
६ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पलाल श्रेष्ठको दाहसंस्कारमा सहभागी हुँदाका अनुभूति सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
७ साउन २०३५ (२२ जुलाई १९७८) मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री समेत रहेका श्रेष्ठको दिल्लीमा निधन भएको थियो । भट्टराई अखिल भारत नेपाली विद्यार्थी संघको अध्यक्षको रूपमा ९ साउन २०३५ मा दिल्लीको यमुना नदी किनारको निगमबोध घाटमा भएको दाहसंस्कारमा सहभागी थिए ।
भट्टराईले पुष्पलालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘म त्यतिबेला प्रतिबन्धित कुनै पनि पार्टीमा आबद्ध नभए पनि सबैको समनिकटतामा थिएँ र कांग्रेस-कम्युनिष्ट सबै मिलेर लोकतान्त्रिक गणतन्त्र ल्याउनुपर्छ भन्ने सोंच राख्थें।‘
उनले प्रश्न गरेका छन्, ‘पुष्पलाल बाँचुन्जेल ‘दलाल‘ ‘गद्दार‘ भन्ने र मरेपछि अहिले वहाँप्रति गोहीको आँसु झार्दै संसदीय सत्ताको तर मार्ने कणहरूले ममः भन्ने कि?’
भट्टराईले पुष्पलालको दाहसंस्कारबाट फर्किएपछि लेखिएको डायरी पनि सार्वजनिक गरेका छन् । उनले श्रेष्ठको शवलाई छोएर उनकी पत्नी साहना प्रधानले गरेको प्रणको प्रसंग डायरीमा उल्लेख गरेका छन् ।
‘पुष्पलालकी श्रीमतीको ‘तिमीले सुरु गरेको कार्य पूरा गर्न सकूँ‘ भन्ने लाशलाई छोएर गरेको प्रणले सबैको मनमा क्रान्तिकारी जोशको सञ्चार गर्यो । धन्य महिला, तिम्रो प्रण पूरा होस् !,’ उनले डायरीमा लेखेका छन् ।
प्रधानको ७ असोज २०७१ मा निधन भइसकेको छ । कम्युनिष्ट आन्दोलनकी अगुवा एवं एमाले नेतृ प्रधान पनि कम्युनिष्ट राजनीतिमा ६ दशकभन्दा बढी सक्रिय थिइन् । उनले ०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गर्दै आन्दोलनको अगुवाइ गरेकी थिइन् ।
पुष्पलालको निधनपछि पार्टी पुनर्गठन गरेकी साहनाले मनमोहन अधिकारीसँग मिलेर नेकपा मार्क्सवादी बनाएकी थिइन् । ०४६ सालपछि मार्क्सवादी र माले मिलेर एमाले बनेको थियो ।
०६३ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन् ।
पुष्पलालको दाहसंस्कार प्रसंगबारे भट्टराईको डायरीमा के छ ?
हिजो छुट्टी बिताएर घरबाट दिल्ली फर्किइयो । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता (शहीद गंगालालका भाइ) पुष्पलाल श्रेष्ठको दिल्लीमा अकस्मात निधन (२२ तारिख) भएको खबरले निकै शोकाकुल बनायो । किनकि उनलाई एकचोटि भेटेर नेपाल कम्युनिष्ट पार्टीका आन्तरिक मतभेद बारे कुराकानी गर्ने जुन इच्छा थियो त्यो अब पूरा हुन पाएन ।
अर्कोतिर मरेको लासदेखि पनि नेपालकी हुकुमीतन्त्र डराएर मुर्दालाई नेपाल लैजाने अनुमति दिइएन ।
केही पार्टीका कार्यकर्ताहरूका अतिरिक्त भारतीय जनता पार्टीका अध्यक्ष चन्द्रशेखर, भारतीय कम्युनिष्ट पार्टीका महासचिव राजेश्वर राव, नेपाली कांग्रेसका नेता गणेशमान र गिरिजाप्रसाद, नेपाल कम्युनिष्ट पार्टीका का. हिक्मत सिं आदिको उपस्थितिमा मृत देहको दाहसंस्कार दिल्लीको निगम्बोध घाटमा गरियो ।
पुष्पलालकी श्रीमतीको ‘तिमीले सुरु गरेको कार्य पूरा गर्न सकूँ‘ भन्ने लाशलाई छोएर गरेको प्रणले सबैको मनमा क्रान्तिकारी जोशको सञ्चार गर्यो । धन्य महिला, तिम्रो प्रण पूरा होस् !
प्रतिक्रिया 4