+
+
Shares

शव सद्‌गत गर्ने जीवनाथको बयान : ४०० दिएपछि खप्परको हड्डी दिएँ

शवको हड्डी लिन भनेर आएका दुई जनाले चार सय रुपैयाँ दिएपछि शव जलाउने काम गर्दै आएका जीवनाथ ढकालले हड्डी दिएको पाइएको छ । सो कुरा उनले बयानमा समेत खुलाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १६:४६
फाइल तस्वीर

१२ भदौ, काठमाडौं। पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेकामध्ये सद्‌गद गर्ने व्यक्तिले ४०० रुपैयाँ लिएको पाइएको छ ।

शवको हड्डी लिन भनेर आएका दुईजनाले ४०० रुपैयाँ दिएपछि शव जलाउने काम गर्दै आएका जीवनाथ ढकालले हड्डी दिएको पाइएको छ । सो कुरा उनले बयानमा समेत खुलाएका छन् ।

यो प्रकरणमा सर्लाहीको लालबन्दी नगरपालिका-२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रे मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुर कटारी नगरपालिका-८ का २४ वर्षीय विनायक मैनाली र सप्तरी बलान-बिहुल गाउँपालिका-६ का ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये जीवनाथ र विनायक हड्डी बेच्ने आरोपी हुन् भने रामनन्दन र मिश्रीलाल हड्डी किन्ने आरोपी ।

राम शाहीको मृत्यु भएपछि २३ साउनमा सद्‌गद गर्न पशुपति लगिएको थियो । आर्यघाट सेवा केन्द्रबाट जीवनाथ ढकाल र उनका सहयोगी विनायक मैनाली सद्‌गद्का‌ लागि खटिएका थिए ।

आधा शव जल्दै गरेको अवस्थामा जीवनाथले टाउकाको हड्डी निकालेर विनायकलाई दिएको बताइएको छ । विनायकले उक्त हड्डी कपुरको बट्टामा हालेर रामनन्दन र उनको सहयोगी मिश्रीलाललाई दिएको बताइएको छ । यसरी उनीहरूले टाउकाको हड्डी बेचेको आरोप छ ।

हड्डी बेचेको आरोप लागेका जीवनाथले भने आफूले यसअघि कहिल्यै पनि हड्डी नबेचेको दाबी गरेका छन् । त्यसका लागि कुनै मूल्य वा दर निर्धारण नगरेको र उनीहरूले नै जबरजस्ती रकम खल्तीमा हालिदिएको बयान दिएका छन् ।

हड्डी, खरानी किन्नुको कारण भने रामनन्दनले पूजाको लागि बताएका छन् । उनी २५ वर्षदेखि फर्निचरको काम गर्दै आएका थिए । करिब दुई महिनाअघि पशुपति दर्शन गर्ने क्रममा एकजना जोगी बाबासँग हात हेराउने क्रममा जोगी बाबाले भनेकाले शवको हड्डी र खरानी किनेको बताएका छन् ।

‘जीवनमा ठूलो संकट आउँदैछ । शवको हड्डी, खरानीले पूजा गरेपछि संकट टर्छ’ भनेर जोगी बाबाले भनेका थिए,’ रामनन्दनले बयानमा भनेका छन् ।

त्यसका लागि जीवनाथलाई ४०० र विनायकलाई १०० दिएको दाबी उनको छ । उनीहरूले एक हजार रुपैयाँ मागेको तर आफूले छैन भन्दै दुईजनालाई गरी ५०० दिएको दाबी रामनन्दनको छ । उक्त हड्डी र खरानीको धुलो पाएपछि टाउकोमा घुमाएर बागमती नदीमा सेलाएको बयान दिएका छन् ।

मिश्रीलाल भने आफ्नो मोटरसाइकलमा आएका व्यक्ति रहेको उनले बताएका छन् ।

यस्तो छ जीवनाथको बयान

म विगत ४० वर्ष अगाडिदेखि पशुपति क्षेत्र विकाश कोषमार्फत आर्यघाट सेवा केन्द्रमा लाश जलाउने काम गर्दै आइरहेको छु । यस्तैमा २३ साउन २ बजेको समयमा म आर्यघाटमा लाश जलाउने पालो आएको छ भनी कार्यालयबाट जानकारी पाएपश्चात आर्यघाट गएँ । २ नम्बर चितामा लाश जलाउन भनी तयार भई चितामा पुग्दा जाहेरवाला रमेश शाहीको मामा राम शाहीको शव ल्याएका थिए ।

मैले चिता तयार गरी हिन्दू धर्मअनुसार लाश जलाइरहेको थिएँ । लाश जल्दै आधा जस्तो भइसकेको थियो । त्यस समयमा पशुपति मन्दिरको पूर्व गेटमुनि बागमती खोला नजिकै उभिएका एकजना अपरिचित मानिसले मलाई हातको इशाराले बोलाए । उनले किन बोलाएको भनी म उनी भएको स्थानमा गएँ । ती व्यक्तिले मसँग पूजा गर्नको लागि हड्डी र खरानी मागे । मैले तपाईं को हो ? भन्दै परिचय मागेँ । ती व्यक्तिले रामनन्दन ठाकुर, कपनतर्फ बस्ने भनी बताए ।

उनीसँग अर्का मिश्रीलाल यादवसमेत साथमा थिए । त्यसपछि मैले उनलाई त्यसरी हड्डी, खरानी दिन मिल्दैन, मलाई मलामीहरूले गाली गर्छन, कुट्छन् भनेँ । उनीहरूले लुकाएर निकाली मलाई दिनु भन्दै मेरो हातमा जबरजस्ती ४०० रुपैयाँ दिए ।

त्यसपछि म लाश जलाउनतिर लागें । त्यो रामनन्दन ठाकुर भन्ने मानिस सोही स्थानमा उभिइरहे । मैले निजलाई लाशको हड्डी र खरानी दिइनँ । त्यसपछि उनी मेरो नजिकै आई इशाराले निकाल्न भनिरहे । लाश जल्न करिब १ चौथाइ मात्र बाँकी थियो । उनले धेरै नै कर गरेको हुँदा मैले विनायक मैनालीलाई त्यो कुरा भनें। विनायक मैनालीले तपाईं चिताबाट खरानी र हड्डी तल खोलातर्फ धकेली दिनु म बट्टामा राखेर दिन्छु भने ।

मैले लाश जलाउँदै गर्दा बाँसले खरानी र हड्डी खोलातर्फ धकेली झारिदिएँ । त्यसपछि विनायक मैनालीले उक्त खरानी र हड्डी बट्टामा राखी उनीहरूलाई दिए । उक्त बट्टा दिएको मलामी तथा जाहेरवालाहरू समेतले थाहा पाए । किन लाशबाट हड्डी निकाली अन्य व्यक्तिहरूलाई दिएको भन्दै प्रहरी बोलाए । अनि हामीलाई प्रहरीले पक्राउ गर्‍यो ।

रामनन्दन ठाकुरले निकालिदिनु भनी नगद दिई आह्राएको हुँदा मैले निकालिदिएको हुँ । मैले लाश जलाइरहेको चिताबाट खरानी र हड्डी बेच्ने दर निर्धारण गरेको होइन । रामनन्दन ठाकुरले जबरजस्ती नगद चार सय खल्तीमा हालिदिएका हुन् । यसभन्दा पहिले खरानी र हड्डी निकाली बिक्री गर्ने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?