
७ साउन, काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको बताएका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गरे ।
‘दुई वटा हात्ती जस्ता पार्टीहरू छन् सत्तामा, कमिलो पनि मार्दैनन्’ उनले भने, ‘हात्ती जस्ता पार्टीहरूले । देश र जनताको हितमा कमिलो मार्न पनि यो सरकारले सक्दैन ।’
उनले एकपछि अर्को भ्रष्टाचारका काण्डहरू देखा परेको भन्दै भ्रष्टहरूले देशमा शासन गरिरहेको आरोप लगाए ।
‘एकपछि अर्को भ्रष्टाचारका काण्डहरू देखा परेका छन् । भ्रष्टहरूले देशमा शासन गरिरहेका छन्’ उनले भने, ‘भ्रष्टाचार आज यो देशको हर क्षेत्रमा व्याप्त भएको छ । जबसम्म भ्रष्टाचार उन्मूलन गर्ने अभियान एउटा आँधीबेहरी ल्याउन सकिँदैन, तबसम्म यो देशका जनताले हक पाउने कुनै सम्भावना छैन ।’
उनले कम्युनिष्ट पार्टी नेतृत्वमा सरकार रहे पनि देश भयानक बर्बादीतर्फ गइरहेको आरोप लगाए ।
‘कम्युनिष्ट पार्टीको सरकार छ तर, कम्युनिष्ट पार्टी कसरी भयानक ढंगले बर्बादी, बदनामतर्फ गइरहेको छ’ उनले भने, ‘हामीले जुन बेलामा नयाँ जनवाद स्थापना गर्न सकेको भए समाजवादतर्फ जाने अनिवार्य आधार बन्थ्यो । तर पुँजीवादी जनवाद स्थापना भयो । त्यसले हामीलाई दलाल पुँजीवादतर्फ लग्यो ।
उनले राजनीतिक संकट हरदिन गहिरिएको जिकिर गरे । ‘रोजगारी सिर्जना गर्ने कुनै सम्भावना छैन । हरेक दिन विदेशमा २५ सय मानिस जाँदैछन् । ५ जना मानिसहरुको शव बाकसमा फर्किएको छ’ उनले सोधे, ‘यही हो बहुदलीय जनवादले गरेको काम ? पुँजीवादी जनवादले गरेको काम र प्रगति ?’
नेता खनालले नयाँ जनवादलाई लागू गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास बिन्दुमा गएपछि नेपालको कम्युनिष्ट आन्दोलन भड्किएको विश्लेषण सुनाए ।
प्रतिक्रिया 4