
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने निर्णय गरेको छ।
- विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा सकिएपछि महासंघले आन्दोलनमा जाने तयारी गरेको छ।
- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षक प्रधानाध्यापकमा नियुक्त भए सदस्यता निस्क्रिय हुने प्रस्ताव पारित गरेको छ।
२२ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको छ ।
महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिँदै छ । समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको उनले बताए ।
आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए । त्यसअघि भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए ।
शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफुलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका बिषयको आंकलन गरिने जिकिर गरे ।
बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समिक्षा गरिएको उनले बताए ।
समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुनेगरी र विद्यालय शिक्षाका समस्या समाधान गर्नेगरी विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइरहेको सुवेदीले बताए ।
समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघको बैठक आज बसेको थियो ।
महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरिरहेको समयमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसिरहेको छ ।
समिति बैठकबाट नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने प्रस्ताव पारित भएको छ भने शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।
यसैगरी शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको छ ।
आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव पारित भएको हो ।
गत २० चैतदेखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको महासंघले शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।
प्रतिक्रिया 4