
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकमा वित्तीय प्रणालीको पैसा ४ खर्ब १५ अर्ब रुपैयाँमा झरेको छ।
- स्थायी निक्षेप सुविधाको २ खर्ब ५४ अर्ब रुपैयाँ शुक्रबार फिर्ता गरिएको छ।
- बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरणमा लगानी नगरेका कारण तरलता समस्या देखिएको छ।
२३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा थुप्रिएको वित्तीय प्रणालीको पैसा ४ खर्बमा झरेको छ ।
शुक्रबार स्थायी निक्षेप सुविधाको साढे २ खर्ब फिर्ता भएसँगै केन्द्रीय बैंकमा रहेको बक्यौता रकम घटेको हो ।
बिहीबार केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको ६ खर्ब ६९ अर्ब रुपैयाँ बक्यौता थियो । यो रकम शुक्रबार घटेर ४ खर्ब १५ अर्बमा झरेको छ । बिहीबार केन्द्रीय बैंकले लिएको स्थायी निक्षेप सुविधा अन्तर्गतको २ खर्ब ५४ अर्ब रुपैयाँ फिर्ता गरेपछि बक्यौता रकम घटेको हो ।
केन्द्रीय बैंकले स्थायी निक्षेप परिपक्व हुने दिन सार्वजनिक बिदा परेको खण्डमा अघिल्लो दिनै फिर्ता गर्छ । सोही अनुसार आइतबार सार्वजनिक बिदा भएका कारण बिहीबारको स्थायी निक्षेप आइतबार परिपक्व हुनुपर्नेमा शुक्रबार नै फिर्ता गरेको केन्द्रीय बैंकका एक अधिकारीले जानकारी दिए ।
शुक्रबार केन्द्रीय बैंकसँग निक्षेप संकलन उपकरण मार्फत खिचेको पैसा ४ खर्ब १५ अर्ब मात्रै बक्यौता रहेको हो ।
आर्थिक गतिविधिमा आएको सुस्तताका कारण समग्र बजार माग बढ्न सकेको छैन । बजार माग नबढेपछि उपभोग पनि बढ्न सकेको छैन । त्यसले गर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी समेत अपेक्षा अनुसार बढ्न सकेको छैन ।
रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार आए पनि उपभोगमा सुधार नआउँदा वित्तीय प्रणालीमा अधिक तरलता समस्या देखिएको हो ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अन्तरबैंक ब्याजदर घट्ने गर्छ । अन्तरबैंक दर घट्दा समग्र ब्याजदरलाई पनि असर गर्छ । त्यसका लागि केन्द्रीय बैंकले ब्याजदर करिडोर लागु गरेको छ ।
ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशतभन्दा तल अन्तरबैंक दर आएको खण्डमा राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत तरलता खिचेर ब्याजदर बढाउँछ ।
बिहीबार मात्रै केन्द्रीय बैंकले ३५ दिन अवधिको ४० अर्ब रुपैयाँ बराबर निक्षेप संलकन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा बैंक तथा वित्तीय संस्था लगानी गर्न इच्छुक देखिएनन् ।
बिहीबार २ खर्ब ५३ अर्ब स्थायी निक्षेप राखेका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरणमा लगानी गरेनन् । बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब माग गरिए पनि केन्द्रीय बैंकलाई १५ अर्ब ५० करोडमात्र निक्षेप दिए ।
निक्षेप संकलन उपकरणको लगानी धेरै दिनका लागि होल्ड हुने भएकाले पनि बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गरेका हुन् । स्थायी निक्षेप सुविधाको अवधिमा ३ दिन मात्रै हो ।
प्रतिक्रिया 4