News Summary
Generated by OK AI. Editorially reviewed.- साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ र मुख्य प्रशिक्षक गुरुङले थकानका कारण उपाधि जित्न नसकेको बताए।
- सर्वाधिक गोलकर्ता पूर्णिमा राईले नेपालको तयारी नपुगेको र बंगलादेशको नियमित ट्रेनिङ राम्रो भएको बताइन्।
- नेपालले भुटानमा हुने आगामी एएफसी यू-२० महिला एसियन च्याम्पियनसिप छनोटको तयारी स्वरूप साफ च्याम्पियनसिप खेलेको छ।
६ साउन, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टिम मंगलबार स्वदेश फर्किएको छ ।
स्वदेश फर्किएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक र खेलाडीहरुले बंगलादेशसँग हार्नु र उपाधि जित्न नसक्नुको आ-आफ्नै तर्क दिएका छन् ।
मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीहरुले लगातार खेल्दा कारण थकान उपाधि जित्न नसकेको बताए । सर्वाधिक गोलकर्ता बनेकी पूर्णिमा राईले भने नेपालको तयारी नै नपुगेको बताएकी छन् ।
सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमालनस्थलमा सञ्चाकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक गुरुङले लगातार खेल र मुख्य खेलाडीको थकानका कारण हार्नुपरेको कारण दिए ।
‘बंगलादेशसँग पहिलो खेल हारेपछि हामीलाई सबै खेल जित्नैपर्ने दबाब थियो । ५ वटा गेम २४-२४ घण्टामा खेल्नुपर्ने भयो । कुनै राम्रो खेलाडीलाई रेस्ट दिन पाएन’ प्रशिक्षक गुरुङले भने, ‘बंगलादेशको टिममा राष्ट्रिय टिमको ९ जना छन् भन्ने सुनेको थिएँ । त्यसमा ७ जना पहिलो रोजाइमा खेलेका थिए ।’
सिनियर टिमका खेलाडी देखि घरेलु मैदान हुँदा बंगलादेशलाई फाइदा पुगेको पनि प्रशिक्षक गुरुङले बताए । ‘अनुभवी खेलाडी, होम ग्राउण्ड, दर्शकले गर्दा राम्रो उनीलरुले राम्रो खेल्यो । हाम्रो मुख्य समस्या भनेको थकान नै हो । खेलाडीहरुले आराम नै पाएनन् । सबै गेम जित्नुपर्ने भएकोले दबाबमा खेल्नुपर्यो’ उनले भने ।
च्याम्पियनसिपमा दुई ह्याट्रिक सहित १० गोल गरेर सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी फरवार्ड पूर्णिमा राईले नेपालको तयारी नपुगेको पनि उनको गुनासो गरिन् ।
‘उनीहरू (बंगलादेश)को ट्रेनिङ अनि गेमहरू जहिल्यै भइरहेकोको हुन्छ । ट्रेनिङको टाइमिङ धेरै भएकोले राम्रो छ’ उनले भनिन्, ‘हाम्रो त गेम हुन्छ भनेपछि १ महिना अगाडि, १५ दिन अगाडि बोलाउँछ । हामीलाई ट्रेनिङमा धेरै राख्यो भने उनीहरू जस्तै क्याम्पमा राख्यो भने हामी पनि यो भन्दा धेरै गर्न सक्छौं ।’
महिला फुटबलमा विस्तारै गेमहरू धेरै हुँदै गरेको र अब राम्रो हुने पूर्णिमाको भनाई छ । पूर्णिमाले यात्रा यादगार भएको बताइन् । तर फाइनलमा गोल गर्न नसकेको उनले माफी समेत मागिन् ।
‘एकदमै राम्रो भयो । यादगार रह्यो । अनुभव धेरै भयो । यति सोचेको थिएन १० गोल हान्छु भनेर । तर स्ट्राइकर भएपछि हान्नैपर्छ । आफ्नो कर्तव्य निर्वाह गर्नुपर्यो’ पूर्णिमाले भनिन् ‘फाइनलमा गोल गर्न सकिन त्यसको लागि सरी ।’
कप्तान बिर्सना चौधरीले राम्रो प्रयास गरेपनि सफल नभएको बताइन् । ‘हामीले राम्रो कोसिस गर्दा गर्दै भएन । अलिकति डिफेन्स र मिडफिल्डमा तालमेल भएन’ उनले भनिन् ।
फरवार्ड मिना देउवाले पहिलो खेलमा बंगलादेशसँग कमब्याक गरेकोले अन्तिम खेलमा तीन गोल व्यहोर्दा समेत पुनरागमन गर्न सकिने आशा राखेपनि पूरा नभएको बताइन् । ‘३ गोल हुँदासम्म कमब्याक गर्छौं भन्ने थियो । अगाडि खेलमा २ गोल खाँदा पनि फर्काएको थियौं’ मिनाले भनिन् ।
बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सोमबार भएको च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४–० ले पराजित भएपछि उपविजेता बनेको थियो ।
चार राष्ट्र सहभागी च्याम्पियनसिपमा डबल राउण्ड रोविनको आधारमा खेल भएको थियो । जहाँ बंगलादेशले सबै ६ खेल जित्दै १८ खंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । बंगलादेशसँग दुवै खेलमा पराजित भएको नेपाल १२ अंकसहित उपविजेता बन्यो ।
केही समयअघि एएफसी महिला एसियन कप छनोटमा म्यानमारलाई २-१ ले पराजित गर्दा सिनियर टिममा रहेका ९ खेलाडी बंगलादेशको यू-२० राष्ट्रिय टिममा समेत थिए । त्यसमध्ये अधिकांशले यू-२० मा पनि पहिलो रोजाइमै खेलेका थिए ।
नेपालले आफ्नो दोस्रो खेलमै घरेलु टोली बंगलादेशसँग खेलेको थियो । जसमा नेपाल अन्तिम समयमा गोल खाँदा ३-२ ले पराजित भएको थियो ।
सुरुमा दुई गोलले पछि परेको नपालले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल फर्काएपनि अन्तिममा सम्हालिन सकेन । त्यो खेल हार्नु पनि नेपालका लागि घाटा भएको प्रशिक्षक गुरुङले बताए ।
‘खेलाडीहरूले आफ्नो कला देखाउने मौका पाएको हो । बंगलादेशसँग पहिलो खेल ड्र हुनुपर्ने हार्यो । त्यसले गर्दा राम्रो खेलाडीहरुलाई रेस्ट दिन पाएन । फेटिग भयो । थकान धेरै भयो । २४ घण्टा ग्यापमा गेम खेल्नुपर्ने । होटलहरु राम्रो भएन । होटलमा मात्र बस्नुपर्ने एसी एसी भयो’ गुरुङले भने ।
साफ यू-२० महिला च्याम्पियनसिप आगामी अगष्टमा भुटानमा हुने एएफसी यू-२० महिला एसियन च्याम्पियनसिप छनोटको तयारीको रुपमा समेत थियो ।
भुटानमा हुने यू-२० महिला एसियन च्याम्पियनसिप छनोटमा समूह ए मा रहेको नेपालले उत्तर कोरिया, भुटान र साउदी अरेबियासँग खेल्नेछ ।
प्रतिक्रिया 4