+
+
Shares
यात्रानुभूति :

अलास्का घुम्दाका यादहरू

आजको स्थितिमा सोच्दा, कुनै एउटा देशले अर्को देशलाई, आफ्नो त्यत्रो भूभाग बेच्न सक्ला त ? यो एउटा अचम्म लाग्ने नै कुरा हो।

अमृता लम्साल अमृता लम्साल
२०८२ साउन २४ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अलास्काको राजधानी जुनोलाई सडकमार्गले नछोएको र मानिसहरू त्यहाँ बर्थ क्यानल, हवाईजहाज र पानीजहाजबाट मात्र पुग्न सक्ने जानकारी टूर गाइडले दिनुभयो।
  • स्कागवेमा गभर्नरको म्यानसन रहेको र त्यो गभर्नर वर्षमा १३ रात मात्र त्यहाँ बस्ने बस चालकले बताउनुभयो।
  • नूरडाम पानीजहाजबाट अलास्काको केट्चिकनमा डक गरी यात्रुहरूले स्थानीय प्राकृतिक सौन्दर्य र सांस्कृतिक टोटेम पोलहरू अवलोकन गर्न पाएका थिए।

‘यहाँ मानिसहरू तीन माध्यमबाट मात्रै आउन सक्छन्; पहिलो– बर्थ क्यानल, दोस्रो– हवाईजहाज र तेस्रो– पानीजहाज!’ गत १४ मे, २०२५ मा अमेरिकाको अलास्का राज्यमा पुगेको दिन, हाम्रो टूर गाइड तथा बस चालकले भनिन्। उनले अगाडि भनिन्, ‘अलास्काको राजधानी जुनोलाई सडकमार्गले छोएको छैन।’

पंक्तिकारको लागि, यो एउटा अलि अपत्यारिलो सन्दर्भ नै थियो। विश्वकै विकसित देशमध्ये एक गनिने अमेरिकाको राज्य अलास्कालाई सडकमार्गले छुँदोरहेनछ!
अचम्भित हुने अर्को कारण पनि थियो, मानिसहरू महिना दिन घुमेर अमेरिकाको बारेमा किताब नै लेख्न सक्छन्; आफू त उक्त देशमा कुनै बेला करिब डेढ दशक बिताएको मान्छे, सूचनाको पहुँचबाट कति टाढा रहेछु।

बस चालक महिलाले भनेको अर्को अनौठो लागेको कुरा थियो, ‘बर्थ क्यानल’ को बारेमा। विश्वका ठूला–ठूला क्यानलहरू; इजिप्टस्थित स्वेज क्यानल, एट्लान्टिक र प्यासिफिक ओसनलाई जोड्ने पनामा क्यानल, चीनको सबैभन्दा लामो ग्रयान्ड क्यानल, नर्थ सी र बाल्टिक सीलाई जोड्ने कील क्यानलको नाम त अलिअलि सुनेको तर, बर्थ क्यानलबारे त केही थाहा थिएन।

ध्यान दिएर सुन्दै जाँदा बल्ल घैंटोमा घाम लाग्यो– उनले ३६ वर्षको उमेरमा आफ्नो बर्थ क्यानलबाट जुनोलाई ६ जना बच्चाबाट आवाद गरेकी रहिछन्। आफू परियो, आमाको नामबाट नागरिकता पाइन्छ भनेर कागजमा लेखेको तर व्यवहारमा कमै मात्र देखेको देशमा जन्मिएको मान्छे; कसरी उनले भनेको जस्तो, आमाको बर्थ क्यानलबाटै जुनोमा आएर सडकमार्गले नछोए पनि, जुनोको नागरिक भएर बस्न पाउँछन् भनेर कल्पना गर्नु!

अर्का टूर गाइड तथा बस चालकले अलास्काको बारेमा अन्य कुराको पनि जानकारी दिए; त्यहाँको स्कागवे भन्ने ठाउँमा गभर्नर बस्ने म्यानसन रहेछ। उनले बसबाट त्यो देखाउँदै भने, ऊ त्यो ठाउँमा गभर्नर बस्छन्, जम्मा १३ रातको लागि अरू बेला यहाँ बस्दैनन्। हुनत, त्यसो भन्ने चालक पनि त्यहाँका थिएनन्। उनी त समरमा काम गरेर आफ्नो पढाइ खर्च जुटाउन अन्य राज्यबाट त्यहाँ पुगेका रहेछन्।

स्कागवेको बारेमा रमाइलो तथ्य रहेछ। स्कागवेलाई, अठारौं शताब्दीमा सुन पाउने स्थानको रूपमा चित्रण गरेर एक जना सिलभस्टर स्कोभल नामक पत्रकारले ‘पीत पत्रकारिता’ गरेर पैसा कमाएका रहेछन्। उनले, ‘द न्यु योर्क वर्ल्ड’ पत्रिकामा त्यहाँ सुनको खानी भएको झूटो समाचार लेखेपछि त्यो लोभमा त्यहाँ मानिसहरूको धुइरो लागेछ। तर, सुन त कहाँ पाइन्थ्यो र ! तापनि, उक्त स्थानले प्रचारप्रसार पायो र अहिले त पर्यटक तान्ने प्रसिद्ध ठाउँको रूपमा रहेको छ।

आश्चर्यको कुरा, स्कागवेमा २१ वटा गहना पसल रहेछन् तर अस्पताल शून्य। हामी अमेरिका भन्ने बित्तिकै सर्व-सुविधासम्पन्न स्थान भएको देश ठान्छौं; त्यस्ता ठाउँमा पुगेपछि थाहा हुन्छ, त्यहाँको हालत। ती २१ वटा गहना पसल आवाद गरिदिने मानिसहरू त्यहाँका स्थायी बासिन्दा होइनन्, अलास्का घुम्न आउने पर्यटकहरु मात्रै हुन्। समरमा तीन हजार बासिन्दा पुग्ने स्कागवेको जनसंख्या जाडोयाममा जम्मा १२ सय मात्रै हुनेरहेछ। खासमा, ती ठाउँहरूमा अप्रिलदेखि अक्टूबरसम्म मात्रै पर्यटकहरूको चहलपहल हुने रहेछ।

त्यसपछिका पाँच महिना सबै कुरा बन्द नै रहने रहेछ। ती गहना पसलहरू, अमेरिकाका अन्य राज्यमा व्यापार गरेर बस्ने अधिकांश भारतीय तथा पाकिस्तानी व्यापारीहरूले सञ्चालन गर्ने रहेछन्। उनीहरू, त्यहाँ सिजनल व्यापारको लागि पुग्ने र अरूबेला आ-आफ्नै थातथलोमा फर्कने रहेछन्।

सडकले नजोडेको स्थानमा राजधानी बनाएर पनि हजारौं व्यक्तिलाई रोजगारीको अवसर दिएर कुनै ठाउँ विकसित हुनेरहेछ। त्यस्ता सोचलाई आयात गरेर यहाँका सुन्दर स्थानहरूलाई पर्यटकको आकर्षणको थलो बनाउन किन नसकेको होला!

जेहोस्, जुनोमा जाने तीन वटा माध्यममध्ये, हाम्रो टोलीको चार जना पानीजहाजबाट जुनो पुगेका थियौं।

अलास्का जाने तीव्र इच्छाले केही वर्षदेखि नै मनभित्र घर बनाएर बसेको थियो; अंग्रेजीमा भन्छन् नि, ‘बकेट लिस्ट’; अलास्का त्यही थियो। त्यो अलास्का किन नगई नहुने ठाउँ भएर बस्यो, त्यसको कारण त अझै सम्झिन सक्तिनँ। तर, त्यहाँको प्राकृतिक सौन्दर्यले यति मोहित पारेको थियो कि, बिर्सनै सकिएन। बिचको समयमा क्यान्सरले तर्साउँदा त, लौ अलास्का नपुगी इहलीला पार हुनेभो भन्ने नलागेको पनि होइन।

शायद, अलास्का पहिले त्यति चर्चित भएको थिएन, जति सन् २००८ को अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट तत्कालीन राष्ट्रपति पदका उम्मेदवार जोन म्याकेनले सन् २००६ देखि अलास्काको गभर्नर पद सम्हालिरहेकी शेरा पेलिनको नाम आफ्नो उपराष्ट्रपतिको लागि चयन गरे। त्यो कुराले अमेरिकाभरि नै एउटा हलचल खडा गरिदिएको थियो। कारण, अलास्का जस्तो ठाउँको मानिस कसरी उपराष्ट्रपति पदको लागि उपयुक्त हुनसक्छ ? भनेर निकै प्रश्न उठ्यो। भयो पनि के भने, शेरा पेलिनले सुरुका दिनमा आफूलाई बलियो रूपमा प्रस्तुत गर्न सकिनन्। त्यतिबेलाको चुनावी पृष्ठभूमिमा शेरा पेलिनको उपस्थितिलाई लिएर सन् २०१२ मा एउटा टेलिभिजन मुभी ‘द गेम चेन्ज’ बनाइएको थियो।

अलास्कालाई, चुनाव प्रचारको दौरान शेरा पेलिनले अमेरिकन टेलिभिजन ‘एबीसी’का पत्रकार चार्ल्स गिब्सनलाई चुनावी माहोलको समयमा दिएको अन्तर्वार्ताले झनै चर्चित बनाइदियो; तर त्यो सकारात्मक पक्षमा नभएर नकारात्मक रूपमा थियो। भएको के थियो भने, शेरालाई गिब्सनले प्रश्न सोध्दै गर्दा उनले एउटा जवाफमा, अलास्काको एउटा आइल्याण्डबाट रसिया देखिन्छ भनेर भनेकी थिइन्। त्यही वाक्यलाई तोडमरोड गरेर, अमेरिकी च्यानलमा बहुचर्चित कमेडी कार्यक्रम ‘स्याटरडे नाइट लाइभ’मा शेरा पेलिनको भूमिकामा देखिएकी कलाकार टिना फे ले, ‘आइ क्यान सि रस्सा फर्म माई हाउस’ भन्ने स्क्रिप्ट तयार पारिन्; त्यसपछि त पत्रकार हुन् वा सामान्य व्यक्ति, सबैले शेरालाई व्यंग्य गर्दै नकारात्मकताको हदैसम्म पुर्‍याएर छाडे।

खासमा; अलास्का, अमेरिकाले तत्कालीन रूससँग किनेको भूमि नै हो। सन् १८५० मा ब्रिटेनसँग भएको क्रिमियन वार हारेपछि, १८६७ मा ब्रिटेनले फेरि दुःख दिनसक्छ भनेर तत्कालीन रूसले दुई सेन्ट पर स्क्वायर, जम्माजम्मी ७२ लाख अमेरिकी डलरमा अलास्का बेचेको रहेछ। राजनैतिक कारण बाहेक, अलास्का फर(उन)को व्यापार घट्दै गइरहेको, रूस आफैं आर्थिक मन्दीसँग जुधिरहेको र रूसको ब्रिटेनसँग दुस्मनी तर, अमेरिकासँग राम्रो सम्बन्ध कायम रहेको कारणले पनि रूसले आफ्नो भूभाग बेचेको रहेछ। अमेरिकाले आजको स्थितिमा सोच्दा, कुनै एउटा देशले अर्को देशलाई, आफ्नो त्यत्रो भूभाग बेच्न सक्ला त ? आजको स्थितिमा सोच्दा यो एउटा अचम्म लाग्ने नै कुरा हो।

जो होस्, ११ मेमा क्यानडाको भ्यानकुवरस्थित ‘पोर्ट अफ भ्यानकुवर’बाट १५० वर्ष पुरानो कम्पनी, हल्याण्ड अमेरिकाको मध्यमखालको सुन्दरी ‘नूरडाम’मा बसेर तैरिंदै तैरिंदै चौथो दिनमा जुनोको जमिनमा टेकियो।

चौध रात, पन्ध्र दिनको पानीजहाजको सफर भनेपछि, थाहा पाउनेहरूको सल्लाह, सुझाव चाहिएको भन्दा बढी नै पाइएको थियो। ओहो, के गर्ने चौध दिन पानीको पानी ? त्यसमा पनि विरामीबाट भर्खर उठेको मान्छे ! कति बोर हुन्छ। बेकार जान लागेको त्यत्रो दिन !

हुनत, सबैले सकारात्मक हिसबले नै भन्नुभएको होला तापनि, निश्चित लक्ष्य लिएर जान लागेको बेलामा त्यस्ता सुझावहरू कानमा टट्याइरहने मानिसको मानवीय गुण नै हो। दिनको करिब दुई बजेतिर सेक्युरिटी चेक गरेर नूरडाममा टेक्दाको खुशीले मन पखेटा हालेर उड्दै गरेको पक्षी जस्तै भएको थियो। कोठामा पुग्दा त सिरानैबाट देखिने पूरा फैलिएको ताल जस्तै भूभाग, परपर देखिने पहाडी भूभाग, शान्त र सौम्य वातावरण। न ध्वनि प्रदूषणको ट्याँ–ट्याँ न केही कुराको तनाव।

झ्याल बाहिर गुलावी खुट्टा भएका सेता चराहरू उडिरहेका देखिन्थे। आकाश खुलेको त थिएन तर पनि ती काला बादलहरूले धुम्मिएरै सही, स्वागतमा अँगालो बढाइरहेका थिए। कोठामा के बस्नु, जाऔं डेकमा; मनले भन्यो। हामी नौ तलामा अवस्थित डेकमा पुग्यौं। त्यहाँको वातावरण झनै रमाइलो थियो। विश्वका विभिन्न देशका मनहरू खुशीले झुमिरहेका थिए। हाम्रो प्याकेजमा नरम पेय र गरम पेय गरेर दिनको १३ वटा पेय पदार्थ पिउन पाउने व्यवस्था थियो। उनीहरूको पनि त्यस्तै वा त्योभन्दा बढी पनि थियो होला। किनकि, त्यहाँ आ-आफ्नै बार्दली सहितको ‘लक्जरी रुम’ पनि थियो।

तर लाग्थ्यो, सबै डेकमा जम्मा भएका थिए; नूरडाम, हामी सबैलाई लिएर आफ्नो १५ दिने यात्रा थाल्दै थिइन्। डेकको माथिल्लो भागमा राखेको लाउडस्पिकरबााट आवज आयो, अब केही बेरमै हामी प्रस्थान गर्दैछौं। यहाँहरूलाई वेलकम ड्रिंकले स्वागत गरिन्छ।

मानिसहरू कोही पिउँदै, कोही यत्तिकै डिजेले बजाएको र सिकाएको गीत र नाचमा हल्लिन थाले। कसैलाई गीत नबुझ्नुको गुनासो थिएन; कसैलाई नाच्न नजान्दाको दुःख थिएन। त्यहाँ कसैले, कसैलाई मूल्यांकन गर्न गैरहेको थिएन। न त राम्रो देखिनुपर्ने होड नै थियो। जिन्दगी मस्त थियो। नूरडामको वरिपरि पानी थियो। परसम्म देखिने डाँडाहरू थिए। डाँडाकामाथि बादलहरू थुम्का बनाउँदै हाम्रो मस्ती हेर्न अडिटोरियममा नाटक हेर्न बसेका अनुशासित दर्शक झैं बसिरहेका थिए। कुन बेला साँझ भयो, अनि रात पर्‍यो थाहा नै भएन।

क्रुजमा चलाइने पानीजहाज एउटा सिंगो शहर हो। त्यहाँ थुप्रै देशका मानिस भेटिन्छन्। मन लागेको बेलामा विभिन्न स्वादका खाना पाइन्छ। किनमेल गर्न मन लागे स्टोर पनि तयार रहन्छ। आर्ट एक्जिविसन हुन्छ, मन परेको कलाकृति आफूले सक्ने पैसा तिरेर घर लैजान सकिन्छ। गहनागुरिया किन्न पाइन्छ। बिथोविन र मोजारर्टको संगीत सुन्न सकिन्छ। हरेक रात ७०/८०/९० दशकका गीतहरूको गायन र प्रदर्शनको शो हेर्न सकिन्छ। जुवा खेल्न मन लाग्नेलाई क्यासिनो तयार रहन्छ। बेलाबेलामा चिया र कफी पिउन मन लागे तत्तत् काउन्टरमा गएर लिन सकिन्छ। त्यति सुख कता पाइएला ! न पकाउनुपर्ने टन्टो, न के खाने होला भनेर सोच्दै ठिक पार्नुपर्ने चिन्ता।

आफूलाई त पानीकै ध्याउन्ना थियो। कहिलेदेखि खोला, नाला, नदी, तलाउसँग माया बस्यो थाहै भएन। केटाकेटी बेलाका दिनहरू याद गर्दा कुनैबेला डर पनि लाग्थ्यो; कारण थियो, हालको धोवीखोलाको पहेंले पुल भएको ठाउँ। त्यहाँ पुल थिएन; पुल भत्किएको थियो। मामाघर गैह्रीधारा र घर चुच्चेपाटी भएका हाम्रो मामाघर जाने बाटो त्यही थियो, कहिलेकाहीं किन हो, खोला तरेर हिंड्नुपर्थ्यो। पछि कक्षा नौमा पढ्दा करिब नौ महिना चुच्चेपाटीबाट लैनचौरस्थित कन्या स्कूल पुग्दा त्यही भत्किएको पुलबाट हिंडियो। अहिले पनि, त्यसै कारणले गर्दा होला, पहेंलो पुल भन्न आउँदैन; भत्केको पुल नै मुखमा आउँछ।

अनि कहिल्यै नबिर्सने बालककालीन सम्झना, स्याङ्जा सिरुवारीस्थित (अझ, सतौं सिरुवारी भने जस्तो लाग्छ) त्रि शहीद मा.वि.मा बुबा, ममी दुवैले पढाउनुहुन्थ्यो। यो २०२३/२४ सालतिरको कुरा हो। त्यहाँ हुँदा नै काठमाडौंको चुच्चेपाटीस्थित घरमा बुबाको बुबा बित्नुभएको खबर पुग्यो। त्यतिबेला फोन थिएन, चिट्ठी पुग्दा कतिदिन भइसकेको थियो याद त छैन। बुबा किरिया बस्नुभो। हामी स्कूलकै छेउको टहरो जस्तैमा बस्थ्यौं। हरेक दिन बिहान बुबा, खोलामा गएर किरिया बस्दा गर्नुपर्ने कर्म गर्नुहुन्थ्यो। त्यो ठूलो खोलाको नाम थाहा भएन। म, बुबासँग त्यहाँ पुग्थें। पितृ कर्म सिद्धिएपछि, बुबाले त्यहीं छेउमा पित्तले कसौंडीमा भात पकाउनुहुन्थ्यो। त्यही छेउको रूखबाट पात टिपेर त्यही पातमा खानुहुन्थ्यो। दाउराले डढेको कसौंडी मस्काएर त्यही खोलामा पखाल्नुहुन्थ्यो, अनि हामी घर फर्कन्थ्यौं।

त्यो खोलाको छेउछाउमा तीतेपातीका बुटाहरू प्रशस्तै हुन्थे, मेरो टाउकोभरी घाउ आएको बेला बुबाले त्यो टिपेर, त्यही खोलाको छेउमा ढुंगाले कुटेर निकालेको झोल मेरो टाउकोमा लगाइदिनुहुनथ्यो। त्यसैले पनि होला पानीसँग बस्दा मन शान्त रहने।

खोला र पानीको मोहले, गुह्येश्वरी फाँट अगाडिको जग्गा किनेर घर बनाउने रहर गर्दा, बेइमान जग्गा दलालले बाटोको लागि अधिग्रहणमा परिसकेको जग्गा किनाएर फसाइसकेका थिए। तर, थाहा पाएपछि उक्त जग्गा सोही व्यक्तिमार्फत नै अरूले किनेका थिए।

फेरि क्रुजकै कुरा, क्रुज गएको यो पहिलो पटक थिएन; यसभन्दा अगाडि, फ्लोरिडाबाट पाँच दिनको बहामा क्रुज गइएको थियो। त्यो क्रुजमा प्राकृतिक सौन्दर्यभन्दा मनोरञ्जन बढी थियो।

त्यहाँ, हिउँका पहाडहरू टुक्रिएर पानीमा आफ्नै सुरले बगिरहेका, स-साना विभिन्न बनोटमा देखिने, टलक्क टल्किएका संगमर्मर झैं सेता हिउँका आकृतिहरू थिएनन्। न त, डेकमा बसेर हेर्दा हेर्दै, टाउकोतिरका भागबाट पानीको फोहोरा फुरुरुरु गर्दै माथिसम्म फोहोरा छुटाउने र पुच्छरतिरको भागले ढ्याप ढ्याप ढ्याप गर्दै पुच्छरले पानीमा धाप मारिरहेका ‘हमप्याक ह्वेल माछा’हरू देखिन्थे।

अनि अटरको त के कुरा, बच्चाले जिस्किंदै खेले जस्तो गरी पानीमाथि टाउको निकाल्दै या उत्तानो परेर पानीमा पौड्दै गरेका उनीहरूलाई देख्दा लाग्थ्यो, जीवनमा योभन्दा आनन्दको क्षण के होला !

प्रकृति र प्रकृतिमा रहेका हरेक बोट, बिरुवा, जनावर नै त यो संसारका सबैभन्दा महत्वपूर्ण पाटा हुन्; जसले मानिसलाई जीवन्त बन्न बाध्य बनाउँछ। छङ्ग–छङ्ग बजेको जलप्रवाहमा समाहित छाँगो झैं मनलाई प्रकृतिमा डुबाइदिन्छ।

हुनत, अद्भुत प्राकृतिक सौन्दर्यसँगको मनकारी भेट अलास्का पहिलो होइन। सन् २०२२ को मे महिनामा क्यानडाको अल्बर्टा प्रान्तस्थित ज्यास्पर नेशनल पार्क, अनि ज्यास्पर र ब्याँफकि बिचमा अवस्थित अथाबास्का ग्लेसियर पुगेपछि लागेको थियो, विश्वमा यति सुन्दर स्थान पनि छ है ?

यहाँनिर एउटा कुरा नहिच्किचाइ र नडराई भन्न मन छ, चाहे यसबारेमा अराष्ट्रवादी नै किन देखिन नपरोस्, हामीलाई सानोदेखि के घोकाइयो भने, यो देशमा भन्दा सुन्दर ठाउँ कतै छैन ।

त्यसको कारण यो पनि होला, त्यतिबेला जसले त्यस्ता कुराहरू लेखे, उनीहरूले आफ्नो सीमित ज्ञानको त उपयोग गर्ने हो। त्यतिबेला अहिलेको जस्तो अन्य देशहरू भ्रमण गर्ने चलन थिएन। कतिपयको आर्थिक अवस्था सबल थिएन। हालको जस्तो श्रव्य र दृश्य माध्यमहरूको पहुँच थिएन। त्यसैले, एक–दुई जनाले जे लेख्यो, त्यही पत्याइदिनुपर्थ्यो।

हो, यो देशमा प्रशस्तै सुन्दर स्थानहरू नभएका होइनन्; तर त्यहाँसम्म जो–कोहीको पहुँच छैन। उदाहरणको लागि, अथाबास्का ग्लेसियर रहेको स्थानमा पुग्न एउटा यस्तो सवारी साधन बनाइएको रहेछ, जसलाई ‘आइस एक्सप्लोरर’ भनिन्छ। देख्दा निकै अग्लो बस जस्तो देखिने उक्त सवारी साधन हालसम्म विश्वमा जम्मा २३ वटा मात्रै रहेछ। तीमध्ये, २२ वटा अथाबास्का ग्लेसियर जाने कोलम्बिया आइसफिल्डमा छन् भने, बाँकी एउटा अन्टार्टिकाको रिसर्च स्टेसनमा राखिएको रहेछ।

एउटा सवारी साधनको १३ लाख क्यानेडियन डलर पर्ने उक्त साधनको गति २५ किलोमिटर प्रति घन्टाभन्दा बढी गर्न खोज्यो भने इन्जिन आफैं बन्द हुनेरहेछ। जुन गाडीको एउटा टायरको मूल्य मात्रै ७ हजार क्यानेडियन डलर पर्दछ भन्थे; झन् अहिले त ट्रम्पको ट्यारिफ नीतिले कति पुर्‍यायो होला ! उक्त आइसफिल्ड आर्कटिक सर्कलको दक्षिणमा रहेको सबैभन्दा लामो आइसफिल्ड हो, जुन ३२५ स्क्वायर किलोमिटरमा फैलिएको छ भनिन्छ। यो १३ हजार वर्ष पुरानो मानिन्छ र यो नर्थ अमेरिकामा सबैभन्दा बढी पर्यटक पुग्ने ठाउँमा गनिन्छ ।

अलबर्टाको ज्यास्पर नेशनल पार्कको सेरोफेरो घुमेपछि, त्यहाँको अत्यन्त सुन्दर तालहरू, अचम्मको रकी माउन्टेन र हिउँका सेता टलक्क टल्किने थुम्का र मैदान देखेपछि, संसारमा त्यति सुन्दर ठाउँ अन्यत्र पनि होला र भन्ने लागिरह्यो।

सो सवारी साधनमा चढेर अथाबास्का ग्लेसियर टेक्दा लागेको थियो, पर्यटनलाई प्राथमिकतामा राख्ने यो देशले पनि, स-साना खुद्रेमुद्रे काम गरेको भनेर प्रचार गर्नुको साटो दातृ संस्थाहरूसँग अनुरोध गरेर त्यस्ता केही सवारी साधनहरूको जोहो गर्नसके देशलाई कति फाइदा हुँदो हो!

प्रकृति र प्राकृतिक कुरोतिर अल्झँदा अल्झँदै मन त क्यानडा पो पुगिसकेछ ! मन बरालिन बेर लाग्दैन नि त ! त्यसैले गण्यमान्यहरूले उपदेश दिइरहन्छन्, मन काबुमा राख है नानी/बाबुहरू ! तर, घुम्ने कुरामा मनलाई नियन्त्रण गर्नै गाह्रो !

मे १२ को बिहान, जुरुक्क उठेर बन्द झ्यालको ऐनाबाट बाहिर हेरें, नूरडामलाई साथी आएको जस्तै गरेर अर्की सानी बोट कुदिरहेकी थिइन्। शान्त र शीतल देखिने त्यो दृश्यले भनिरहेको थियो, हेर, तिम्रो कोलाहलले भरिएको त्यो संसारभन्दा यो वातावरणले कति भावविभोर बनाउँछ। मेरो मनले नकार्न सक्ने ठाउँ नै थिएन। फोनको कम्पासमा हेरें, हामी पश्चिम लागिरहेका थियौं। कसैलाई कतै जाने हतार थिएन; कसैलाई कसैको चासो थिएन। दश तलाको डेकमा पुगेर हेर्दा, नूरडाम अगाडि बढिरहेकी देखिन्थिन्। बन्द डेकमा, मानिसहरू कोही मेचमा ढल्कँदै किताब पढिरहेका थिए। कोही आफ्नो समूहमा गफिइरहेका थिए। कोही टेबुलमा खेल्ने अनेक प्रकारका खेलहरू खेलिरहेका थिए। सबै आ-आफ्नै संसारमा चुर्लुम्म डुबिरहेका थिए।

हामी चार जनाको समूहलाई एउटा प्लस प्वाइन्ट थियो, हाम्रो भाषा कसैले बुझ्दैनथ्यो। त्यसैको फाइदा लिएर हाम्रो मानवीय स्वभा वअनुसार मानिसहरूको क्रियाकलाप बारेमा चासो राख्दै कुरा गर्न पनि भ्याइहाल्थ्यौं। केही दिनपछि थाहा भयो, नूरडाममा तीन जना नेपाली भाषी, एक जना दार्जीलिंगकी, जो स्टोरमा काम गर्थिन्। दोस्रो, सेक्युरिटीमा काम गर्ने देहरादुनबाट थिए; तेस्रो नेपाली भाषी भान्साको डिपार्टमेन्टमा थिए रे, उनीसँग भेट भएन।

मे १३ हामी नूरडाम अलास्काको केट्चिकनमा डक गरिन् अर्थात्, रोकिइन्। हामी जहाजबाट ओर्लियौं सानो शहरको, सानो बस्ती; बस्ती त के भन्नु त्यहाँको मानिसले जीविकापार्जनको लागि खोलेका स-साना पसलहरू; सानो खहरे जस्तोबाट बग्दै आएको पानीमाथिको काठेपुल तरेर हामी अर्को साइडमा पुग्यौं। त्यो खहरे खोलामा माछा प्रशस्तै रहेछन् र अटर(पानीमा बस्ने एउटा प्राणी) पनि थुप्रै रहेछन् ।

त्यहाँ प्रख्यात सालमन माछा पाइने रहेछ। रमाइलो के भने, त्यहाँका काग लगायतका चराहरू अत्यन्तै बाठा हुँदा रहेछन्। त्यहाँ मात्रै होइन, पछि अन्यत्र पनि के देखियो भने, जहाँ चराहरू झुम्मिएका हुन्छन्, त्यहाँ अटर, हमप्याक ह्वेल जस्ता जनावरहरू पानीमुनि हुँदा रहेछन्। ती जनावरहरू जब पानीमा भएका माछाहरू सोहोरेर खान खोज्छन्, तिनका मुखमा नअटाएका माछाहरू चराहरूले उछिट्याउने रहेछन्। यसले हामीलाई एउटा पाठ सिकायो, जहाज चलिरहेको अवस्थामा पनि चराहरूको बथान झुम्मिरहेको छ भने, त्यहाँ ध्यान दिएर हेरिरहनु ह्वेल वा अटरहरू देखिन सक्छन्।

केट्चिकनमा, राभेन (निख्खर कालो, ठूलो काग) का किंवदन्तीहरू जताततै काठका ठूला खम्बाहरूमा लेखेर राखेको, उसको काठको आकृति बनाएर ठड्याएको देखिने रहेछ। जसलाई ‘टोटेम पोल’ भनिने रहेछ। यस्ता टोटेम पोलहरू, आध्यात्मिक सिम्बलको रूपमा राखिने रहेछ।

नूरडामले देखाएको सौन्दर्य र स्थानहरू जति बाहिरी दुनियाँमा हेरियो, उति उनीभित्रै बसेर पनि महसुस गरियो। उनको वरिपरि बाहिरी डेकमा टहलिइरहँदाको दृश्यले त मनै मुग्ध बनाउँथ्यो। केही समय हिंड्नुपर्‍यो भनेर डेकमा निस्कियो, उनले पानी काट्दै चलिरहेको समयमा पानीमा बन्ने छालबाटो स्पष्टसँग लम्बाइ र चौडाइमा देख्न सकिन्थ्यो; भलै केही समयको अन्तरालमा ती बाटाहरू हामीले बगरको छेउमा हिंड्दा बनाएका बाटाहरू झैं पानीले आफैंभित्र समाहित गरुन्। तर आँखा नझिम्क्याई हेरिरहुँ जस्ता दृश्यहरू त्यहाँ पनि निर्मित भैदिने रहेछन्।

यात्रा गर्नु भनेको सय वटा किताब पढ्नु बराबर हो भनेर यसै भनिएको होइन; उक्त १५ दिनको यात्राका अनुभव यो एउटा लेखमा एकछेउ पनि अट्दैन। अन्त्यमा सिकेको कुरा के हो भने, सडकले नजोडेको स्थानमा राजधानी बनाएर पनि हजारौं व्यक्तिलाई रोजगारीको अवसर दिएर कुनै ठाउँ विकसित हुनेरहेछ। त्यस्ता सोचलाई आयात गरेर यहाँका सुन्दर स्थानहरूलाई पर्यटकको आकर्षणको थलो बनाउन किन नसकेको होला !

सप्ताहान्त
लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?