+
+
Shares

नेपालका ३,२५२ हिमनदी पग्लिने जोखिम

पृथ्वीको तापक्रम विगत शताब्दीमा ०.६ डिग्री सेल्सियसले बढेको छ । यही रफ्तार कायम रहे निकट भविष्यमै तापक्रम वृद्धिदर १.४ र यो शताब्दीको अन्त्यसम्ममा ४ डिग्री सेल्सियस पुग्नेछ, जतिखेर नेपालका सबै ३,२५२ हिमनदी पग्लिने छन् ।

चिन्तन मानन्धर चिन्तन मानन्धर
२०८२ साउन १३ गते १२:२१
इम्जा तासो ताल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा तापक्रम वार्षिक ०.०६ डिग्री सेल्सियसले वृद्धि भई हिमालहरू प्रत्येक वर्ष ०.०८ डिग्री सेल्सियसले तात्दै गइरहेका छन्।
  • नेपालको हरितग्यास उत्पादन विश्वमा न्यूनतम ०.०२७ प्रतिशत मात्र छ तर जलवायु परिवर्तनको जोखिममा अग्रभागमा छ।
  • जलवायु परिवर्तनले नेपालमा कृषि क्षेत्रमा पानीको अभाव, बाली नष्ट हुनु र रोग–कीरा बढ्नुजस्ता असर देखिएका छन्।

पृथ्वी सतहको वरिपरि रहेको हावापानी, तापक्रम, वर्षा अर्थात् समग्रमा भन्ने हो भने मौसममा लामो समयदेखिको परिवर्तनको प्रक्रियालाई जलवायु परिवर्तन भनिन्छ । जलवायुमा आएको परिवर्तन थाहा पाउन वा महसुस गर्न लामो समय लाग्ने हुन्छ । विगतका केही वर्षहरूमा हामीले महसुस गर्दै आएका अत्यधिक गर्मीपना, जंगलमा बढ्दै गइरहेको आगलागीका घटना, सोचेको समयमा र मात्रामा वर्षामा आएको फेरबदल, अतिवृष्टि, खण्डवृष्टि, सुख्खा खडेरी आदि जलवायु परिवर्तनका केही उदाहरण हुन् ।

जलवायु परिवर्तन र वर्तमान अवस्था

वैज्ञानिकहरूका अनुसार नेपालमा तापक्रमको वार्षिक वृद्धिदर औसतमा ०.०६ डिग्री सेल्सियस छ । नेपालका हिमाल प्रत्येक वर्ष ०.०८ डिग्री सेल्सियसको दरले तात्दै गइरहेका छन् । पृथ्वीकै औसत वृद्धिदरभन्दा यो बढी हो । यो वृद्धिदर हेर्दा नेपाल जलवायु परिवर्तनका कारण उत्पन्न संकट गहिरोसँग बेहोरिरहेको छ । अर्थात्, जलवायु परिवर्तनको असरबाट नेपाल झन्–झन् प्रताडित हुँदैछ ।

अन्तर्राष्ट्रिय प्यानलका विभिन्न अध्ययनले देखाए अनुसार पृथ्वीको तापक्रम विगत शताब्दीमा ०.६ डिग्री सेल्सियसले बढेको थियो । यही रफ्तार कायम रहे निकट भविष्यमै तापक्रम वृद्धिदर १.४ र शताब्दीको अन्त्यसम्ममा ४ डिग्री सेल्सियस पुग्नेछ । डब्लूडब्लूएफले गरेको एक अध्ययन अनुसार पृथ्वीको तापक्रम ४ डिग्री सेल्सियसले वृद्धि भए नेपालका सबै ३,२५२ हिमनदी पग्लिने छन् । यसको असर कल्पना गर्न पनि सकिंदैन । विगत १० हजार वर्षको तुलनामा गएको ५०–५५ वर्षमा पृथ्वीको तापक्रम निकै बढेको छ, वैज्ञानिकहरूले अनुमान गरेभन्दा धेरै र निकै चाँडै ।

हरितग्यास र नेपालको योगदान

नेपालको जनसंख्याको ६५ प्रतिशत बढी कृषि पेशामा निर्भर छन् । जीडीपीमा २७ प्रतिशत योगदान कृषि क्षेत्रको छ । विडम्बना, अधिकांश कृषियोग्य भूभाग असिञ्चित छ । अर्थात्, दुईतिहाइ भन्दा बढी खेतीयोग्य जमिन आकाशे पानीको भरमा छ

जलवायु परिवर्तनको प्रमुख कारकतत्वको रूपमा रहेको हरितग्यासको उत्पादनको दर केही दशकयता एकदमै बढेर गएको छ । जलवायु परिवर्तनको लागि अन्तर्राष्ट्रिय प्यानल (आईपीसीसी)का अनुसार  सन् १९७० देखि २०२० सम्मको अवधिमा हरितग्यासको मात्रा ७० प्रतिशतले वृद्धि भएको छ । त्यसमा पनि सन् १९९० देखि २००४ सम्मको अवधिमा २४ प्रतिशत छ ।

हरितग्यास उत्पादनमा नेपालको योगदान भने संसारकै न्यून (०.०२७ प्रतिशत) छ । ऊर्जा खपतको दृष्टिकोणमा नेपाल संसारकै अति कम ऊर्जाको खपत गर्ने राष्ट्रको सूचीमा पाँचौं नम्बरमा पर्दछ । दि गार्जियन का अनुसार औसत एक वर्षमा एक जना बेलायती नागरिकले उत्पादन गर्ने हरितग्यासको मात्रा एक जना नेपालीले उत्पादन गर्ने हरितग्यास भन्दा १२६ गुणाले बढी छ । विडम्बना, जलवायु परिवर्तनमा नगन्य योगदान रहे पनि नेपाल जलवायु परिवर्तनको जोखिमका दृष्टिले अग्रभागमा छ । अर्थात्, नेपाल नखाएको विष पिउन बाध्य छ ।

थला पर्दै किसान

जलवायु परिवर्तनले पृथ्वीको समग्र पर्यावरणलाई नै असर पार्ने हुनाले यसको असर मानव स्वास्थ्य, कृषि, पर्यावरण, पर्यटन, अर्थ लगायत सबै क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपले पर्छ । यस लेखमा भने कृषि क्षेत्रमा पर्ने केही असरहरूको बारेमा मात्र चर्चा गर्न खोजिएको छ ।

नेपालमा जनसंख्याको ६५ प्रतिशत भन्दा बढी कृषि पेशामा निर्भर छन् । कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत कृषि क्षेत्रले योगदान गरेको छ (कृषि मन्त्रालय) । नेपालको अधिकांश कृषियोग्य भूभाग असिञ्चित छ । अर्थात्, दुईतिहाइ भन्दा बढी खेतीयोग्य भाग आकाशे पानीको भरमा छ । यसपटक पानी नै नपरेपछि विकराल समस्या उत्पन्न भएको छ । खेती लगाउने समयमा पानी नपर्नाले जमिन सुख्खा हुनु, बाली भित्र्याउने बेला अप्रत्याशित हावाहुरी र असिना परेर बाली सखाप पार्नु, हिमालबाट पग्लेर आएको हिउँका कारण बाढीपहिरो र भूक्षय आउनु मात्र होइन, जमिनको उर्वराशक्ति नष्ट हुँदै जानु जलवायु परिवर्तनले कृषि क्षेत्रमा पार्ने केही प्रत्यक्ष असर हुन् ।

यसबाहेक पछिल्ला वर्षहरूमा बाली बिरुवालाई चाहिने उचित वातावरण (हावापानी, तापक्रम, आर्द्रता, घाम लाग्ने समय र दिन आदि) अनुकूल नहुनाले धेरै बालीको बालीचक्रमा हेरफेर आउने र रोग–कीरा र झारपातको प्रकोप पनि बढ्दै गएर उत्पादनमा उल्लेख्य असर गरेको पाइएको छ । कतिपय ठाउँका किसानले हिउँदे पानीको मात्रा कम भएकाले दिक्क भएर हिउँदे बाली नै लगाउन छाडिसकेका छन् ।

अनुकूलनका केही उपाय

  • विगत वर्षहरूका मौसमको रेकर्ड राखी (पानी परेको र घाम लागेको दिन) बाली लगाउने समयको पूर्वानुमान र त्यही अनुसार बाली लगाउने समयमा परिवर्तन गर्ने ।
  • जलवायु परिवर्तनसँग जुध्न सक्ने जातको बालीको पहिचान गर्ने र लगाउने (सुख्खा र बढी पानी सहन सक्ने, चाँडै पाक्ने जातका बाली तथा तरकारीहरू लगाउने) ।
  • लोप हुन लागेका तर जलवायु परिवर्तनसँग जुध्न सक्ने सीमान्तकृत बालीहरू जस्तै कोदो, जुनेलो, जौ, उवा, लट्टे, पिंडालु, तरुल आदिको संरक्षण र प्रवर्द्धनमा जोड गर्ने ।
  • धेरै थरीका जातको बाली (मिश्रित खेती प्रणाली) अपनाउने । मिश्रित खेती प्रणालीमा रोग–कीरा कम लाग्ने, सिंचाइ कम चाहिने, गोडमेल कम गर्नुपर्ने, एक बाली फस्टाउन नसके पनि अर्को बालीले साथ दिने, धेरै थरीका बाली सानो ठाउँमा उत्पादन गर्न सकिने जस्ता फाइदा हुन्छन् ।
  • उपलब्ध पानीको मितव्ययी प्रयोग गर्ने । जस्तै, थोपा सिंचाइ, घरबाट खेर जाने जुठेल्नु पानी, नुहाइ र कपडा धोइसकेपछिको पानीको उचित व्यवस्थापन गर्ने ।
  • चिस्यान व्यवस्थापन गर्न बाली बिरुवामा छापो हाल्ने ।
  • सुख्खायाममा हुनसक्ने पानीको अभाव टार्न वैकल्पिक व्यवस्था गर्ने । जस्तै– आकाशे पानीको संकलन, पोखरी खन्ने आदि ।

(मानन्धर, कारितास नेपालमा कार्यक्रम प्रमुख छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?