+
+
Shares
विचार :

विद्यालयहरूमा नेतृत्व र उद्यमशीलता प्रवर्द्धन

पाठ्यक्रममै उद्यमशीलता समावेश गर्नु अर्को महत्त्वपूर्ण विधि हो । जस्तै, गणित विषयमा विद्यार्थीहरूले साधारण र चक्रवृद्धि ब्याज वा बजेटिङ जस्ता विषय सिक्छन्, सामाजिक अध्ययनमा उनीहरूले सामाजिक उद्यम परियोजना तयार गर्न सक्छन् ।

नेहा केसी नेहा केसी
२०८२ साउन ७ गते १६:१८

आजको द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा विद्यालयहरूले परम्परागत पाठ्यक्रम बाहिर गएर विद्यार्थीहरूलाई जीवन उपयोगी सिप र सोच प्रदान गर्नु अत्यन्त आवश्यक छ । नेतृत्व र उद्यमशीलता शिक्षा यस परिवर्तनलाई नेतृत्व गरिरहेको छ र नेपाली विद्यालयहरूले पनि पाठ्यक्रम र विद्यार्थी नेतृत्वद्वारा सञ्चालित क्रियाकलापहरू मार्फत यसलाई आत्मसात गर्न थालेका छन् ।

उद्यमीहरू चाहे व्यक्ति हुन् वा समूह, नयाँ अवसरहरूको खोजी गर्छन् र संरचित सोच, सिर्जनशीलता र जोखिममा आधारित निर्णय मार्फत ती अवसरलाई जीवन्त बनाउँछन् । जुनियर एचिभमेन्ट र अर्नेस्ट एन्ड योङ एलएलपीद्वारा गरिएको अध्ययन अनुसार ४१ प्रतिशत किशोरहरूले उद्यमशीलतालाई करियरका रूपमा लिने विचार राखेका छन् । जेन–जीमा यो संख्या ५४ प्रतिशत पुगेको छ, जसले आत्मनिर्भर र प्रभाव पार्ने करियरको चाहना देखाउँछ ।

उद्यमशीलता शिक्षा केवल व्यापार सुरु गर्ने तरिका सिकाउने कुरा होइन । यो त सोचाइमा परिवर्तन ल्याउने प्रक्रिया हो, जहाँ विद्यार्थीहरूमा सिर्जनशीलता, आलोचनात्मक सोच, जुझारुपन र अग्रसर हुने इच्छा विकास हुन्छ ।

यस प्रक्रियामार्फत उनीहरूले समाजमा आवश्यकतालाई चिन्ने, प्रवृत्ति विश्लेषण गर्ने र साथै समाधान प्रस्ताव गर्ने आत्मविश्वास हासिल गर्छन् । नेपालजस्तो देश जहाँ रोजगारीका अवसर सीमित छन् र परम्परागत सरकारी वा निजी क्षेत्रमा मात्र रोजगारी उपलब्ध छ, उद्यमशीलता शिक्षा युवाहरूका लागि नयाँ सम्भावनाको ढोका खोल्न सक्छ ।

नेपालका विद्यालयहरूले अहिले यी अवधारणालाई आफूले प्रदान गर्ने सिकाइमा समावेश गर्न थालेका छन् । विद्यार्थी परिषद् र नेतृत्व क्लबहरू जस्ता मञ्चहरूले विद्यार्थीलाई नेतृत्वदायी भूमिकामा राख्ने, सहकार्य गर्ने र कार्यक्रम व्यवस्थापन गर्ने अभ्यास गराउँछन् । त्यस्तै विद्यालयहरूले गेस्ट लेक्चर, कार्यशाला र प्यानल छलफल आयोजना गरेर विद्यार्थीलाई जीवनका वास्तविक अनुभवसँग जोड्ने प्रयास गरिरहेका छन् ।

पाठ्यक्रममै उद्यमशीलता समावेश गर्नु अर्को महत्त्वपूर्ण विधि हो । जस्तै, गणित विषयमा विद्यार्थीहरूले साधारण र चक्रवृद्धि ब्याज वा बजेटिङ जस्ता विषय सिक्छन्, सामाजिक अध्ययनमा उनीहरूले सामाजिक उद्यम परियोजना तयार गर्न सक्छन् ।

स्वस्तिश्री गुरुकुलमा विद्यार्थीहरूले सेवा सिकाइ परियोजना र कोष संकलन कार्यक्रममा सहभागी हुन्छन् । विशेषतः चेपाङ बस्ती वा स्याङ्जा जस्ता समुदायको भ्रमणपछि, जहाँबाट उनीहरू सामाजिक उत्तरदायित्वको गहिरो अनुभूति लिएर फर्कन्छन् ।

विश्वव्यापी रूपमा पनि विद्यालय तहमा उद्यमशीलता शिक्षा दिन लगानी भइरहेको छ । युरोपमा इरासमस नामक संस्थाले नयाँ र अनुभवी उद्यमीहरूबीच अन्तरदेशीय सिकाइ अनुभवको अवसर प्रदान गर्छ ।

अमेरिका जस्तो देश जहाँ स्टार्टअप इकोसिस्टम प्रबल छ, त्यहाँ मेन्टरसिप, इन्टर्नसिप र विद्यालय व्यवसाय साझेदारीहरूद्वारा वास्तविक अनुभवलाई जोड दिनु सामान्य अभ्यास हो । स्टार्टअप इन्क्युबेटर, व्यवसाय प्रतियोगिता, सार्क ट्यांक शैलीका पिचहरू विद्यालय स्तरमै आयोजना गरिन्छन् ।

नेपालका विद्यालयहरूले पनि निम्न अन्तर्राष्ट्रिय अभ्यासहरूसँग मेल खाने उपाय अपनाउन सक्छन् :

विद्यार्थी उद्यमी केन्द्र स्थापना

सहकार्य गर्ने स्थान, प्रविधि स्रोतहरू, मेन्टरसिप र व्यावसायिक प्रदर्शन वा मेला आयोजनाका लागि छुट्टै स्थान प्रदान गर्नु ।

वास्तविक जीवनका परिदृश्य समावेश

परियोजना आधारित सिकाइ मार्फत विद्यार्थीहरूलाई बजार अनुसन्धान, उत्पादन डिजाइन, बजेट योजना र ग्राहकसँग अन्तरक्रियामा संलग्न गराउनु ।

स्थानीय व्यवसायीलाई आमन्त्रण

उनीहरूलाई बोलाएर मार्केटिङ, वित्त व्यवस्थापन र व्यापार योजना निर्माणका कार्यशाला सञ्चालन गराउनु ।

स्टार्टअप प्रतियोगिता प्रोत्साहन

आन्तरिक वा अन्तरविद्यालय ह्याकाथन सञ्चालन गरिनु, जसले सहकार्य र व्यावहारिक सिप विकास गर्न सहयोग पुयाउँछ ।

स्वामित्व र जोखिम लिने सोच प्रवर्द्धन

विद्यार्थीका आफ्नै परियोजनाबाट उनीहरूमा नेतृत्व, अनुकूलता र असफलताबाट सिक्ने क्षमता विकास हुन्छ ।

वाह्य साझेदारीहरू स्थापना

स्थानीय व्यवसाय र गैरनाफामूलक संस्थाहरूसँग सहकार्य गरेर स्रोत तथा अनुभवको पहुँच बढाउन सकिन्छ ।

प्रविधिको प्रभावकारी प्रयोग

डिजिटल प्लेटफर्महरू प्रयोग गरेर सहकार्य, सिकाइ र प्रदर्शन ट्र्याकिङलाई सहज र पहुँचयोग्य बनाउनु ।

स्वस्तिश्री गुरुकुलमा मोडेल युनाइटेड नेसन (एमयूएन) जस्ता विद्यार्थी–नेतृत्वमा आधारित गतिविधि अत्यन्त प्रभावकारी सिद्ध भएका छन् । प्रायोजन खोज्ने, पाहुना आमन्त्रण गर्ने, प्रचार सामग्री तयार गर्ने र सम्पूर्ण कार्यक्रम व्यवस्थापन गर्ने प्रक्रियाबाट विद्यार्थीहरूले उद्यमशीलतालाई जीवन्त रूपमा अभ्यास गर्छन् ।

अन्ततः उद्यमशील सोच समावेश गरिएको कुनै पनि पाठ्यक्रमले विद्यार्थीहरूलाई केवल रोजगारीका लागि मात्र होइन, सामाजिक प्रभावका लागि पनि तयार पार्दछ ।

यसले सिर्जनशीलता, समस्या समाधान र जुझारुपन जस्ता सिप विकास गराउँछ, जुन विद्यार्थीहरूको व्यक्तिगत विकास र समाजको रूपान्तरणका लागि अत्यावश्यक छन् । आजको पुस्तालाई सशक्त बनाउने हाम्रो प्रयासले भोलिको नेपाल र विश्व दुवै उज्यालो बनाउने छ ।

(केसी स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलकी प्रिन्सिपल हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?