
२० साउन, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पूर्वसहमति पालना नगरेको भन्दै निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्ष असन्तुष्ट बनेको छ ।
कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँ नियुक्त भएर शपथ पनि लिइसकेका छन् ।
बानियाँले शपथलगत्तै एमालेका ६ र कांग्रेसका दुई जनालाई मन्त्री नियुक्त गरेका थिए । ती मन्त्रीहरूले पनि शपथ लिइसकेका छन् ।
तर, बहादुर पक्षले भने सभापति शेरबहादुर देउवासँग भएको सहमति पालना नभएको भन्दै असन्तुष्ट जनाएको छ । गत १७ साउनमा देउवा निवास बुढानीलकण्ठमा बानियाँ र लामाबीच धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री बनाउनुपर्ने सहमति भएको निवर्तमान मुख्यमन्त्री लामाले अनलाइनखबरलाई बताए ।
बानियाँले आफ्नै दल कांग्रेसबाट धादिङका शिवराज अधिकारी र सिन्धुपाल्चोकका कृष्णकुमार तामाङलाई मन्त्री नियुक्त गरेका थिए । तामाङले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् भने अधिकारीको जिम्मेवारी पछि तोकिने बताइएको छ ।
यसैबीच बानियाँले सुरुवातमै सहमति लत्याएको लामाको दाबी छ ।
‘सभापतिज्यूसँग बसेर भएको सहमति पालना भएन । सहमति भएर हामी यहाँ आएको, त्यो भएन । यसको हामी नेतृत्वसँगै कुरा राख्छौं,’ लामाले अनलाइनखबरसँग भने, ‘पहिला पनि संविधानको विरोधमा कुचेष्ट गर्ने काम भयो । यसले एउटा नजिर बस्यो । ईश्वरको नाममा सपथ खाएको छ भने यसो गर्न मिल्दैन । यसलाई हामी मान्दैनौं ।’
लामाले मन्त्री नियुक्तिको विषयमा आज बानियाँसँग आफ्नो छलफल पनि भएको पनि बताए ।
उनले आफू आजै काठमाडौं गएर सभापति देउवासँग छलफल गर्ने बताए ।
लामाले १४ साउनमा लम्साल, श्रेष्ठ र गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । सोहि दिन बिहान ९ बजे शपथ ग्रहण तय भएपनि रोकिएको थियो ।
१५ साउन १ बजे शपथ ग्रहण तय भएपनि बिहान ५ बजे नै प्रदेश प्रमुख देवकोटा बिरामी भएको भन्दै आकस्मिक काठमाडौं गएका थिए । प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गरेर सपथ अर्काे सूचना नभएसम्मका लागि स्थगित गरेको थियो ।
त्यसपछि १७ साउन शनिबार देउवासँगको भेटमा लामा र बानियाँबीच लम्साल, श्रेष्ठ र गुरूङलाई मन्त्री बनाउने सहमति पश्चात लामाले पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका थिए ।
उनको राजीनामा हिजो सोमबार प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको थियो ।
प्रतिक्रिया 4