
News Summary
Generated by OK AI. Editorially reviewed.- दीपक रौनियार निर्देशित नेपाली फिल्म \'राजागंज\' १५ अगस्टमा लन्डनको रिभरसाइड स्टुडियोजमा प्रदर्शन हुने भएको छ।
- यो फिल्म सन् २०१५ को जातीय विरोधमा आधारित छ र भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भइसकेको छ।
- फिल्मलाई बेलायतको च्यानल फोरले खरिद गरिसकेको छ र नोभेम्बर २०२५ देखि एयरलाइन्समा प्रदर्शन हुनेछ।
लन्डन । विश्वकै पुरानो फिल्म फेस्टिभल भेनिसको ८१औं संस्करणमा वर्ल्ड प्रिमियर गरिएको नेपाली फिल्म ‘राजागंज’ (पूजा, सर) लन्डनमा समेत प्रदर्शन हुने भएको छ ।
दीपक रौनियार निर्देशित फिल्म यो फिल्म आउँदो १५ अगस्टमा शुक्रबार रिभरसाइड स्टुडियोजमा प्रदर्शन हुन लागेको हो ।
फिल्म प्रदर्शनका लागि निर्देशक रौनियार र मुख्य अभिनेत्री आशा मगराती अमेरिकाबाट लन्डन आइसकेका छन् भने निर्मातामध्ये एक पूर्णसिंह बराइली पनि छिट्टै आउने योजना छ ।
नेपालमा ‘राजागञ्ज’ र विदेशमा यो फिल्म ‘पूजा, सर’को नामबाट प्रदर्शन भैरहेको छ ।
दक्षिण नेपालमा सन् २०१५ को जातीय विरोधको वास्तविक घटनामा आधारित छ फिल्म । नेपालको सीमावर्ती शहरमा दुई युवा अपहरित भएपछि मुद्दा समाधान गर्न काठमाडौंबाट गुप्तचर निरीक्षक पूजालाई त्यहाँ पठाइन्छ ।
यद्यपि, उनी आइपुगेपछि बढ्दो राजनीतिक अशान्ति र हिंसात्मक विरोधले उनी विचलित हुन्छिन् । यस कारण उनी स्थानीय मधेशी महिला प्रहरी ममतासँग मद्दत माग्न वाध्य हुन्छिन् ।
प्रणालीगत भेदभाव पन्छाएर, दैनिक महिला द्वेषलाई पार गरि ती महिला मुद्दा पार लगाउन सफल हुन्छन् आफ्नो महत्वपूर्ण व्यक्तिगत मूल्य नचुकाइ । कथाको मुख्य सार यही हो ।
एकसय ८ मिनेट लामो पुलिस-थ्रीलर फिल्ममा अभिनेत्री आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, रिचा शर्मा, गौमाया गुरूङलगायतको अभिनय छ ।
केही अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भइसकेको यो फिल्म जुलाई अन्तिम साता फ्रान्सका ६२ वटा हलमा एकसाथ प्रदर्शनमा आएको थियो । अन्तर्राष्ट्रिय फिल्मको केन्द्र मानिने फ्रान्समा पहिलोपटक यति ठूलो संख्यामा नेपाली फिल्म प्रदर्शन भएको यो नै पहिलो हो ।
भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियरयता बुसान, सिड्नी, टालिन ब्ल्याक नाइट्स स्टोनिया, गोथेनबर्गलगायतका महोत्सवमा पुगिसकेको छ । फिल्मले नेदरल्यान्ड्समा ‘फ्री टू बी मी’ मा अवार्ड पनि जितेको थियो ।
फिल्मलाई बेलायतको च्यानल फोरले खरिद गरिसकेको र नोभेम्बरदेखि प्रसारण हुने निर्माण पक्षको भनाइ छ ।
नोभेम्बर २०२५ देखि फिल्म एयरलाइन्समा पनि प्रदर्शन हुनेछ जसको वितरण जिम्मा अमेरिकी कम्पनी पेनी ब्ल्याक मिडियाले सम्हालेको छ ।
प्रतिक्रिया 4