
१७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् ।
१४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित गरेका हुन् ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सभापतिसहितको भेटमा एउटा सहमति बनेपछि राजीनामा दिन लामा तयार भएको अनलाइनखबरलाई जानकारी दिए ।
मुख्यमन्त्री लामाको प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने दुई बुँदामा सहमति भएपछि मार्गप्रशस्त गर्न तयार भएको चित्रकारले बताए ।
लामाले यसअघि कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए ।
उनीहरूको गत बुधबार नै सपथको तयारी गरेपनि सत्ता साझेदार दल नेकपा एमालेको असहमतिमा शपथ ग्रहण रोकिएको थियो । त्यसको भोलीपल्ट बिहीबार १ बजे सपथ तय भए पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक रूपमा बिरामी भएर काठमाडौं हिँडेपछि सपथ हुन सकेको थिएन ।
उपनेता चित्रकारले काठमाडौंमा उपचार गराईरहेका प्रदेश प्रमुख देवकोटा आइतबार हेटौंडा फर्किए उनलाई राजीनामा बुझाउने र उनी हेटौंठा नफर्किए पनि कार्यालयमा दर्ता गरिने जानकारी दिए ।
मुख्यमन्त्री लामाले संसदीय दलको नेताबाट पराजित भएपनि सरकारको नेतृत्व छाड्नुपर्ने कुनै आधार नरहेको बताउँदै आएका थिए ।
दलको नेतामा चयन भएका बानियाँले कांग्रेस संसदीय दलको विधानत व्यवस्थाले लामाले राजीनामा दिनुपर्ने बताउँदै विधि र पद्धतिबाटै बसदा गरिने बताएका थिए । मुख्यमन्त्री नछाड्ने अडानपछि १६ साउनमा उनलाई सभापति देउवाले काठमाडौं बोलाएका थिए । देउवासँगको भेटपछि उनी सरकार छोड्न तयार भएका हुन् ।
१३ साउन मंगलबार आफूविरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताको हैसियत गुमाएका थिए । अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो ।
९ साउनमा आफ्नै बहुमत सांसदले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि लामा संकटमा परेका थिए । १३ साउनमा कांग्रेसका ३७ सांसदमध्ये अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षा १५ मत परेपछि लामाले दलको नेताको हैसियत गुमाए ।
लामा र बानियाँ दोस्रो पटक दलको नेताका लागि निर्वाचन लडेका हुन् । ४ मंसिर २०७९ मा भएको प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए ।
यसैगरी, लामाले राजीनामा दिएसँगै बागमतीको मुख्यमन्त्री दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् । प्रदेश स्थापनाको करिब ८ वर्षमा बागमतीले ६ जना मुख्यमन्त्री पाउँदैछ । यसअघि पहिलो कार्यकालमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डे तथा दोस्रो कार्यकालमा शालिकराम जम्मकट्टेल र बहादुर सिंह लामा मुख्यमन्त्री बने ।
सत्तासाझेदार दल नेकपा एमालेसँग एकवर्षअघि भएको सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् । पूर्वसहमति अनुसार बानियाँले आगामी फागुनबाट एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने एमालेले बताइसकेको छ ।
प्रतिक्रिया 4