
२० साउन, काठमाडौं । भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले आफूले कसैलाई पनि करकापमा पारेर रकम नमागेको जिकिर गरेका छन् ।
मालपोत कार्यालय, कास्कीका प्रमुख मालपोत अधिकृतको पद थमौती र सरुवाको विषयमा एकपछि अर्को अडियो सार्वजनिक भएपछि मन्त्री अधिकारीले आफूले कुनैपनि मोलाहिजा नगरेको र कसैसँग केही नमागेको जिकिर गरेका हुन् ।
अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री अधिकारीले सामान्य प्रशासनमन्त्री गुप्ताको अडियो सार्वजनिक नहुँदासम्म लिचीबारी जग्गाबारे आफूलाई कुनै थाहा नभएको बताए ।
‘आजसम्म न मैले कसैलाई करकापमा पारेर रकम मागेको छु, न मलाई पोखराको लिचीबारीको जग्गाकै बारेमा कुनै सूचना थियो,’ मन्त्री अधिकारीले भने, ‘बाहिर के–के आएपछि मात्रै मैले लिचीबारीका बारेमा थाह पाएको हुँ, त्यसभन्दा अघि केही थाह थिएन ।’
पोखराको लिचीबारी जग्गा प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगै पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको नाम पनि मुछिएको थियो । गुप्ता जोडिएको अडियोमा भूमि आयोगको अध्यक्षका लागि भूमिमन्त्री बलराम अधिकारीले अर्कैको पैसा खाएको भन्ने संवाद बाहिरिएको थियो । मन्त्री अधिकारीले भने, ‘पार्टीको जिल्ला कमिटीबाट सिफारिस भएर नाम आउँछ, कहाँबाट मैले पैसा खानु ? नचाहिने कुरा ।’
सार्वजनिक भएको अर्को अडियोमा पनि कर्मचारीले ७० लाख खर्च गरेको भनी बोलेको अडियो सार्वजनिक भएको थियो । अडियोमा मन्त्रीले नै पैसा खाइदिए भन्ने कुरा उल्लेख छैन । तर तीन साताअघिको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले ‘जाँड खाएर करकापमा बोलाइदिएको भरमा कसैलाई पनि आरोपित गर्न नहुने’ बताएका थिए ।
अनलाइनखबरसँगको कुराकानीमा समेत मन्त्री अधिकारीले कसैलाई करकापमा पारेर जाँड खुवाएर बोल्न लगाइएको भन्दै त्यस्ता तरिकाले आफूलाई जोडेर बदनाम गर्न खोजिएको जिकिर गरे । उनले भने, ‘कसैलाई जाँड खुवाएर यसो भन् भनेको भरमा बोलेका कुरालाई आधार मानेर बिना प्रमाण अरूलाई मुछ्ने ?’
उनले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो रेकर्ड गर्ने पोखराका व्यक्ति सामूहिक रुपमा आफूलाई भेट्न आएको र आफ्नै बैठककक्षमा सामूहिक रुपमा भेटेको मन्त्री अधिकारीले स्वीकारे । त्यसक्रममा उनले पोखराको प्रमुख मालपोत अधिकृतमा लमजुङ पुगेका रामचन्द्र अधिकारीलाई सरुवा गरिदिन आग्रह गरेको बताए ।
अडियो रेकर्ड गर्ने व्यक्तिको दाबीमा, सुरुमा भूमी व्यवस्थामन्त्री अधिकारीले काम गरिदिने आश्वासनपछि उनको छोरालाई रकम दिएको हो । पटकपटक आग्रह गर्दा काम नभएको भन्दै अडियो रेकर्ड गर्ने व्यक्ति त्यसपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको निवासमा धाउन थालेका थिए । त्यसपछि उनीहरूलाई सहयोग गर्ने काममा मन्त्री गुप्ता पनि सामेल भए ।
भूमि व्यवस्थामन्त्री अधिकारीका अनुसार, सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि एकपटक अडियो रेकर्ड गर्ने व्यक्ति र पोखराका अरु टोली लिएर भेट्न आएका थिए । त्यसपछि आफूले भूमि व्यवस्था मन्त्रालय प्राविधिक प्रकृतिको निकाय भएकाले त्यहाँका कर्मचारीहरूलाई जथाभावी नचलाइदिन आग्रह गरेको बताए ।
‘त्यतिबेला सामान्यप्रशासन मन्त्री गुप्ताले पोखराको त्यही टोली लिएर आउनुभएको हो, उहाँहरूको कुरा त्यही थियो,’ भूमि व्यवस्था मन्त्री अधिकारीले भने, ‘भूमि र नापीका कामहरू प्राविधिक प्रकृतिका हुन्छन्, बाहिरबाट आउने कर्मचारीहरूलाई त्यो विषय बुझ्न समय लाग्छ, त्यसैले जथाभावी रुपमा मेरो कर्मचारीहरू नचलाइदिनुहोला भन्ने आग्रह गरेको थिए ।’

दुई पटक बाहेक आफूले अडियो रेकर्ड गर्ने व्यक्तिलाई नभेटेको भन्दै मन्त्री अधिकारीले त्यो भेट पनि मन्त्रालयको बैठककक्षमा सामूहिक रुपमा गरिएको बताए । त्यसबाहेक अन्यत्र भेट नभएको र एकाध पटक बाहेक फोनमा कुरा नभएको उनको जिकिर थियो । तर स्रोतका अनुसार, अख्तियारको बयानमा आफ्नो नाम नमुछिदिन आग्रह गर्दै मन्त्री अधिकारीले अडियो रेकर्ड गर्ने व्यक्तिलाई तारन्तार फोन गरिरहेका छन् ।
अडियो रेकर्ड गर्ने व्यक्तिले आफूले मन्त्रीको छोरा मनोज अधिकारीलाई भेटेको र काम गरिदिन भन्दै ३२ लाख रुपैयाँ दिएको दाबी गरेका थिए । उनले रकम बुझाउदा जेब्रा झोला प्रयोग भएको भन्दै त्यसको फोटो समेत सार्वजनिक गरेका थिए ।
भूमिव्यवस्था मन्त्री बलराम अधिकारीले त्यो आरोप पनि सत्य नभएको जिकिर गरेका छन् । आफू मन्त्री हुनासाथ नर्वेमा बस्ने छोरा भेट्न आएको र करिब दुई महिना नेपालमै बसेर फर्किएको भन्दै उनले त्यो अवधिमा गुठीका कर्मचारीहरूसँग छोरा पोखरा घुम्न जाने बाहेक अरु काम नगरेको जिकिर गरे ।
आफूले भूमि व्यवस्था मन्त्रालय सम्हालेपछि सहकारी समस्या समाधानका लागि पहल गरेको र त्यसक्रममा सहकारी नियमन गर्न प्राधिकरण गठन भएको, अनि भूमिसम्बन्धी समस्या समाधान गर्न खोजेको भन्दै उनले केही स्वार्थ समूहले त्यसविरुद्ध लागेको र त्यसक्रममा जबर्जस्ती आफ्नो नाम मुछिएको उनको जिकिर छ ।
‘दुई जना बसेर कुनै तेस्रो व्यक्तिको नाम बोलिदिएको भरमा दोषी मान्दै जाने हो भने जसले जसलाई पनि फसाउन सक्ने भयो,’ उनले भने, ‘मैले लिनुखानु गरेको न कुनै प्रमाण छ, न दिएको हुँ भन्ने मान्छे सार्वजनिक भएर मैले यसलाई यो ठाँउमा दिएको हुँ भन्न सकेको छ । जबर्जस्ती नाम मुछेर बदनाम गर्ने काम मात्रै भयो ।’
अडियो रेकर्ड गर्ने व्यक्तिले मन्त्री बलराम अधिकारीका भाइ शालिकरामलाई समेत रकम दिएको जिकिर गरेका थिए । उनले पोखराबाट शालिकरामको खातामा ५ लाख रुपैयाँ राखेको र त्यसको प्रमाण अहिले पनि सुरक्षित रहेको जिकिर गरेका थिए ।
तर मन्त्री अधिकारीले शालिकराम अधिकारी आफ्नो सहोदर भाइ नभई काकाको छोरा भएको बताए । समाचार सार्वजनिक हुनासाथ आफूले भाइलाई त्यसवारेमा सोधेको र शालिकरामले पनि कसैसँग रकम नलिएको जिकिर गरे । मन्त्री अधिकारीले भने, ‘झुक्किएर कसैले पो राखिदिएछ कि भनेर उसले फेरि बैंकमा गएर स्टेटमेन्ट हेरेछ,’ मन्त्री अधिकारीले भने, ‘खातामा त्यस्तो केही पनि आएको रहेनछ ।’
मालपोत कार्यालय, कास्कीका पूर्वप्रमुख रामचन्द्र अधिकारी र अहिलेका प्रमुख चिरञ्जिवी पौडेललाई आफूले गोप्य रुपमा नभेटेको र कुनै गलत उद्देश्यले उनीहरूको जिम्मेवारी हेरफेर नगरेको भन्दै उनले रामचन्द्रले आफूलाई पोखरामै राखिदिन बारम्बार आग्रह गरेको बताए ।
मन्त्री अधिकारीका अनुसार, पोखराको क्षेत्रिय गोष्ठीमा कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र पनि आएका थिए । त्यसक्रममा पोखराको पृथ्वीनारायण क्याम्पसको जग्गा पराजुलीको परिवारका नाममा दर्ता हुने अवस्था बनेको थियो ।
त्यसलाई टुंग्याएर अधिकारीले उक्त जग्गालाई क्याम्पसकै नाममा ल्याएको भन्दै मन्त्री अधिकारीले त्यति हुँदाहुँदै पनि मन्त्रालयकै प्रक्रियाले उनी सरुवा भएको दाबी गरे । लामो समय कास्कीमा बसेको र केही विवाद पनि आएको देखिएको भन्दै मन्त्री अधिकारीले रामचन्द्र अधिकारीलाई आफूले सम्झाएर पठाएको बताए ।
‘त्यसपछि उनी लमजुङ गएपछि मलाई फोन पनि गरेका छैनन्,’ मन्त्री अधिकारीले भने, ‘परिवारकै सदस्य बिरामी भएपछि मानवीय रुपमा चिरञ्जिवी पौडेललाई पोखरा पठाइएको रहेछ । त्यसमाथि कर्मचारीको सरुवामा मन्त्रीको के नै भूमिका हुन्छ र ?’
प्रतिक्रिया 4