+
+
Shares

बैंकहरू शक्तिशाली : राष्ट्र बैंकका कर्मचारीमाथि नै खटनपटन

अनुगमन तथा सुपरीवेक्षणमा जो गए पनि र जस्तो कैफियत देखाए पनि राष्ट्र बैंकका माथिल्लो तहका कर्मचारी तथा सञ्चालक समितिलाई समेत प्रभावित पारी कतिपय बैंकहरू कारबाहीबाट बच्दै आएको राष्ट्र बैंककै एक पूर्व उच्च अधिकारी बताउँछन् ।

भुवन पौडेल भुवन पौडेल
२०८२ साउन १९ गते २०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकमा व्यावसायिक घरानाले कर्मचारीलाई आफूअनुकूल विभागमा राख्ने र दबाब दिने गरेको छ भन्ने तथ्य सार्वजनिक भएको छ।
  • कर्णाली डेभलपमेन्ट बैंक घोटालामा संलग्न कर्मचारी भुवन बस्नेतलाई प्रहरीले २० लाख लिएको आरोपमा पक्राउ गरेको छ।
  • राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकले बैंकहरू नियामकभन्दा शक्तिशाली भएको र लाखौं बचतकर्ताको सुरक्षामा चुनौती आएको बताएका छन्।

१९ साउन, काठमाडौं ।

– ‘वित्तीय क्षेत्रमा समेत लगानी गरेको नेपालको ठूलामध्येको एक व्यावसायिक घरानाले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई आफूअनुकूल प्रयोग गर्थ्यो । उक्त समूहले ढुंगानालाई लामो समय विदेशी विनिमय विभागमा अड्याएको थियो । उनी असार २०७६ मा सेवानिवृत्त भए । अवकाशको समय नजिकिँदै गर्दा पनि उनको सरुवा कर्पोरेट प्लानिङ तथा जोखिम व्यवस्थापन विभागमा भएको थियो । उक्त विभागमा सरुवा भएका ढुंगानालाई सोही घरानाको दबाबमा केन्द्रीय बैंक उच्च व्यवस्थापनले केही महिनामै विदेशी विनिमय विभाग फिर्ता गराएको थियो,’ नेपाल राष्ट्र बैंक स्रोतले भन्यो ।

– अघिल्लो आर्थिक वर्ष एक वाणिज्य बैंकको वार्षिक साधारणसभा ढिला भयो । डेपुटी गभर्नर डा. निलम ढुंगाना मातहत सुपरीवेक्षण विभाग भएकाले त्यसो भएको थियो । बैंकहरूले वार्षिक साधारणसभा गर्न राष्ट्र बैंकबाट वार्षिक प्रतिवेदन स्वीकृत गर्नुपर्छ । उक्त बैंकले कर्जा नोक्सानी गर्नुपर्नेमा पर्याप्त नगरेको, धितोविनाका कर्जा डिफल्ट हुँदा पनि सक्रिय देखाएको लगायत कैफियत भेटेपछि त्यसलाई सुधार गरेमात्र साधारणसभा स्वीकृति दिने पक्षमा केन्द्रीय बैंक पुग्यो । त्यसपछि उक्त बैंकले सुपरीवेक्षण विभागलाई नै उनको मातहतबाट हटाएको थियो । सोही बैंकको वार्षिक प्रतिवेदन स्वीकृत गराउन राष्ट्रबैंकको एउटा महत्त्वपूर्ण विभाग नै एउटा डेपुटी गभर्नरबाट सारिएको अनलाइनखबरसँग सम्पर्कमा आएको स्रोतले बतायो ।

– एनबी ग्रुप कुनै समय नेपालमा निकै शक्तिशाली मानिन्थ्यो । एनबी समूहले त्यसबेला वाणिज्य बैंकदेखि फाइनान्स कम्पनीसम्म खोलेको थियो । त्यसबेला राष्ट्र बैंकका एक कार्यकारी निर्देशकलाई निकै प्रयोग गर्ने गरेको राष्ट्र बैंकका पुराना कर्मचारीहरू बताउँछन् । आफ्नो स्वार्थका लागि बैंक तथा वित्तीय संस्था प्रयोग गर्ने, आफूअनुकुल काम गराउन एनबी समूहले प्रयोग गर्ने ती पूर्वकार्यकारी निर्देशक हाल राष्ट्र बैंकका एक सञ्चालक रहेको अर्को स्रोतले बतायो ।

०००

नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले आफ्नो सहजताका लागि कर्मचारीहरूलाई प्रयोग गर्ने मात्र नभई उनीहरूलाई आफूले चाहेका विभाग/कार्यालयमा राख्ने वा सरुवा गराउनेसम्मका काम गर्ने माथिका उदाहरणले देखाउँछन् । त्यतिमात्र होइन, कुनै बैंक तथा वित्तीय संस्थाको कैफियत पहिचान गरेर कारबाहीको सिफारिस गर्ने कर्मचारीको करियर नै तलमाथि पारिदिन सक्ने हैसियत पनि बैंकहरूले बनाएको राष्ट्र बैंकका आन्तरिक स्रोत बताउँछन् ।

केन्द्रीय बैंकका कतिपय कर्मचारी नै व्यक्तिगत लाभका लागि कुनै व्यावसायिक घराना वा बैंक तथा वित्तीय संस्थासँग निकट हुने गरेको कुरा संस्थाभित्र नौलो होइन ।

‘व्यावसायिक घरानाका व्यक्तिहरू तथा बैंकका सञ्चालक एवं उच्चपदस्थ अधिकारीहरू केन्द्रीय बैंकमा एउटा आफ्नो मान्छे हुनुपर्छ भन्ने सोच राख्छन्,’ एक बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) ले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अनलाइनखबरसँग भने ।

केन्द्रीय बैंकमा कुनै एकलाई आफ्नो बनाउन नसक्दा निकै दु:ख पाइने गरेको गुनासो समेत बैंकरहरूले सार्वजनिक रूपमै गर्दै आएका छन् ।

पछिल्लो समय कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रक्ररणपछि केन्द्रीय बैंकका कर्मचारीले व्यक्तिगत लाभमा कसरी बैंकहरूको कमीकमजोरी लुकाउने तथा मिलाउने गर्छन् भन्ने खुलेको छ ।

पुराना बैंकरहरूका अनुसार केन्द्रीय बैंकको सुपरीवेक्षण विभागका कर्मचारीलाई कुनै बैंकको गम्भीर खालको कैफियत भेटियो र त्यसउपर कारबाही अघि बढाउने प्रक्रिया सुरु गरेको खण्डमा उक्त कर्मचारीको सुरुवा भएको अवस्था छ ।

बैंक तथा वित्तीय संस्थाले तलकै कर्मचारीबाट मिलाउन खोज्ने र सोही अनुसार नभए उच्च अधिकारीलाई प्रयोग गरेर सम्बद्ध कर्मचारीलाई सम्बन्धित कामबाट बाहिर राख्ने गरेको एक पूर्वबैंकर बताउँछन् ।

अनुगमन तथा सुपरीवेक्षणमा जो गए पनि र जस्तो कैफियत देखाए पनि राष्ट्र बैंकका माथिल्लो तहका कर्मचारी तथा सञ्चालक समितिलाई समेत प्रभावित पारी कतिपय बैंकहरू कारबाहीबाट बच्दै आएको राष्ट्र बैंककै एक पूर्व उच्च अधिकारी बताउँछन् ।

कतिपय सन्दर्भमा त सञ्चालक समिति बैठकपछि कोही सञ्चालकले नै बैंकका अध्यक्ष तथा सीईओलाई नै फोन गरेर ‘मिलाइदिएको छु है’ भनेर सूचना दिएको पनि आफूले थाहा पाएको ती पूर्वबैंकरले बताए ।

‘केन्द्रीय बैंकका कर्मचारीलाई आफ्नो स्वार्थ अनुसार परिचालन गर्ने, आफ्नो टिममा जोड्ने, राजनीतिक क्षेत्रबाट राष्ट्र बैंक उच्च व्यवस्थापन प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाका कमीकमजोरी लुकाउन दबाब दिने काम सामान्य जस्तै हुन्,’ उनले भने ।

बैंक तथा वित्तीय संस्थाले आफूअनुकूल केन्द्रीय बैंकका कर्मचारी चलाउँछन् भन्ने आफूले पनि सुनेको पूर्वबैंकर भुवनकुमार दाहाल बताउँछन् ।

व्यावसायिक घराना तथा बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारीको दबाबमा केन्द्रीय बैंकका कर्मचारीको विभाग परिवर्तन भयो भन्ने सुनेको उनको भनाइ छ ।

‘राष्ट्र बैंकमा धेरै मान्छे राम्रा हुनुहुन्छ तर १०–१५ प्रतिशत मान्छे अरूलाई पेल्नुपर्छ भन्ने स्वभावको हुनुहुन्छ,’ दाहालले भने, ‘जागिर लगाइदिनुपर्‍यो भन्ने अनुरोध आउँथ्यो । हामी जागिर लगाउँदैनथ्यौं । केन्द्रीय बैंकका केही मान्छेहरूले दु:ख पनि दिनुभयो ।’

कर्णाली डेभलपमेन्ट बैंकको सुुपरीवेक्षणमा नै नखटिएका कर्मचारी भुवन बस्नेतले समेत करिब २० लाख लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कर्णाली डेभलपमेन्ट बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनसँग मिलेमतो गरेर बैंकका कैफियत लुकाउन तथा कारबाहीबाट बचाउन सहयोग गर्दा बस्नेत प्रहरी हिरासतमा पुगेका हुन् ।

केन्द्रीय बैंकबाट कुनै पनि निर्णय हुनुभन्दा पहिले नै बैंकरलाई जानकारी आउने, बैंकरको सुझाव अनुसार उनीहरूको अनुकूल निर्णय गरिदिने तथा संस्थागत समस्या सकभर ढाकछोप गर्ने र गराउने अभ्यास अझै कायमै छ ।

पछिल्लो समय पनि सुपरीवेक्षणबाट देखिएका कैफियतपूर्ण विवरण केन्द्रीय बैंकमा पुगेको छैन । तर, केन्द्रीय बैंकका तह–तहमा त्यस्ता कैफियत लुकाउने र बैंकरका लागि काम गर्ने कर्मचारी रहेको केन्द्रीय बैंकबाट भर्खरै अवकाशप्राप्त एक कार्यकारी निर्देशकले बताए ।

‘केन्द्रीय बैंकका साथीहरूकै कारण नियामकभन्दा बैंकहरू शक्तिशाली भएका हुन्,’ ती पूर्वकार्यकारी निर्देशकले भने, ‘यसले लाखौं बचतकर्ताको सुरक्षामाथि चुनौती थपेको छ ।’

बैंकहरूले कर्मचारी सरुवा गर्ने वा आफूले चाहेको व्यक्तिलाई आफ्नो सहज हुने विभागमा ल्याउने काम हुने गरेको केन्द्रीय बैंकका एक पूर्वनिर्देशकले बताए ।

‘बैंकहरूले सिनियर मान्छेहरू चिनेकै हुन्छन्, त्यसका आधारमा आफ्नो अनुकूल काम नहुने भए पनि दबाब दिएर विभाग परिवर्तन गराइदिने गर्छन्,’ उनले भने, ‘बैंकहरूले त्यो सामर्थ्य राख्छन्, यो विकृति हो ।’

त्यसका साथै अस्वाभाविक उच्च लाभको अफर गरेर केन्द्रीय बैंकका कर्मचारी तान्ने अभ्यास पनि रहेको उनले बताए । पछिल्लो समय यिनै समस्याका कारण केन्द्रीय बैंकले कुलिङ पिरियडको व्यवस्था गरेको हो ।

हाल केन्द्रीय बैंकका अधिकृतका लागि २ वर्षको कुलिङ पिरियड व्यवस्था छ । कुलिङ पिरियडले कर्मचारी नै लैजाने अभ्यासमा कमी आएको भए पनि बैंक तथा वित्तीय संस्थाका हितमा काम गर्ने अभ्यास नघटेको ती पूर्वनिर्देशकको भनाइ छ ।

पछिल्लो समय हरेक बैंकमा कुनै न कुनै व्यावसायिक घरानाको लगानी छ । उक्त व्यावसायिक घराना राजनीतिक रूपमा पनि पहुँचवाला छ । त्यसले गर्दा केन्द्रीय बैंकमा उच्च अधिकारी व्यक्तिगत स्वार्थसँगै राजनीतिक दाबाबका कारण पनि गलत अभ्यास निरुत्साहित हुन नसकेको राष्ट्र बैंकका अन्य अधिकारीको बुझाइ छ ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?