News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल खेलकुद पत्रकार मञ्चले २२औं पल्सर स्पोर्टस अवार्ड भदौ २९ गते पोखरामा आयोजना गर्ने जनाएको छ।
- अवार्डमा १० विधा समावेश छन् र पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिनेछ।
- विजेताले पल्सर मोटरसाइकल र नगद पुरस्कार पाउनेछन्, र गोल्छा ग्रुपसँग पाँच वर्षको सम्झौता नविकरण गरिएको छ।
९ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण आगामी भदौ २९ गते हुने भएको छ ।
मञ्चले शुक्रबार राजधानीको याक एण्ड यति होटलमा एक कार्यक्रम आयोजना गर्दै यस वर्षको अवार्ड कार्यक्रम पोखरामा हुने जानकारी दिएको हो । पल्सर स्पोर्ट्स अवार्डको इतिहासमै पहिलो पटक अवार्ड कार्यक्रम उपत्यका बाहिर आयोजना गर्न लागिएको हो ।
मञ्चका अध्यक्ष निरन्जन अधिकारीले यसपटक पोखरा भ्रमण वर्ष पनि भएकोले प्रायोजकसँग सल्लाहमा पोखरामा अवार्ड गर्न लागेको जानकारी दिए । पल्सर अवार्डलाई यस पटक पृथक र भव्य बनाउने विश्वास रहेको पनि अध्यक्ष अधिकारीले जानकारी दिए ।
२०८१ सालभर नेपाली खेलकुदलाई उच्च स्थानमा पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिनेछ ।
स्पोर्टस अवार्डको २२औं संस्करणमा १० विधा समावेश गरिएको छ । जसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवाका साथै वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने छ ।
वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गर्ने मञ्चले जनाएको छ । हरेक विधाको मनोनयनमा ५-५ जना रहने प्रावधान छ ।
टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बिधामा भने मनोनयन हुने छैन । सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा हुनेछ ।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले जनही १ लाख रुपैयाँ पाउने एनएसजेएफले जनाएको छ ।
यस्तै मञ्चले पल्सर स्पोर्ट्स अवार्डका लागि गोल्छा ग्रुपको पल्सर मोटरसाईकलसँग पाँच वर्षको सम्झाैता पनि नविकरण गरेको छ । सम्झाैतामा मञ्चका अध्यक्ष निरन्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे ।
सम्झाैता अनुसार यस वर्ष नगद मोटरसाईकल गरि ४० लाख बराबर सहयोग पल्सरले गर्ने गोल्छाले जानकारी दिए । यस पटक ३३ प्रतिशतले वृद्धि भएको गोल्छाले जानकारी दिए ।
अवार्डसँग पल्सरको यो लगातार १७ वर्षको सहकार्य हो ।
गत वर्ष गत वर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् ।
स्पेशल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पारा ओलम्पिककी कांस्य विजेता पलेशा गोवर्धन, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित गरिएको थियो ।
एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीलाई टिम अफ द इयरबाट सम्मानित गरिएको थियो ।
प्रतिक्रिया 4