८ साउन, काठमाडौं । भारतको गोवामा जारी २४औं विश्व आईपीसीए चेस च्याम्पियनसिपमा नेपालका खेलाडी विश्व विजय घिमिरे ३ अंक जोडेर संयुक्त तेस्रो स्थानमा उभिएका छन्।
प्रतियोगिताको तेस्रो दिन नेपाली खेलाडी घिमिरेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। घिमिरेले चरणको खेलमा भारतीय खेलाडी श्रीष कुलकर्णी र चौथो चरणमा आशाराम आदित्य घुलेलाई पराजित गरेका छन् ।
नेपाली खेलाडीले पहिलो खेलमा दिनेश कुमार माथि जित निकालेका थिए भने दोस्रो खेलमा रसियाका गेडगाफोभ चमलसँग हार बेहोरेका थिए।
तेस्रो चरणको प्रतिस्पर्धामा घिमिरेले श्रीष कुलकर्णीविरुद्ध कालो गोटीवाट प्रतिउत्तर खेल सुरु गरेका थिए। उनले खेलको ३६औं चालमा पुग्दा एउटा घोडा फाइदा गरे । जसको फल स्वरुप कुलकर्णी माथी ४५औं चालमा जीत हात पारे।
त्यसै घिमिरेले सम्पन्न चौथो चरणको खेलमा विपक्षी आशाराम आदित्य माथि कठिन जित दर्ता गरेका छन्। उनलाई कालो गोटी लिएर सिसिलियन प्रणालीमा खेल शुरु गरेका आशारामले ५५औं चालसम्म कडा टक्कर दिएका थिए ।
आसारामले स्पर्धाको ५६औं चालमा सानो गल्ति गर्न पुगे र विजयले त्यसको फाइदा तुरुन्तै उठाउदै ५७औं चालमा सिपाही एउटा फाइदा गरे। लगातार दवाबमा परेका आशारामलाई अनन्त घिमिरेले ८५ औ चालसम्म दोह्राउदै परिणाम आफ्नो पक्षमा पारे।
यसैगरी घिमिरे दोस्रो चरणको खेलमा आफु भन्दा उच्च रेटेड रसियन खेलाडी गेडगाफोभ चमलले २२ औं चालमा राखेको बराबरी प्रस्ताव अस्वीकार गरे। तर त्यो नै घिमिरेको गलत निर्णय हुन पुग्यो । बराबरीमा रहेेको खेलको ४१औं चालमा सन्तुलन गुमाउदै रक्षात्मक अवस्थामा पुगे। अन्तत खेलको ६५औं चालमा चमललाई खेल सुम्पे।
फिडेको आधिकारिक विश्व आइपिसिए बुद्धिचाल प्रतियोगितामा पूर्ण ४ अंक सहित रसियन खेलाडीहरु २१६१ रेटेड फिडे मास्टर इलिया लिपिलिन र १९६१ रेटेड मिखायल डिजेनिसेनिया संयुक्तरूपमा शीर्ष स्थानमा रहेका छन्।
त्यस्तै पोल्याण्डका शीर्ष खेलाडी २३७६ रेटेड आइएम मर्सिन मोलेण्डा, आर्मेनियाका २२०६ रेटेड एफएम सर्गिस्यान सर्गीन, कजाकिस्तानका १९९४ रेटेड खेलाडी अलिमझान अयापोप, क्रोसियाका २०६० रेटेड दोमागोज ग्लाजार र रसियन खेलाडी २१८५ रेटेड आइएम आन्द्रेइ ओबोडचुक समान साढे ३ अंक जोडेर संयुक्त दोस्रो स्थानमा रहेका छन्।
नेपालका १७७४ रेटेड विश्वविजय घिमिरे सहित इजरायलका २२९१ रेटेड आइएम आन्द्रेइ गुर्वानोभ, अङ्गोलाका १९९२ रेटेड आइएम इयुगेनिओ क्याम्पस, चेकोस्लाभाकियाका २०१६ रेटेड एफएम भिट भाट्लाभ भालान्ता, मङ्गोलियाका १९५२ रेटेड एआईएम सोनोम सुन्दुइ, उज्बेकिस्तानका १८८४ रेटेड गयिमनाजारोभ बहदिर, भारतका १९०५ रेटेड एफएम कृष्ण कार्थिके के भेंकाटा समान ३ अंक बनाउदै संयुक्त रूपमा तेस्रो स्थानमा रहन सफल भएका छन्।
स्वीस लिग प्रणाली अनुसार नौ चरणसम्म संचालन हुने प्रतियोगितामा १७ राष्ट्रका ९७ जना खेलाडीहरु प्रतिस्पर्धामा छन्।
यसैबीच नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनले गोवास्थित प्रतियोगिता स्थलमा एशियन चेस फेडेरेशनका उपाध्यक्ष भरत सिंह चौहान र वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिप टुर्नामेन्ट डाइरेक्टर आनान्द बाबुसँग नेपाल चेसको बृहत्तर विकासका लागि महत्वपूर्ण भेटघाट गरेका छन्।
प्रतिक्रिया 4