
२४ साउन, गुल्मी । नेकपा एमालेले गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई निलम्बन गरेको छ ।
जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गरी निष्कासन गरेको हो ।
जिल्ला कमिटी गुल्मी अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको भन्दै एक वर्षसम्म पार्टी सदस्य नरहने भनी पत्र पठाएका छन् ।
एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी श्रेष्ठलाई गत असार २९ गते स्पष्टीकरण सोधिएको थियो । उनले ३२ गते लिखित जवाफ दिएकी थिइन् । त्यसअघि उमाले मुसिकोट नगर कमिटीको बैठकले श्रेष्ठलाई सचेत गराउने निर्णय गरेको थियो ।
तर सचेत गराउँदा पनि श्रेष्ठ गम्भीर नभउको भन्दै नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीका पदिधकारीहरुको बैठकले उनलाई कारबाही गरेको हो ।
निलम्बनपछि उनलाई पार्टी सदस्यको हैसियतमा कुनै पनि काम-कारबाही नगर्न चेतावनी दिइएको छ ।
श्रेष्ठले भने आफूलाई कारबाहीको पत्र प्राप्त भइनसकेको बताउँदै आफ्नो अधिकार खोज्दा कारबाहीमा परेको बताएकी छन् ।
श्रेष्ठ २०७९ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुख निर्वाचित भएकी हुन् । उनले पछिल्लोपटक मुसिकोट नगरपालिकामा बजेट निर्माणमा असहमति जनाएकी थिइन् । यहाँ मेयर पनि एमालेले नै जितेको छ । तर, उपमेयर श्रेष्ठ उनीसँग सहमत थिइनन् ।
प्रतिक्रिया 4