News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र भारतबीच डोपिङ नियन्त्रणमा क्षेत्रीय सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
- नेपालका नाडा संयोजक डा. असीम भण्डारी र नाडा भारतका महानिर्देशक आनन्द कुमारबीच डोपिङविरुद्ध चुनौती र आवश्यकताबारे छलफल भएको हो।
- दुवै मुलुकले दक्षिण एसियाली \'क्लीन स्पोर्टस\' सम्मेलन, प्रशिक्षण केन्द्र स्थापनालगायत साझा योजना अघि बढाउने सहमति जनाएका छन्।
८ साउन, काठमाडौं । नेपाल र भारतबीच डोपिङ नियन्त्रणमा क्षेत्रीय सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय बैठक सम्पन्न भएको छ । भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी(नाडा भारत) को केन्द्रीय कार्यालयमा संवाद सम्पन्न भएको हो ।
संवादमा नेपालका नाडा नेपालका संयोजक डा. असीम भण्डारी र नाडा भारतका महानिर्देशक तथा सिइओ आनन्द कुमार बीच छलफल भएको हो ।
उक्त भेटवार्तामा भारतले डोपिङविरुद्ध आफ्नो प्रारम्भिक संघर्ष, स्रोतको अभाव, सरकारी हस्तक्षेप, महासंघहरूसँगको विश्वासको कमी र विश्व डोपिङ नियन्त्रण संस्था (वाडा) को सदस्यता पाउनका लागि व्यहोर्नुपरेको कठिनाइबारे चर्चा भएको थियो ।
एजेन्सी बनाउन सजिलो भए पनि विश्वासिलो भएर काम गर्नु चुनौतीपूर्ण रहेको महानिर्देशक कुमारले बताए ।
नाडा नेपालका संयोजक भण्डारीले कानुनी स्वतन्त्रताको अस्पष्टता, टीयूईमा प्रक्रियामा ढिलाइ, गैर–ओलम्पिक महासंघहरूमा सचेतना अभाव, सप्लिमेन्ट प्रदूषण, निजी लिगको अनुगमन अभाव र एआईमा आधारित डिजिटल निगरानी प्रणालीको खाँचो उल्लेख गरेका थिए।
डा. भण्डारीले एन्टी डोपिङ भनेको खेलाडी समात्ने अभियान नभई, उनीहरूको सपना जोगाउने प्रणाली रहेको छलफका क्रममा स्पष्ट पारेका थिए ।
दुवै मुलुकबीच दक्षिण एसियाली ‘क्लीन स्पोर्टस’ सम्मेलन, दक्षिण एसियाली प्रशिक्षण केन्द्र स्थापना, अन्तरदेशीय विशेषज्ञ आदान–प्रदान कार्यक्रम, पारा खेलाडी तथा ग्रामीण क्षेत्रका लागि बहुभाषिक डिजिटल शिक्षा अभियान जस्ता साझा योजनाबारे छलफल भएको भण्डारीले जानकारी दिए ।
भारत र नेपालका एजेन्सीबीचको यो संवाद केवल औपचारिक कूटनीति मात्र नभई साझा चेतना र कार्यान्वयनको आह्वान भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4