
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वयुवराज हृदयेन्द्र शाहले जुम्ला उपत्यकाको सौन्दर्य र स्थानीय जीवनशैली समेटिएको १५ मिनेटको भ्लग फेसबुकमा पोस्ट गरेका छन्।
- हृदयेन्द्रले कर्णालीका स्थानीय युवती पञ्चकलीसँगको संवादमा नेपाल समृद्ध हुनेमा आशा व्यक्त गरेका छन्।
- अमेरिकामा अध्ययनरत हृदयेन्द्रले स्नातकपछि नेपाल फर्कने तयारी गरिरहेका छन् र एनिमे सिरिजको प्रशंसक भएको बताएका छन्।
बुधबार २४ वर्ष टेकेका हृदयेन्द्र शाहले फेसबुकमा एउटा आकर्षक भ्लग पोस्ट गरे । जुम्ला उपत्यकामा घुमफिर गर्दै उनले त्यहाँको सौन्दर्यलाई भ्लग मार्फत बाहिर ल्याएका छन् ।
१५ मिनेटको उक्त भिडियो भ्लग मात्र थिएन, पूर्व राजपरिवारका सदस्य तथा पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी शाहका छोरालाई नजिकबाट बुझ्ने र चिन्ने अवसर पनि हो । हृदयेन्द्र यतिविधि खुलेर अहिलेसम्म मिडिया प्लाटफर्ममा आएका थिएनन् ।
यो भ्लग मार्फत दर्शकले जुम्लाको सौन्दर्य र इतिहास मात्र होइन, हृदयेन्द्रको विचार र रुचिबारे बुझ्न सक्छन् ।
केही महिनाअघि हिमानी फाउण्डेसनको कार्यक्रमको सिलसिलामा कर्णालीमा पुगेको बेला हृदयेन्द्रले आकर्षक भ्लग बनाएका छन् । त्यहाँका रमणीय ठाउँको भ्रमण मात्र होइन, जुम्लेलीसँगको गफगाफ र स्नेहले दर्शकलाई मर्मस्पर्शी तुल्याउन सक्छ ।
उनले त्यहाँको स्याउ खेती, कफिसप खोलेर बसेका स्थानीय युवा, वृद्धवृद्धा, कर्णाली शिक्षालयका विद्यार्थीदेखि स्थानीय युवाहरूसँग भेट पनि गरे ।
सो क्रममा स्थानीय युवती पञ्चकली बुढाले हृदयेन्द्रलाई सोध्छिन्, ‘हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला ?’
जवाफमा हृदयेन्द्र भन्छन्, ‘मान्छेले राम्रो काम गर्यो भने, सबै कुरा राम्रो चल्यो भने त अब हुन्छ होला । अलिकति हामी पनि लाग्नुपर्यो । आँट गर्नुपर्यो । हुन्छ होला ।’
पञ्चकलीले कर्णालीको गीत सुनाएर हृदयेन्द्रलाई मन्त्रमुग्ध तुल्याएकी छन् ।
उनले जुम्ला पहिलो पटक आउँदा खुसी लागेको बताएका छन् । फेरि पनि घुम्न आउने उनले बताएका छन् । आफूले नेपालका धेरै ठाउँ घुमिसकेको र हिमालतिर घुम्न मन लागेको इच्छा उनले व्यक्त गरे ।
अहिले अमेरिकामा अध्ययन गरिरहेका हृदयेन्द्र स्नातक सकिएपछि देश फर्किने तयारीमा छन्, जुन कुरा उनले भिडियोमा भनेका छन् ।
हृदयेन्द्रले आफू एनिमे सिरिजको ठूलो प्रशंसक रहेको बताएका छन् । विशेषगरी वानपिस एनिमेले आफूले हेर्दै आएको उनी बताउँछन् । भित्तामा टाँसिएको एनिमेको फोटोबारे चासो राख्दै उनले आफूले पनि एनिमे बनाउने गरेको बताएका छन् ।
भ्लगलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै रुचाएका छन् । विशेषगरी हृदयेन्द्रको सरलता र भद्रताको प्रशंसा भैरहेको छ । सामाजिक सञ्जालमा फ्यानले भिडियो सेयर गरिरहेका छन् ।
जुम्लाको सौन्दर्यको प्रशंसा गर्दै घुम्नको लागि त्यहाँ जान आग्रह पनि गरेका छन् । यो लेख्दासम्म हृदयेन्द्रको पोस्टलाई साढे २ लाखभन्दा धेरै पटक हेरिएको छ । सामाजिक सञ्जालमा पनि भिडियो व्यापक सेयर भइरहेको छ ।
प्रतिक्रिया 4