
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका त्रिशला गुरुङले टिभी रियालिटी शो ‘सिंगिङ स्टार नेपाल’मा तीन महिना बित्दा पनि पारिश्रमिकको आधा रकम नपाएको सामाजिक संजालमार्फत बताएकी छन्।
- त्रिशलाले कार्यक्रम संयोजक प्रमोद भण्डारी सम्पर्कविहीन भएको र भुक्तानीको सबै जिम्मेवारी उनलाई दिइएको उल्लेख गरेकी छन्।
- ‘सिंगिङ स्टार नेपाल’ शो ‘प्राइम्स टाइम्स टेलिभिजन’मा प्रसारण हुँदै आएको छ र त्रिशला, अर्जुन पोखरेल, सनुप पौडेल जज छन्।
काठमाडौं । टिभी रियालिटी शो ‘सिंगिङ स्टार नेपाल’को पारिश्रमिकको मामिला सतहमा आएको छ ।
शोकी जज तथा गायिका त्रिशला गुरुङले पारिश्रमिक नपाएको भन्दै सामाजिक संजालमार्फत पारिश्रमिक नपाएको कुरा बाहिर ल्याएकी छन् । कार्यक्रम सुरु भएको ३ महिना बितिसक्दा पनि सम्झौतामा उल्लेख भएको रकमको आधा पनि भुक्तानी नपाएको उनले बताएकी छन् ।
‘कार्यक्रमका संयोजक प्रमोद भण्डारीले टोलीसँग सञ्चार गर्न पनि बेवस्ता गरिरहेका छन् । मौखिक आश्वासन र सम्झौतालाई अहिले उद्योगमा मजाकको रूपमा व्यवहार गरिएको हुनाले यो समस्या समाधान गर्ने उत्तम तरिका सुझाव दिन म तपाईं सबैबाट मद्दत माग्न चाहन्छु’ उनले उल्लेख गरेकी छन् ।
भण्डारी सम्पर्कविहिन भएको पनि त्रिशलाले लेखेकी छन् । ‘कृपया मलाई यस कार्यक्रमसँग सम्बन्धित सबै मिडिया साझेदार र निर्माण कम्पनीलाई ट्याग गर्न मद्दत गर्नुहोस् किनभने भुक्तानीको सबै जिम्मेवारी यो एक व्यक्तिलाई दिइएको छ जो पूर्णरूपमा सम्पर्क बाहिर छ’ उनले लेखेकी छन् ।
आफूहरू कामप्रति इमान्दार हुँदाहुँदै पनि यस्तो स्थिती हुँदा दुःख लागेको त्रिशलाले लेखेकी छन् ।
उनी भन्छिन्, ‘आज हाम्रो देशको मनोरञ्जन उद्योगको अवस्था देखेर मेरो मन दुखेको छ । तपाईंले याद गर्नुभएकै छ कि म यस वर्ष “सिंगिङ स्टार नेपाल“ को एक जजको रूपमा थिएँ । हामी सधैं हाम्रो कामप्रति इमान्दार थियौं र सधैं ब्रान्डलाई आफ्नै जस्तै सोच्थ्यौं ।’
यो रियालिटी शो ‘प्राइम्स टाइम्स टेलिभिजन’मा प्रसारण हुँदै आएको छ । यो शोका अन्य जजमा त्रिशलासहित अर्जुन पोखरेल र सनुप पौडेल छन् । विशाल पोखरेल र नम्रता श्रेष्ठ होस्ट छन् । बुद्धिप्रसाद ढुंगाना, शिखर गौतम र नवराज चौलागाईं निर्माताको रुपमा छन् ।
प्रतिक्रिया 4