News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघको बोर्ड बैठकले नेपाली राष्ट्रिय टोलीको आगामी यात्रा र एनपीएल क्रिकेटको आयोजना विषयमा छलफल गरेको छ।
- एनपीएल क्रिकेटको दोस्रो सिजनको अक्सन साउन २४ गते हुने निर्णय बोर्डले गरेको छ।
- बोर्डले आगामी महिला टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा भव्य रूपमा आयोजना गर्ने विषयमा छलफल गरेको छ।
१५ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक बिहीबार सम्पन्न भएको छ । बैठकमा नेपाली राष्ट्रिय टोलीको आगामी यात्रा तथा एनपीएल क्रिकेटको आयोजना लगायत अन्य विविध विषयहरूमा छलफल भएको छ ।
बैठकले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको तयारी भव्य रूपले अगाडि बढाउने विषयमा छलफल गरेको क्यानका सचिव पारस खड्काले संक्षिप्त रूपमा जानकारी दिएका छन् । पहिलो सिजनको हिसाबकिताब बारे केही समय अझै लिएर अर्को बैठकबाट अनुमोदन गर्ने सहमति भएको छ ।
एनपीएलको दोस्रो सिजनको अक्सनको तयारी पनि अगाडि बढाउने निर्णय भएको छ । एनपीएलको अक्सन आउँदो साउन २४ गते शनिबार हुँदैछ ।
अबको आगामी ३-४ महिना क्रिकेटलाई विवादरहित राखेर क्रिकेट गतिविधिलाई प्रथम प्राथमिकतामा राखेर एकजुट भएर अघि बढ्ने निर्णय भएको छ’ सचिव पारस खड्काले भने ।
‘हिसाबकिताबको बारेमा केही सदस्यहरूलाई अझै विस्तृतमा जानकारी आवश्यक छ भन्नुभएकोले त्यसलाई अझै केही समय लिएर चाँडै सार्वजनिक गर्ने कुरा भएको छ, एनपीएल आयोजना गर्ने कुरामा सबैको सहमति नै छ’ पारसले थपे ।
बोर्ड बैठकले आगामी महिला टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा आयोजना हुने भएपछि त्यसलाई भव्य रूपमा सम्पन्न गर्नेबारे छलफल गरेको छ । यसअघि आज दिउँसो आईसीसीले ग्लोबल छनोट प्रतियोगिता नेपालमा हुने घोषणा गरिसकेको छ ।
अर्को बोर्ड बैठक अब करिब २ महिनापछि बस्ने सचिव खड्काले जनाएका छन् । आजको बोर्ड बैठकको निर्णयबारे विस्तृत विवरणसहितको प्रेस विज्ञप्ति पनि सार्वजनिक गरिने जनाइएको छ ।
प्रतिक्रिया 4