
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले दशैं, तिहार र छठ पर्वका लागि भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सन्चालन गर्ने तयारी थालेको छ।
- सुपथ मूल्य पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले खाद्य सामग्रीमा छुट दिनेछन्।
- यस वर्ष पनि सुपथ मूल्य पसलबाट अनलाइन अर्डर गरी घरसम्म सामग्री पुर्याउने व्यवस्था मिलाउने तयारी मन्त्रालयको छ।
१९ साउन, काठमाडौं । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसलको तयारी थालेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्य पसल सन्चालन गर्दै आएको सरकारले यस वर्ष पनि त्यसको तयारी थालेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले दशैंको घटस्थापनाभन्दा १५ दिन अघिदेखि सुपथ मूल्य पसल सन्चालन गर्ने गरी तयारी थालिएको जानकारी दिए ।
यसअनुसार सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सुरु हुनेछ । यस वर्षको दशैंको टीका असोज १६ गते र घटस्थापना असोज ६ गते परेको छ ।
सुपथ मूल्य पसलमा विगतमा जस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले विभिन्न खाद्य सामग्रीहरुमा उपभोक्तालाई छुट दिनेछन् । तर कुन सामग्रीमा कति रुपैयाँ छुट दिने भन्ने निर्णय भइसकेको छैन । सुपथ मूल्य पसल कहाँ–कहाँ राख्ने भन्ने पनि निश्चित हुन बाँकी छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपभोक्ता संरक्षण महाशाखाका एक अधिकारीले भने, ‘यस वर्ष पनि उपभोक्ताले सहुलियत पाउने गरी सुपथ पसल सन्चालन गर्ने तयारीमा जुटिसकेका छौं । छुट मूल्यको विषयमा कम्पनीबाट प्रस्ताव आएपछि छलफल गरेर निर्णयमा पुग्छौं ।’
सरकारले सुपथ मूल्य पसलबाट नुन, तेल, चामल, दाल, चिनी, चियापत्ती, पिठो, घ्युदेखि लिएर खसीबोका र च्याङ्ग्रासम्म बिक्री वितरण गर्दछ ।
यस वर्ष पनि अनलाइनमार्फत् अर्डर गर्न मिल्ने र उपभोक्ताको घरसम्मै पुर्याइदिने व्यवस्था मिलाउने तयारी मन्त्रालयको छ ।
प्रतिक्रिया 4