
२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालबीच भेटवार्ता भएको छ ।
हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एकीकृत समाजवादीका महासचिव भूसालसँग भेट गरेका हुन् ।
हात्तिवनस्थित श्रेष्ठको निवासमा भएको भेटमा पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे कुराकानी भएको बताइएको छ ।
करिब एक घण्टा चलेको भेटमा राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे दुई नेताबीच कुराकानी भएको थियो ।
यस्तै नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा समेत छलफल भएको बताइएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकार वर्तमान सरकार निरङ्कुश र भ्रष्ट बन्दै गइरहेको भन्दै उनीहरुले आलोचना गरेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता चर्चा भइरहेका बेला श्रेष्ठ र भूसालबीचको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
यसअघि माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग भेट गरेका थिए ।
माओवादी केन्द्रले स्थायी कमिटी बैठकबाटै विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिएको घोषणा गरेपनि एकता प्रक्रिया अघि बढ्न सकेको छैन ।
विप्लव पक्षका नेताहरुले एकताको सम्भावना नरहेको बताइरहँदा माओवादीले भने वार्ता टोली गठन गरेर छलफल अघि बढाउने निर्णय भएको जनाएको छ ।
प्रतिक्रिया 4