
News Summary
Generated by OK AI. Editorially reviewed.- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ कसुर र राजावादी आन्दोलनको मुद्दामा उच्च अदालत पाटनले मागेको २८ लाख धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका छन्।
- उच्च अदालत पाटनले क्यान्सर रोगबाट पीडित प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र हिंसात्मक प्रदर्शनमा ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
- राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रसाईंले उच्च अदालतमा निवेदन दिएका थिए।
१९ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका छन् ।
बैंकिङ कसुर र राजावादी आन्दोलनको घटनामा उच्च अदालत पाटनले कुल २८ लाख धरौटी मागेकोमा उनले सोमबार साँझ सो रकम बुझाएर डिल्लीबजार कारागार फर्किएका हुन् ।
दुईवटा मुद्दामा धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।
उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । ‘उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको’ विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।
साथै उच्च अदालत पाटनले सोमबार उनलाई १५ चैतमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा समेत धरौटीमा छाड्न आदेश दिएको छ ।
राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा उनीविरूद्ध मुद्दा दर्ता भएको थियो ।
काठमाडौं अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि प्रसाईं डिल्लीबजार कारागारमा छन् ।
त्यहीबीच उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । यो आदेशको विस्तृत विवरण आइसकेको छैन ।
प्रतिक्रिया 4