
१५ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विश्वविद्यालय तथा विज्ञहरूले गर्ने अनुसन्धान परिणामलाई उत्पादकत्व वृद्धिसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
लामो समय लगाएर गरिएका अनुसन्धान कागजमा थन्किन नहुने भन्दै उनले त्यसको कार्यान्वयन मार्फत उत्पादकत्व वृद्धिमा उपयोग गरिनुपर्ने बताए ।
मकवानपुर चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पुगी त्यहाँ जारी अनुसन्धानबारे जानकारी लिए । मन्त्री दाहालले विज्ञको ज्ञान र अनुसन्धानलाई त्यसै नथन्क्याउन सुझाव दिए ।
नेपाली विज्ञ तथा वैज्ञानिकले गहन अध्ययन तथा अनुसन्धान गर्ने गरेको र त्यसको निष्कर्ष तथा परिणामलाई उपयोग हुने वातावरण बनाउन सरकारले ध्यान दिने बताए ।
विश्वविद्यालयले च्याउ, जुम्लीमार्सी, कोदो, विभिन्न वनस्पति लगायतमा गरेको अध्ययन र प्राप्त नतिजाका आधारमा उत्पादकत्व वृद्धि गराइ आर्थिक समृद्धिको यात्रा सहज बनाउन सकिने समेत उनको भनाइ छ ।
विश्वविद्यालयका अध्यक्ष राजेन्द्रध्वज जोशीले अहिलेसम्म विश्वविद्यालयले खेर जाने कुनै पनि अनुसन्धान नगरेको र गरेका अनुसन्धानका नतिजा किसान तथा उद्यमीसम्म पुर्याउने वातावरण बनाउन आवश्यक रहेको बताए ।
जैविक तथा अर्गानिक कृषि प्रणाली, वनस्पतिका विविध उपयोगबारे अनुसन्धान भइरहेको भन्दै उनले यसको परिणामबारे आधारभूत तहसम्म जानकारी गराइने बताए ।
कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले अनुसन्धानबाट प्राप्त हुने नतिजाका आधारमा कृषि पर्यटन, कृषि उद्यम लगायत विकास गर्न सकिने बताए ।
नेपाली विश्वविद्यालयरूमा समेत विभिन्न देशका विद्यार्थी अध्ययनका लागि आउन इच्छुक हुने गरेकाले आवश्यक वातावरण बनाउन जरुरी रहेको उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अनुसन्धान कार्यक्रम थप विस्तार गर्न आवश्यक रहेको बताए ।
विश्वविद्यालयले नेपालमा पाइने विभिन्न च्याउबारे अनुसन्धान गरिरहेको सहप्राध्यापक भुषण श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया 4