+
+
Shares

निर्माण व्यवसायीले विकासे मन्त्रालयका सचिवलाई बुझाए ज्ञापनपत्र

महासंघ अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र जलस्रोत सचिव सरिता दवाडी समक्ष ज्ञापनपत्र पेस गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल निर्माण व्यवसायी महासंघले मध्यपूर्व युद्धका कारण इन्धन, सामग्री र श्रमिक लागतमा भएको मूल्यवृद्धि विषयमा विकासे मन्त्रालयका सचिवहरूलाई ज्ञापनपत्र बुझाएको छ।
  • महासंघले निर्माण कार्य स्वतः बन्द भइसकेको र आयोजनाहरूको म्याद थप र बजेट व्यवस्थापन आवश्यक रहेको जानकारी गराएको छ।
  • महासंघले निर्माण व्यवसायीमाथि भइरहेको धरपकडप्रति आपत्ति जनाउँदै विभिन्न तहमा मूल्य समायोजन र समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको छ।

१ जेठ, काठमाडौं । आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज विकासे मन्त्रालयका सचिवहरूलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोही क्रममा मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिबाट सिर्जित विकराल समस्याबारे अवगत गराइएको छ ।

महासंघ अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र जलस्रोत सचिव सरिता दवाडी समक्ष ज्ञापनपत्र पेस गर्दै मूल्यवृद्धिका कारण अहिलेको असहज अवस्थामा सबै आयोजनाको निर्माण कार्य स्वत: बन्द भइसकेको जानकारी गराएको छ ।

हालको अत्यन्त गम्भीर परिस्थितिका कारण निर्माण आयोजना पूर्व निर्धारित समयमै सकिने कुनै सम्भावना नभएकाले बैंक ग्यारेन्टी, इन्स्योरेन्स तथा थप क्षतिपूर्ति सहित सबै आयोजनाहरूको आवश्यक म्याद थप र बजेट व्यवस्थापन हुनुपर्ने महासंघको माग छ ।

सोही अवसरमा महासंघ अध्यक्ष पाण्डेले विभिन्न चुनौतीबीच निर्माण कार्यमा खटिँदै आएका निर्माण व्यवसायीमाथि भइरहेको धरपकडप्रति सचिवद्वय समक्ष आपत्ति जनाए ।

महासंघले तय गरेको विरोधकै कार्यक्रम अन्तर्गत आज प्रदेश निर्माण व्यवसायी महासंघहरूले मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै मूल्य समायोजनको माग गरेका छन् ।

महासंघ महासचिव शिवहरि घिमिरेका अनुसार जिल्ला संघहरूले आज जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, सहरी विकास तथा भवन र सिँचाइ कार्यालयहरूमा निर्माण उद्योगको विद्यमान जटिल समस्या र समाधानका उपाय सहित  ज्ञापनपत्र बुझाएका छन् ।

महासंघले आइतबारदेखि मुख्य राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतक सहित विभिन्न समितिका सभापति समक्ष ज्ञापनपत्र पेस गर्ने महासंघ प्रवक्ता एवं नीतिगत उपमहासचिव मंगलबहादुर शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?