+
+
Shares

हायू परिवार : गरिबी र अन्धविश्वासले घर छाडे, वडाध्यक्षको विश्वासले फर्किए

उनीहरूको व्यवस्थापनका विषयमा वडाध्यक्ष रविले पालिकामा सल्लाह गर्नै नभ्याएको सुनाए । पालिकाले व्यवस्थापन गरेन भने साथीभाइसँग मिलेर उनीहरूलाई खाने/बस्ने प्रबन्ध मिलाउने भरोसा उनले दिलाएका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ साउन १९ गते २१:५८

१९ साउन, पोखरा । अनकन्टार जंगल छेऊमा एक्लो घर । एकाएक बेपत्ता भएका श्रीमानको केही दिनपछि हाडखोरमात्र फेला परेपछि अत्तालिएको उर्मिला हायूको मन । १६ जनाको परिवारको दायित्व थियो, उर्मिलाकै काँधमा ।

तारन्तार छोरा–छोरी बिरामी पर्दाको हैरानी । केही ऋण थपिँदै जाँदा उस्तै बेचैनी । घरमाथिबाट कसैले उनकै घरतिर रातीराती ढुंगा हानिरहेको ठानेर त्रसित भइरहे ।

उर्मिलालाई कसैले भनिदियो, ‘त्यो घरमा नबस्नु कहिल्यै शान्ति मिल्दैन ।’ अनि उर्मिलाले परिवारसँग थातथलो छाड्ने सल्लाह गरिन् । ९ साउनको रात उनीहरूले सुटुक्क गाउँ छाड्ने निर्णय गरे । र सोही रात गाउँका कसैलाई नभनी उर्मिला हायूको १६ जनाको परिवार नै एकाएक सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट अलप भए ।

उर्मिलाको परिवार नै सम्पर्कविहीन भएको थाहा भयो । सञ्चारमाध्यममा लगातार समाचार आउन थालेपछि उनीहरू अलप भएको घटनाले देश नै तरंगित बन्यो ।

प्रहरी, स्थानीय तहका जनप्रतिनिधि लगायतले उनीहरू जानसक्ने सम्भावित ठाउँमा खोजबीन गर्न थाले । घटनाक्रम पछ्याउँदै जाँदा उनीहरू पोखराको लेकसाइडस्थितएक होटलमा बास बसेर भोलिपल्ट गगनगौंडामा बसेको पत्ता लाग्यो ।

पोखरामा ज्वाइँ भएकाले उनैको सल्लाहमा उनीहरू पोखरा पुगेका खुल्यो । काम खोज्न आएको बताएका उनीहरूले सुरुमा सिन्धुली फर्किन मानेनन् । प्रहरीले १३ गते मंगलबार आफन्तको जिम्मा लगायो ।

सिन्धुलीको घरमा तर्साउने, त्यहाँ बस्दा छोराछोरी बिरामी पर्ने, घरमा शान्ति नमिल्ने (अन्धविश्वास) नहुने घरमा नफर्किने बताएका हायू परिवार वडाध्यक्षले तत्काललाई आफ्नै घरमा राख्ने र पछि छुट्टै घर बनाइदिने भनेर आश्वस्त पारेपछि भने सोमबार उनैको साथमा पोखराबाट सिन्धुली फर्किएका छन् ।

‘कहिले सञ्चो नि नहुने । घर सल्लाहले हिँडेका हौं, भागेका होइनौं । छोराहरू पनि बाहिरबाट आएपछि घर सल्लाहमै अरुलाई नसुनाइ हामीमात्रै हिँड्ने भनेर हिँडेका हौं,’ उर्मिलाले पोखराबाट फर्किने बेला भनिन्, ‘हाँसीखुसी हिँडेका थियौं, खुसीमै फर्किदैछौं । चिन्ता नगर्नुहोला, सरकारले पनि । पुराना घर जान्नौं । त्योभन्दा तल्तिर खुर्कोटमा बस्ने हो, वडाध्यक्षले भन्नुभएको छ ।’

घरायसी सामान लथालिंग छाडेर, बाख्रा दाम्लोमै र केही कुखुरा खोरमै छाडेर उनीहरू छेत्पाबाट निस्किएका थिए ।

‘त्यहाँ तर्साउनेमात्रै, कोही सञ्चो पनि नहुने भएपछि सल्लाहमै घरमा भएको सबैथोक छोडेर निस्किएका हो,’ उर्मिलाले भनिन्, ‘हामीलाई त्यहाँ जानु छैन तर वडाध्यक्षले अर्को घर दिने भनेपछि हाँसीखुसी नै फर्किन लागेको हो ।’

देशकै लोपोन्मुख जाती हायू परिवार एकाएक बेपत्ता भएपछि गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठलाई निको लागिरहेको थिएन । आफ्नै वडाका १६ जनाको परिवार बेपत्ता हुँदा उनीमाथि पनि दबाब बढेको थियो ।

३ वर्षअघिमात्रै श्रीमान बेपत्ता भएर पछि हाडखोर मात्र भेटिएको थियो । अहिले परिवारै हराएको उर्मिलाकै छिमेकी उद्धवबहादुर हायूले खबर गरेपछि रविनलाई पनि तनाव भएको थियो । उनैले प्रहरीदेखि विभिन्न सञ्चार माध्यमलाई खबर गरेका थिए ।

उनीहरू फेला परेको जानकारी पाउनासाथ रविन पोखरा आएका थिए । ‘उहाँहरू मेरो वडाबाट किन छोडेर हिँड्नुभयो ? कसैले धम्की पो दिएको थियो कि वा कतैबाट ठूलो समस्या पो आइपर्‍यो भनेर सत्यतथ्य बुझ्न यहाँसम्म आएको थिएँ । तर, यहाँ आउँदा त्यस्तो कुनै कारण देखाउनुभएन,’ वडाध्यक्ष रविले भने, ‘उहाँहरूलाई जान पटक पटक आग्रह गरें तर त्यो घर फर्किन्नौं भनेर जान इन्कार गर्नुभएपछि म फर्किएको हुँ ।’

गाउँबाट ६ छोरा, ६ छोरी, बुहारी, नातीनातिनीसहित १६ जनाले घर छोडेका हायू परिवार पोखरामा ज्वाइँ, आफन्तसहित १९ जना पुगेका थिए ।

त्यो घरमा बस्दैनबस्ने र कहिल्यै नफर्किने घरसल्लाह गरेरै छाडेको उर्मिलाले पोखरामा बताइरहेकी थिइन् । तर, पोखरामा पनि काम गरेर खान र १६ जनाको परिवार बस्न सहज थिएन । वडाध्यक्ष रविनले पुरानो घर नबस्ने हो भने अन्यत्रै व्यवस्था गरिदिने बताएपछि उनीहरू फर्किन राजी भएका हुन् ।

‘पुरानै घर जाने हो भने पनि हिँड्नुस्, तपाईंहरूको व्यवस्था हामी गर्छौं, नजिकै ४ रोपनी जग्गा छ, त्यो नै तपाईंहरूको नाममा पास गरिदिन्छौं पनि भन्यौं । तर, उहाँहरूको धर्मअनुसार त्यहाँ बस्न हुँदैन भन्नुभयो,’ वडाध्यक्ष रविनले भने, ‘त्यसपछि मैले आफू बस्दै आएको घरमा अर्को व्यवस्थापन नहुँदासम्मका लागि राखिदिने र अन्यत्र घर बनाइसकेपछि उहाँहरूलाई लगेर ब्यवस्थापन गर्ने भनेका छौं ।’

उनीहरूको व्यवस्थापनका विषयमा वडाध्यक्ष रविले पालिकामा सल्लाह गर्नै नभ्याएको सुनाए । पालिकाले व्यवस्थापन गरेन भने साथीभाइसँग मिलेर उनीहरूलाई खाने/बस्ने प्रबन्ध मिलाउने भरोसा उनले दिलाएका छन् ।

उनीहरूलाई पोखरामै बस्ने र काम गर्ने वातावरण मिलाइदिन पोखरा महानगरले प्रयत्न गरिरहँदा आफ्नै वडाध्यक्षको साथमा सिन्धुली नै फर्किन राजी देखिएको मेयर धनराज आचार्यको भनाइ छ । मेयर आचार्यले नै मुग्लिनसम्मका लागि गाडीको व्यवस्थापन गर्दै बिदाइ गरे । मुग्लिनसम्म सिन्धुलीबाट गाडी लिन आइपुग्ने वडाध्यक्षले बताएका छन् ।

मेयर आचार्य आवश्यक परे उनीहरूका लागि पोखरामै बस्ने र काम गर्ने प्रबन्ध मिलाउन लागि परेको बताउँछन् । ‘कसैले तेरो घरमा बस्नु हुँदैन भनिदिएकै कारणले उहाँहरूले घर छोड्नुभएछ । पोखरामा परिवारसहित २१ जना पुग्नुभएको थियो,’ मेयर आचार्यले भने, ‘पोखरामै पनि स्थायी बस्ने व्यवस्थाका लागि तयारी गरिरहेका थियौं । तर, त्यहाँकै वडाध्यक्षले पहिलेभन्दा अन्यत्रै बस्ने व्यवस्था गर्ने बताएपछि फर्किनुभएको छ ।’

हायू परिवार रहेको वडाध्यक्ष रविनका अनुसार उनीहरूले घर छोड्नुको कारण बसिरहेको घरप्रति अविश्वासमात्रै नभएर गरिबीसमेत जोडिएको छ । त्यहाँ उनीहरूको वर्षभर खान पुग्ने जमिन छैन । यो उर्मिलाको परिवारकोमात्रै कथा होइन, देशकै लोपोन्मुख मानिएका त्यो वडामा बस्ने अधिकांश हायू परिवारकै कथा हो ।

उर्मिला परिवारको केही ऋणसमेत थियो, त्यसमा समेत सहजीकरण गरिदिने विश्वास उनीहरूको छ । देशकै लोपोन्मुख जातीमा पर्ने त्यहाँको अधिकांश हायू परिवारको बस्ने घरसम्म त छ तर जिविको चलाउन जग्गा तथा उपार्जनको उपाय नभएको देखिएको वडाध्यक्ष श्रेष्ठ बताउँछन् ।

लोपोन्मुख समुदायका लागि सरकारले मासिक भत्ता दिँदै आएको छ । हायू जातीका उनीहरूले प्रतिव्यक्ति मासिक ३ हजार ९ सय ७० रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार उक्त वडामा २ सय ४० जना हायू जातीको बसोबास छ । ‘अधिकांशको बस्ने घरसम्म छ, खेत छैन, भए केही पाखो बारी छ । खेतीकिसानी गर्छु भने पनि जमिन छैन,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘उनीहरूले गाउँ छाडेपछि यो समस्या लिएर आदिवासी जनजाती उत्पादन राष्ट्रिय प्रतिष्ठानमा गएको थिएँ ।’

यस्ता परिवारलाई केही जग्गा जमिन दिलाएर प्रबन्ध गर्न सके उर्मिलाको परिवारजस्तो अरू परिवारले गाउँ छोड्ने परिस्थिति नआउने उनको प्रस्ताव थियो ।

उर्मिला परिवारको प्रबन्ध तत्काललाई वडाध्यक्ष श्रेष्ठले गर्ने जिम्मा लिए पनि यस्ता आदिवासी लोपोन्मुख समुदायको जीवन सुरक्षा गर्नु राज्यको दायित्व हो ।

बसिरहेको घरमा डर मानेर छाडेका हायू परिवार सिन्धुलीकै अर्को ठाउँमा बसोबास र जिविकोपार्जनमा सहायता हुने अपेक्षा बोकेर फर्किएका छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?