएको छ ।
चालु आर्थिक वर्षका केही प्रमुख कार्यक्रम
चालु आर्थिक वर्ष बाँदर लगायत कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम¸ बाच्छीमात्र जन्मने विर्य (सेक्स्ड सिमेन) प्रविधि लागु गर्ने कार्यक्रम, प्रांगारिक कृषि प्रवर्द्धन र माटो स्वास्थ्य सुधार अभियान कार्यक्रम, निर्यातजन्य बाली/वस्तु जस्तै चिया, कफी, अलैँची, छुर्पी आदि उत्पादन वृद्धि, प्रांगारिक प्रमाणीकरण र निर्यात सहजीकरण जस्ता केही नवीन र परिणाममुखी कार्यक्रम अघि सारिएको मन्त्रालयले जनाएको छ ।
यसले किसानको जीवनस्तर सुधारसँगै राष्ट्रिय कृषि प्रणालीलाई दिगो, व्यावसायिक र निर्यातमुखी बनाउन सघाउने विश्वास मन्त्रालयको छ ।
प्रतिक्रिया 4