News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघको बोर्ड बैठक बिहीबार बस्दैछ।
- एनपीएलको पहिलो संस्करण समीक्षा तथा दोस्रो संस्करणको आयोजना विषयमा छलफल हुनेछ।
- बैठकमा राष्ट्रिय टोलीको टी-२० विश्वकप यात्रा र आगामी अक्टोबरमा हुने एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारीबारे पनि छलफल हुनेछ।
१४ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार बस्दैछ । बैठकमा एनपीएलको पहिलो संस्करणबारे समीक्षासहित दोस्रो संस्करणको आयोजनालगायत विभिन्न विषयमा छलफल हुँदैछन् ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्त छुम्बी लामाले दुई मुख्य विषयहरू एनपीएल र राष्ट्रिय टोलीको विश्वकप यात्रा रहेको बताए । ‘मेन भनेको अब एनपीएलकै बारेमा हुन्छ अनि राष्ट्रिय टोलीको टी-२० विश्वकपसम्म पुग्ने यात्राका बारेमा नै छलफल हुनेछ’ लामाले अनलाइनखबरसँग भने ।
एनपीएलको पहिलो संस्करण गत मंसिर-पुसमा भएको थियो । पहिलो संस्करणबाट प्राप्त भएका उपलब्धि तथा दोस्रो संस्करणका लागि थप गर्न सकिने विविध विषयहरूमा छलफल हुने बुझिएको छ । दोस्रो संस्करणका लागि अक्सनको मिति पनि तय भइसकेको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केही समयअघि अनलाइनखबरसँगको कुराकानीमा आगामी बोर्ड बैठकबाट एनपीएलको हिसाबकिताब सार्वजनिक गर्नेबारे पनि छलफल गर्ने बताएका थिए । एनपीएलको पहिलो सिजनको आर्थिक विवरण सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ ।
एनपीएलको पहिलो सिजनको हिसाबकिताब सार्वजनिक नगरिएको भन्दै बोर्ड सदस्यहरूले अध्यक्षलाई पत्र लेख्दै ध्यानाकर्षण समेत गराएका थिए । त्यसलाई सुझावको रूपमा लिएको समेत बताउँदै चन्दले प्रक्रियागत त्रुटीहरू भएको हुनसक्ने भन्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाली क्रिकेट टोलीले आगामी अक्टोबरमा टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको संयुक्त रिजनल फाइनल खेल्दै छ । त्यसको तयारीका लागि नेपाली टोली हार भारतमा छ भने केही खेलाडीहरू नेपालमै पनि अभ्यास गरिरहेका छन् ।
टी-२० विश्वकप छनोटको तयारी र विश्वकपसम्मको यात्राबारे पनि बोर्ड बैठकमा छलफल हुनेछ । नेपाली टोलीले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई खेल पनि खेल्दै छ ।
त्यस्तै क्यानको वार्षिक क्यालेन्डरबारे पनि छलफल हुने बताइएको छ । वार्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार हालसम्मको अवस्थाबारे समीक्षा गरिनेछ भने आगामी क्यालेन्डरमा समेट्न सकिने विषयहरूमा छलफल हुनेछ ।
प्रतिक्रिया 4