+
आइची नागोया एसियन गेम्स २०२६ :

‘मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो’

२०८२ साउन  ६ गते २०:०७ २०८२ साउन ६ गते २०:०७
‘मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ मा जापानको आइची नागोयामा २०औं एसियन गेम्स आयोजना हुँदैछ र नेपालले मिसन २०२६ अन्तर्गत तयारी गरिरहेको छ ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत जापानमा हुने खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने योजना रहेको बताए ।
  • सरकारले आर्थिक वर्ष २०८२/८३ को खेलकुद बजेटमा मिसन २०२६ का लागि २ करोड ७० लाख छुट्याएको छ ।

६ साउन, काठमाडौं । सन् २०२६ मा जापानको आइची नागोयामा २०औं एसियन गेम्स आयोजना हुँदैछ । त्यसका लागि अहिले नेपालमा केही खेलका खेलाडीहरु मिसन २६ अन्तर्गत रहेर विशेष प्रशिक्षण गरिरहेका छन् ।

यसै सन्दर्भरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मिसन २०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको बताएका छन् ।

गत आर्थिक वर्ष २०८१-८२ मा मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकको उपस्थितिमा मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले सो कुरा बताएका हुन् । ‘मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो । यो जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने योजना हो,’ सदस्य सचिव घिसिङले भने, ‘त्यतिबेलासम्म म पूर्व भइसकेको हुन्छु, त्यसले कुनै फरक पर्दैन । तर  खेलाडीले निरन्तर प्रशिक्षणको अवसर पाउनु पर्छ, अनि मात्र खेलाडीले पदक जित्न सक्छन् ।’ उनले भने ।

सदस्य सचिव घिसिङले यसका लागि सम्बन्धित खेल संघको पनि भूमिका हुनेमा जोड दिए । ‘यो योजनालाई सफल बनाउन खेल संघको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । एसियाली खेलकुद आउन अब मात्र १३ महिना बाँकी छ । यो अवधिमा कुन कुन समय के गर्ने भन्ने स्पष्ट र ठोस् कार्ययोजना एक साताभित्र बुझाउनुस् ।’

उनले खेलाडीको प्रशिक्षणका लागि संघले अन्तर्राष्ट्रिय दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिदै अन्य देश, आ–आफ्नो अन्तर्राष्ट्रिय महासंघ र दूतावाससंग सहकार्य गर्नु पर्ने आवश्यकता रहेको पनि बताए ।

सदस्य सचिव घिसिङले मिसन २०२६ का लागि हाल २ करोड ७० लाख मात्र छ भनेर चिन्ता नगर्न आग्रह गर्दै संघहरुबाट ठोस् योजना आए बजेटका लागि गम्भीर भएर पहल गरिने प्रतिबद्धता जनाए । सरकारले आर्थिक वर्ष २०८२/८३ को खेलकुद बजेटमा मिसन २६ का लागि २ करोड ७० लाख छुट्याएको छ ।

सदस्य सचिव घिसिङले नेपाल हाइ पर्फमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापना हुनुले पनि खेलाडीको क्षमतामा उल्लेख्य सुधार हुने बताए ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणलाई अझ कसरी सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने सुझाव लिन बैठक राखिएको बताउँदै खेलाडीको फिट्नेस टेस्टपछि प्रशिक्षण सुरु हुने बताए ।

सहभागी खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकले खेल सामाग्री, इभेन्ट्स, एक्सपोजर, खेलस्थल, खेलाडी कोटा, विदेशी प्रशिक्षकको व्यवस्था वा वैदेशिक प्रशिक्षण, सुविधामा वृद्धि, खुराक, स्पाइरिङ पार्टनरको व्यवस्थालगायतका विषयमा धारणा राखेका थिए ।

जापानमा हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राखेपले आर्थिक वर्ष २०८०-८१ देखि मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो ।

कुनैपनि एसियाली खेलकुद वा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लामो समयको तयारी सुरु गरिएको नेपाली खेलकुदको इतिहासमै पहिलोपटक हो ।

गत आर्थिक वर्षमा पारा तेक्वान्दोसहित विभिन्न १० खेलका ९९ खेलाडी र २२ प्रशिक्षक गरी कूल १ सय २१ जनालाई सुविधासहित विशेष प्रशिक्षणमा राखिएको राखेपले जनाएको छ ।

आइची नागोया एसियन गेम्स २०२६ मिसन २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय