
२२ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटका १३ जना पनि बेपत्ता भएको खुलेको छ ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका हुन् ।
‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
बाढीमा बेपत्ता भएका मानबहादुर सिंहका छोरा नवीन सिंहले बुबासहित सात जनाको बेपत्ता भएको जानकारी आफूलाई टेलिफोन मार्फत् दिएको अध्यक्ष बस्नेतले बताए ।
यसअघि बर्दियाका कम्तीमा ४ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको थियो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरु बेपत्ता भएको जानकारी प्राप्त भएको थियो ।
‘थप ३ जना घाइते भएको समेत पुष्टि भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत समन्वय भइरहेको छ भन्ने बुझेको छु ।’
बुधबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन्, ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले नेपाली बेपत्ता भएको बारे भारतीय पक्षसँग समन्वय भइरहेको जनाएको छ ।
प्रतिक्रिया 4